• २० असोज २०८१, आइतबार

लोकसंस्कृतिका धनी धिमाल

blog

पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल जातिको आफ्नै भाषा र मौलिक जीवनशैली छ । यो जातिको खानपान, वेशभूषामा मौलिकपना देखिन्छ । प्रकृतिमा निर्भर रहिआएको यो जाति प्राकृतिक धर्ममा आस्था राख्दछ ।

भाषा, वेशभूषा, संस्कृति, रहनसहन र विशिष्ट सांस्कृतिक पहिचान बोक्ने सीमान्तकृत जाति हो यो । माईखोला पूर्व बसोबास गर्ने धिमाललाई पूर्वी धिमाल र माईखोला पश्चिम बसोबास गर्दै आएका धिमाललाई पश्चिमी धिमाल भनेर चिनिन्छ । पूर्वमा बसोबास गर्ने धिमालमा राजवंशी प्रभाव पाइन्छ ।

धिमाल जातिको परम्परागत घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित हुन्छ । उनीहरू भुइँतलामा संयुक्त परिवारमा बसोबास गर्छन् । चार/पाँच घर मिलेर बिच खुला स्थान बनाई बसोबास गर्ने धिमाल समुदायको पुरानो चलन हराउँदै जान थालेको छ । 

प्रदर्शनकारी धिमाल लोकसंस्कृति (२०३५) पुस्तकमा तुलसी दिवसले ‘धिमालहरू विसं १९७० भन्दा पहिलेसम्म अर्धभ्रमणशील जस्तै थिए । उनीहरू एक ठाउँमा चार/पाँच वर्षभन्दा बढी बस्दैन थिए’ लेखेका छन् । 

यस जातिको ऐतिहासिक बसोबासस्थलमा राजारानी, पोखरी, लेटाङ, धिमाल धुरा, नगराडुवालगायत स्थान छन् । बहुसङ्ख्यक भाषाविद्ले धिमाल जातिलाई भोट बर्मेली परिवारको हिमाली समूह अन्तर्गत राखेको पाइन्छ ।

धिमाल को हुन् ? यस विषयमा प्रस्ट धारणा कतै पाइन्न । धिमाल जातिको नामकरण र उत्पत्तिबारे फरक फरक धारणा रहेको छ ।

‘धि’ को अर्थ ‘नदीको छेउमा’ र ‘मालो’ को अर्थ ‘बेपत्ता’ भन्ने अर्थबाट समेत धिमाल थरीको खोजी गरिएको पाइन्छ । थारू, राजवंशी जातिले धिमाललाई ‘ढेमाल’ भन्छन् । ‘ढेमाल’ वर्णको धिमाल भाषामै विन्यास गर्दा  ‘ढे’ अर्थ ‘छुट्टिएको’ र ‘माल’ को अर्थ ‘मधेश’ भन्ने लाग्छ । 

‘ढेमाल’ शब्दको धिमाल भाषाको यो अर्थ बहुसङ्ख्यक धिमालले किराँत शाखाका लिम्बू तथा राई दाजुहरूसँग छुट्टिई मधेशमा बस्न थालेको प्रसङ्गसँग मिल्दछ (तुलसी दिवस, २०३२) । जनश्रुतिमा आधारित वंशावलीमा धिमालहरू किराँतइङ्वाका १० भाइ छोरामध्ये कान्छो थाङ्दावाका जेठा छोरा धिकोम्पाका सन्तान हुन् भनिएको छ । धिमालहरू किराँत जातिमा पनि लिम्बूलाई सबैभन्दा नजिकको दाजुभाइ भन्छन् (तुलसी, दिवस, २०३५) ।

धिमालको आफ्नै कानुन

धिमाल जातिको परम्परागत संस्था तथा प्रथाजनित कानुनको अध्ययनमा सोच चातेला धिमालले उल्लेख गरे अनुसार धिमाल समाजको रीतिथिति, न्याय निसाफ चलाउन माझी वाराङ्ग समिति हुने गर्दथ्यो । गाउँटोलको नेतृत्व गर्ने व्यक्तिलाई धिमाल समुदायमा माझी वाराङ्ग भनिन्छ । माझी वाराङ्ग समितिमा पञ्च भलाद्मी रहने व्यवस्था थियो । त्यसमा माझी वाराङ्ग, धामी वाराङ्ग, हानुवा, पटवारी र ओझा रहने गर्थे । यिनैले गाउँटोल सञ्चालनका लागि नियम कानुन बनाउँथे ।  

