• ६ साउन २०८१, आइतबार

दलित महिलाको सशक्तीकरण जरुरी : प्रमुख भट्ट

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख डिल्लीराज भट्ट ।

सन्तोष सुवेदी

कास्की, असार ६ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तीकरण जरुरी रहेको बताउनुभएको छ ।

दलित महिला सङ्घ (फेडो) ले पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तीकरण र समावेशीकरणका सवाल विषयक प्रदेशस्तरीय कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘‘जातीय विभेद तथा छुवाछूत, लैङ्गिक र वर्गीय विभेदको दोहोरो शोषणमा पारिएका दलित महिलालाई सङ्गठित, सचेतीकरण र सशक्तीकरण गर्दै उनीहरूको हक अधिकार स्थापित गर्न जरुरी छ । यसैका लागि क्रियाशील फेडोलाई आभार व्यक्त गर्दछु’’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

समाज रूपान्तरणका लागि कमजोर वर्ग र समुदायको रूपान्तरण अपरिहार्य रहेको बताउँदै उहाँले दलित समुदायलाई जातको आधारमा गरिने छुवाछूतजस्तो अमानवीय व्यवहारको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

‘‘औपचारिक शिक्षामा पहुँच कम भए पनि दलित महिला सीप, कला, कौशलका धनी छन् । दलित महिला जाति, लैङ्गिक र वर्गीय विभेद तथा उत्पीडनमा छन् । अझै मधेशी दलित महिला त झन् पछाडि परेका छन्’ उहाँले भन्नुभयो । दलित महिलाको आर्थिक सशक्तीकरणका लागि रोजगारीमा अग्राधिकारसहित सीप र क्षमताअनुसार अन्य विकल्पमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

अहिले प्रत्येक स्थानीय तहमा वडा समितिमा दुई महिलामध्ये एकजना अनिवार्य दलित रहने प्रावधान छ । यो सिङ्गो महिला आन्दोलन र दलित आन्दोलनका लागि ऐतिहासिक उपलब्धि रहेको बताउँदै प्रदेश प्रमुख भट्टले स्थानीय तहमा दलित महिलाको उपस्थितिले दूरगामी महत्त्व राख्ने बताउनुभयो ।