• २८ भदौ २०८१, शुक्रबार

नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्छौँ : गृहमन्त्री लेखक

blog

बुधबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा धारणा राख्नुहुँदै गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ, साउन १६ गते । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।

बुधबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरीको सङ्गठनलाई सुदृढ, गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो । 

उहाँले सरकाले सशस्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेस गर्ने भएकाले त्यसलाई गम्भीर र अर्थपूर्ण रूपमा छलफल गरेर निष्कर्षमा पुर्‍याउने काममा लाग्न संसदीय समितिलाई आग्रह गर्नुभयो । मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानुन निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाइ थियो । 

उहाँले भन्नुभयो,‘अहिले हाम्रो प्राथमिकता भनेको केही कानुनको निर्माण हाम्रो प्राथमिकता हो । देशमा शान्ति सुरक्षा कायम गर्नका लागि, अमनचैन स्थापित गर्नका लागि, सुशासनको प्रत्याभूति र सुनिश्चितता गर्नका लागि केही कानुन नयाँ निर्माण गर्नुपर्ने, संशोधन गर्नुपर्ने, समसामयिक रूपले परिमार्जन गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । जस्तो उदाहरणका लागि नेपाल प्रहरी ऐन २०१२ सालदेखि अहिलेसम्म त्यही कानुनले काम चलाइराखेका छौँ हालै धेरै संशोधन भएका छन् ।  आजको दिनमा एउटा नयाँ प्रहरी कानुन चाहिन्छ, जसले प्रहरीको सङ्गठनलाई सुदृढ गर्छ । प्रहरीको सङ्गठनले मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्छ भन्ने कुरा भएको हुनाले नेपाल प्रहरी ऐन २०१२ नयाँ विधेयकको रूपमा प्रस्तुत गर्ने हाम्रो तयारी छ ।’’

 गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रूपमा लिन पनि सांसदलाई आग्रह गर्नुभयो । सरुवालाई सरुवाको रूपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उहाँको भनाइ छ ।