यो समुदायमा व्याप्त रहेको चोरी विवाह नियन्त्रणसम्बन्धी एउटा रोचक कथा छ । धिमाल इतिहास (भाग १) अनुसार २००९ सालअघि धिमाल गाउँटोलमा माझी वाराङ्गका छोरीलाई पनि जब अन्य सामान्य व्यक्तिका छोराले बोकेर चोरी विवाह गर्न सुरु गरेका थिए, त्यसपछि अलिक हुने खाने माझी वाराङ्गको चित्त दुख्यो र एउटा नियम कानुन बनाउनै पर्छ नत्र यो छाडापन बढेर जान्छ भनी सुपारी विवाहका साथै धिमाल गाउँटोलमा भएको कुरीति, कुसंस्कारलाई हटाउन भनी धिमाल राष्ट्रिय माझी सम्मेलन–२००९ साल माघ १७ गते दमकमा गरियो । 

त्यसले धिमाल जातिको सामाजिक संस्कारसम्बन्धी सुधारका काम गरेको थियो । धिमाल जाति विकास केन्द्र, नेपालको २०४७ सालमा स्थापनापछि झापा जिल्ला प्रशासन कार्यालयमा वैधानिक रूपले दर्ता भई माझी वाराङ्ग समितिलाई समेटेर लैजाने काम भयो । 

प्रकृति पूजक धिमाल

धिमाल जाति प्रकृति पूजक हुन् । प्रकृति रिसाएमा अनिष्ट हुन्छ, बिमार परिन्छ, अन्नबाली, गाईवस्तु सप्रिन्न भन्ने विश्वास यो जातिमा पाइन्छ । धिमाल जातिले घरभित्रको देवता र ग्रामथानमा भएका देवतालाई मान्ने गर्छन् । ग्रामथानमा गरिने  पूजा सामूहिक पूजा हो । ग्रामथानको देवताका रूपमा राधरम, देरागेलाई, महाराजा, धरम ठाकुर, दिया बेराङ्ग, धानी बेराङ्ग, धामी, म्हाइलगायतलाई पुजिन्छ । 

धिमालको गाउँमा एउटा ग्रामथान हुने गरेको छ । जसलाई उनीहरू महाराजको थानसमेत भन्दछन् । धिमाल जातिको घरमा सालीवेराङ्गलाई मान्ने चलन छ । घरमा कोही बिमारी भएमा घरमुलीले नुहाएर चोखो भई सालीवेराङ्गको पूजा गर्छन् । घरको उत्तर पूर्व कुनामा अलिकति माटो उठाएर सानो चेराक, कुचो राखी देवीको थान स्थापना गर्ने र त्यहीँ पूजा गर्ने चलन छ । 

चाड मेलापर्व

जेठ असार महिनामा खेतीपाती सुरु गर्नुअघि धिमाल जातिले ‘सिरिजात’ वा ‘जातिरी मेला’ धुमघामसँग मनाउँछन् । ठूलो मेला नलगाई गरिनेलाई ‘सिरिजात’ र धुमधामसँग मेला लगाएर गर्नेलाई ‘जातिरी मेला’ भनिन्छ ।

उनीहरूले यो पर्व मनाउँदा गाउँ, परिवारमा अनिष्ट नहोस्, उब्जनी राम्रो होस्, रोगव्याधि नलागोस् भन्ने कामना गर्छन् । गच्छे अनुसार बङ्गुर, कुखुरा, खसी काटेर नातागोता बोलाएर रमाइलोसँग यो पर्व मनाउँछन् । धिमालले ठूलो पर्वका रूपमा पार्वा अर्गात् मनाउने गर्छन् । यो पर्वलाई आँैशी पनि भन्छन् । यस बेला घर सफासुग्घर पारी आँगनमा देवीदेवताको चामल पिठोले प्रतिमा स्थापना गरिन्छ । गाउँमा देउसीभैलो खेलेरसमेत धिमाल जातिले औधि रमाइलो गर्छन् । 

धिमाल जातिमा सिरुवा, फागुवा, माघे सङ्क्रान्ति पर्वसमेत रमाइलो गरी मनाइन्छ । धिमाल जातिको लोकनाट्य परम्परा निकै पुरानो छ । धिमाल जातिको नृत्य, गायन र वाद्यवादनको मौलिक शैली छ । मौसम र चाडपर्व अनुसार नाचिने नाच धिमाल जातिमा छ । धिमाल जातिमा ढोल, ऊनी, गोमाना, तुन्जाइ, शेरेन्जा, दोदोरा बाजा बजाउने चलन छ । 

जन्म, विवाह र मृत्यु संस्कार

धिमाल जातिको मुख्य रूपमा जन्म, विवाह र मृत्यु गरी तीन सामाजिक संस्कार हुन्छन् । जन्म संस्कारका रूपमा शिशुको नाइटो झरेपछि सुत्केरी चोखिने र शिशुको नामकरण गरिन्छ । आमा र शिशुले नुहाएर सुत्केरी चोखिएको मानिन्छ । शिशुको नामकरण गर्ने दिन आफन्त, गाउँका मुख्य मान्छे बोलाइन्छ र उनीहरूबाटै या घरको मुली मान्छेबाट शिशुको नामकरण गराइन्छ । 

