• ६ साउन २०८१, आइतबार

७० घरका अग्निपीडितलाई आर्थिक सहयोग

blog

तिलाचन पाण्डे

तम्घास, असार ९ गते। गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्निपीडितलाई सात लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत बैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो । 

आगलागीबाट जिल्लामा सबैभन्दा बढी  प्रभावित इस्मा गाउँपालिकाका २८ घरपरिवार, मदाने गाउँपालिका दश घरपरिवार, मुसिकोट नगरपालिकाका ८ घरपरिवार, रुरुक्षेत्र गाउँपालिकाका ७ घरपरिवार, गुल्मीदरबार गाउँपालिकाका पाँच घर परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । 

त्यसैगरी धुर्कोट गाउँपालिकाका पाँच घर परिवार, रेसुङ्गा नगरपालिकाका दु घर परिवार, छत्रकोट गाउँपालिकाका दु घर परिवार, मालिका गाउँपालिकाका दु घर परिवार र कालीगण्डकी गाउँपालिकाका एक घर परिवार गरी कुल ७० घर परिवारलाई नगद दश–दश हजार रुपियाँका दरले अग्निपीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

समाजले अग्निपीडितको सहयोगका लागि जापानमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सङ्कलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष लगिएको छ । केही स्थानमा आफै पुगेर र केही स्थानमा जनप्रतिनिधीमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिनुभयो। 

गुल्मेली समाज जापानले जिल्लामा बाढी, पहिरो, आगलागी, गम्भीर प्रकारका रोग र कोभिडलगायतका विपत्तिमा सहयोग र सहजीकरण गरिरहेको छ ।

समाज जापानले पठाएको उक्त रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरुको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।