• २२ असोज २०८१, मङ्गलबार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

blog

फाइल तस्बिर

क्यानबेरा (अस्ट्रेलिया), साउन १२ गते । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गाजामा तत्काल युद्धविराम ,हेजबुल्लाह र इजरायलबिचको द्वन्द्वको जोखिमबारे वक्तव्य जारी गरेका हुन ।  

विज्ञप्तिमा गाजाको भयावह अवस्थाले निम्त्याएको मानवीय दुःख अस्वीकार्य भएको उल्लेख गरिएको छ । उनीहरूले हमासले द्वन्द्वको अन्त्य गरी सबै बन्धकहरूलाई रिहा गर्नु पर्नेमासमेत जोड दिएका छन् । अक्टोबर–७ को आक्रमण र जारी आतङ्कवादी कार्यका लागि हमासको निन्दा गर्दै उनीहरूले गाजाको भावी शासनमा हमासको कुनै भूमिका नरहेको उल्लेख गरेका छन् ।  

इजरायलले अन्तर्राष्ट्रिय समुदायको चिन्ता सुन्नुपर्ने कुरामा जोड दिँदै उनीहरूले नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आह्वान गरेका छन् । उनीहरूले गाजामा तत्काल युद्धविरामको आव्हान गर्दै मानवीयता सम्बोधनका लागि सहायता प्रवाहमा निरन्तर वृद्धि गर्न आवश्यक रहेको जनाएका छन् । 

यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यापक युद्धविराम सम्झौतालाई स्मरण गर्दै उनीहरूले सम्झौताको लागि समर्थन व्यक्त गरेका छन् । निरन्तरको युद्धले गाजामा तनाव बढ्ने चिन्तासहित नेताहरूले अप्रिल १३–१४ मा इरानले इजरायलमा गरेको आक्रमणको निन्दा गर्दै इरानलाई थप अस्थिरता नफैलाउने आग्रह गरेका छन् । उनीहरूले युद्ध विराम आह्वानको संयुक्त विज्ञप्तिमा तेल अवीवमा ड्रोन आक्रमण र अन्तर्राष्ट्रिय ढुवानीमा हुथीहरूको गैर न्यायिक कार्यहरूको पनि निन्दा गरेका छन् । 

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव-१७०१ कार्यान्वयन गर्ने कूटनीतिक प्रयासलाई समर्थन व्यक्त गर्दै संलग्नहरूलाई संयमता अपनाउन आग्रह गरेका छन् । युद्ध लम्बिदाले इजरायल र लेबनान र यहाँका नागरिकका लागि विनाशकारी परिणाम निम्त्याउनेसमेत  विज्ञप्तिमा उल्लेख छ । रासस/एएनआई