धिमाल जातिमा सुपारी विवाहको चलन थियो । केटाले दिएको सुपारी केटीले खाएमा विवाह प्रस्ताव स्वीकार गरेको मानिन्थ्यो । त्यसैले धिमाल केटाले मन परेकी धिमाल युवतीलाई फकाई फुलाई सुपारी खुवाउने चलन थियो । केटीले मञ्जुर नगरेको खण्डमा मौका मिलाएर केटी तान्ने परम्परासमेत यो समुदायमा व्याप्त थियो । यस्तो विवाहलाई जबर्जस्ती वा चोरी विवाह भनिन्छ । तथापि अहिले यो विवाह परम्परा प्रचलनमा छैन । 

२००९ सालमा भएको माझी वाराङ्गीको सम्मेलनले यसमा सुधार गरेको थियो । अहिले मगनी या प्रेम विवाहको प्रचलन रहेको छ । मन परेकी केटी मगनीका लागि रक्सी, बिँडी, चुरोट, सुपारी, पान, ल्वाङ सुकमेललगायत मसला राखी केटीको घरमा लैजाने चलन छ । यो जातिमा विवाहको आफ्नै परम्परा र संस्कृति रहेको छ । 

धिमाल जातिको मृत्यु संस्कारमा शव गाडिन्छ । गाडेको शवमाथि फूल वा केरा रोपिदिने चलन छ । कसै कसैले शव जलाएको पनि पाइन्छ । रक्सी, चामल चढाएर मर्नेको नाममा कुखुरा मन्साएर छोडिदिने र छोरामध्ये एक जना किरिया बस्ने चलन छ । मलामी र दाजुभाइलाई कुखुरा, सुँगुरको मासु खुवाएर चोखिने गरिन्छ । चोखिने बेला एक जना धिमाललाई बाहुन बनाइन्छ । 

सम्पन्न भाषा–संस्कृति

धिमाल जातिको आफ्नै भाषा छ । विशिष्ट पहिचान दिने वेशभूषा छ । प्रदर्शनकारी धिमाल लोकसंस्कृति (२०३५) पुस्तकमा तुलसी दिवसले ‘माईखोलाले विभाजित गरेको भौगोलिक पृष्ठभूमिमा धिमाल भाषाका दुई भाषिका छन्’ भनेका छन् । यी भाषिका परस्परमा बुझ्न सकिने छन् । पूर्वीय भाषिका राजवंशी–बोलीबाट अत्यधिक प्रभावित छ भने पश्चिमी भाषिका थारू–बोलीको निकट सम्पर्कमा छ (दिवस, २०३५) ।

धिमालका आफ्नै पोशाक छन् । ती पोशाक हावापानी अनुसार फरक थिए । धिमाल पुरुषको परम्परागत पहिरनमा आसकोट, गन्जी, टेपाना, पटुका, चेउका धारी, तुप्री भएको पहिरन आदि पर्छन् । धिमाल पुरुषले धारी (लगौँटी), लोखोन (भोटो), तुप्री (टोपी), फेटा लगाउँथे ।

महिलाले छातीदेखि घुँडासम्म एकसरो ढाक्ने बोना बेर्छन् । उनीहरू चोलो लगाउँदैनथिए । उनीहरू त्यस्तो बोना घरमा आफैँ बुन्थे । तथापि यी पोशाक अहिले चाडपर्वमा लगाउने गहना जस्ता मात्र भएका छन् । बोना चार किसिमका हुन्छन् : दा बोना, इताङ्गी, सामुठी र पातोलोइ । लुदाको बोना चाहिँ प्राचीन बोना हो । धिमाल महिलामा चोलो लगाउने चलन थिएन तर अचेल धिमाल महिलाले चोलो लगाउन थालेका छन् ।

धिमाल महिलाको परम्परागत पोशाक पेटानी हो । पेटानी छातीमा सपक्क बाँधेर तलतिर घुँडासम्म छाडिन्छ । पेटानी लगाएका बेला प्रायः चोलो लगाइँदैन । पेटानी प्रायः कालो रङको हुन्छ । धिमाल महिलाले पहिला पहिला चाँदी र पित्तल निर्मित गहना लगाउँथे । प्रायः धिमाल महिलाले हातखुट्टा र छातीमा गोदान (टाटु) खोपेको पाइन्छ । मरेपछि आफूसँगै गोदान स्वर्गलोक जान्छ भन्ने विश्वास उनीहरूमा छ । 

पेटानी लगाएर धिमाल महिला परम्परागत नाच नाच्ने गर्दछन् । धिमाल समुदायमा पेटानी लगाएर नाचिने यो प्रेमगीत निकै लोकप्रिय मानिन्छ अझै :

मिचिकिरी मिचिकिरी पेशापेतानाङ्ग

नाभएका वेजाने हाशु किचनाङ्ग

शाल्वो शाय शाय    

–युवामञ्च