• ६ साउन २०८१, आइतबार

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको सङ्ख्या २३२

blog

हरिहाँसको वासस्थान रहेको घोडाघोडी ताल नजिकै साँडेपानीमा रहेको चिडिया ताल । (इन्सेटमा सूचक प्रजाति हरिहाँस ) तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार ६ गते । जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसमको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा पुगेको छ  । 

चरा संरक्षण नेटवर्कको आयोजनामा घोडाघोडी सिमसार क्षेत्रमा गतहप्ता गरिएको सूचक प्रजातिको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा छन् । नेटवर्कका सचिव रामकुमार चौधरीले घोडाघोडी ताल, नकरोडताल, चिडिया ताल लगायतका सिमसार क्षेत्रमा हरिहाँसको गणना गरिएको बताउनुभयो । उहाँले विगतको तुलनामा हरिहाँसको सङ्ख्या घट्दै गएको उल्लेख गर्नुभयो । 

घोडाघोडी ताल सूचक प्रजातिको रूपमा हरिहाँस, मगरगोही र जङ्गली धानलाई आधार मानेर सन् २००३ मा रामसार साइडमा सूचीकृत भएको हो । घोडाघोडीमा जाडो र गर्मी मौसममा चरा गणना हुँदै आएको छ । रामसार साइडमा घोडाघोडी ताल सूचीकृत हुँदा हरिहाँसको सङ्ख्या एसियामै भएको सङ्ख्याको एक प्रतिशत अर्थात् एक हजार सङ्ख्यामा  रहेको अभिलेख रहेको छ । संरक्षणकर्मीहरूका अनुसार पन्छीको सङ्ख्यामा फेरबदल हुनु पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन मुख्य कारण हो । 

चराविज्ञ डाक्टर हेमसागर बरालले पर्यापर्यटनका नाममा घोडाघोडीमा हुने गतिविधिले चराहरूको वासस्थानमा असर गरेको हुनसक्ने बताउँदै त्यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हरिहाँस हाँस प्रजातिको भएको र मासुका लागि चोरिसिकारी हुने भएकाले चोरी सिकारी नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभयो । 

चराविद् बरालले भन्नुभयो, “गत माघमा ३०५ वटाको सङ्ख्यामा हरिहाँस गणना भएको तथ्याङ्क मसँग छ, गर्मी मौसममा झन् बढ्नु पर्ने हो, झन् घट्दै जानु दुखद हो, वासस्थान संरक्षण र चोरिशिकारी नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्छ ।” गत माघमा नेपाल पन्क्षी संरक्षण सङ्घको अगुवाइमा घोडाघोडीमा रैथाने र पाहुनागरी एक हजार २३१ सङ्ख्यामा जलपन्छी मध्ये ३०५ हरिहाँसको सङ्ख्या गणना भएको थियो ।

घोडाघोडी सिमसार क्षेत्रमा पाइने पन्छीहरूमध्ये ७० प्रतिशत जलपन्छी छन् । चराविद्का अनुसार सन् २००३ मा रामसार साइडमा सूचीकृत हुँदा घोडाघोडी क्षेत्रमा २० हजारको सङ्ख्यामा जलपन्छी रहेको पाइएको थियो । 

देश सङ्घीयतामा गएपछि संरक्षणको क्षेत्रमा कामगर्ने दातृ निकायहरूको सक्रियता कम हुँदै गएको छ । चराविद् बरालले घोडाघोडी सिमसार क्षेत्र सङ्घ र प्रदेशको दायित्वभित्र पर्ने भएकाले सरकारले दिगो योजना बनाई सिमसार क्षेत्रको जैविक विविधता संरक्षणमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।