• २९ भदौ २०८१, शनिबार

सेयर कारोबारमा संलग्न कम्पनीमाथि छानबिन गर्नुपर्छः सांसद सिंह

blog

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बिना आधार सेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनै पनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढङ्गले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस् । सरकारले यसलाई रेगुलेट गरोस् ।,’’ सांसद सिंहले भन्नुभयो, ‘‘छानबिन समिति बनाएर त्यस्ता कृत्रिम ढङ्गले सेयर कारोबार गर्ने कम्पनीहरु छन्, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ ? तिनीहरुलाई कारबाहीका लागि छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछु ।’’

सेयर बजारमा कृतत्रि ढङ्गले काम गर्ने कुनै पनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताउनुभयो ।