• २९ भदौ २०८१, शनिबार

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौँ : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर: केशब गुरुङ

काठमाडाैं, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिने कुराको अन्त्य गर्ने बताउनुभएको छ ।

सरकारले असार ३१ गते मन्त्रिपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरूले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनुभयो । 

उहाँले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताउनुभयो । मन्त्रीहरू, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिषद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ । तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरूबाट, मुख्यसचिव, सहसचिवहरूबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ । बासी न्युज पर्खिनुपर्ने र फ्रेस न्युज अरूले पाउने कुराको अन्त्य गर्नेछौँ । यो पद्धति कायम गर्ने पक्षमा छौँ । सुरुका दिनमा केही समस्या भएपनि हामी समाधान गर्दै जान्छौँ ।"

उहाँले सुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने समेत बताउनुभयो ।