• २६ भदौ २०८१, बुधबार

रेसुङ्गामा १३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन २४ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा तेह्र करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस नगरपालिकाले गत आर्थिक वर्ष २०८० र ०८१ मा तीन हजार ७९७ जनालाई तेह्र करोड ९९ लाख २३ हजार ५९५ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष एक हजार ९९६ जना ज्येष्ठ नागरिकलाई नौ करोड ४२ लाख ५७ हजार ७७९ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जसमा एक हजार १४५ महिला र ८५१ पुरुषलाई वितरण गरिएको हो । २८० जना ज्येष्ठ नागरिक दलितलाई ८५ लाख ६७ हजार २८४ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १३७ महिला र १४३ पुरुषलाई वितरण गरिएको हो ।

त्यस्तै, २९७ जना ज्येष्ठ एकल महिलालाई ९७ लाख ३१ हजार २७३ रुपियाँ वितरण गरिएको तथ्याङ्कमा उल्लेख छ । ५६८ जना एकल महिला विधुवालाई एक करोड ७७ लाख ४८ हजार रुपियाँ वितरण गरिएको छ । १९१ महिला र २३० पुरुष गरी ४२१ जना दलित बालबालिकालाई २६ लाख ५३ हजार २५९ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

एक वर्षमा २३ महिला र ५२ पुरुष गरी ७५ जना पुर्ण अपाङ्ग भएका नागरिकलाई ३१ लाख ६१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ५० महिला र ११० पुरुष गरी १६० जना आंशिक अपाङ्ग भएका नागरिकलाई ३८ लाख पाँच हजार रुपियाँ वितरण गरिएको नगरपालिकाको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि प्रक्रिया पुगेका त्यस्ता नागरिक कसैलाई पनि नगरपालिकाले नछुटाएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । नगरपालिका सधै नागरिकको पक्षमा रहेको भन्दै उहाँले घुम्ती शिविरमार्फत र नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै दर्ता एवम् नवीकरण गर्दै आएको उहाँले बताउनुभयो ।