• १९ असोज २०८१, शनिबार

पर्यटक वृद्धिका आधार

blog

नेपालको आम्दानीका प्रमुख स्रोतका रूपमा कृषि, पर्यटन, जलविद्युत् र जडीबुटीलाई मानिन्छ । केही दशक अघिसम्म नेपालको कृषि उत्पादन विदेशतर्फ निर्यात हुँदै आएकोमा अहिले सम्पूर्ण खाद्यवस्तु आयात गर्नुपर्ने स्थितिमा पुगेको छ । गाउँमा करेसा बारी, सहरमा गमला वा रछ्यानमा छरिदिए पुग्ने धनिया पनि अर्बौं रुपियाँको आयात हुने गरेको छ । घरमुनिको बारी बाँझो राखेर बजारबाट तरकारी किन्ने आदत बसिसकेका नेपालीले परिश्रम गरी पुनः कृषिजन्य सामग्री कहिलेदेखि बेच्न सुरु गर्छन् भन्ने यसै भन्न सक्ने अवस्था छैन । साँझ बिहान मर्निङ वाक र इभनिङ वाक भन्दै बित्थामा खेर फाल्ने समय करेसा बारीमै खर्च गर्ने बानी बसाल्ने हो भने पनि खाद्यान्नमा आत्मनिर्भर हुन त्यति मेहनत गर्नु पर्दैन जस्तो लाग्छ तर यस्तो दिन चाँडै आउने सम्भावना पनि देखिँदैन ।

पछिल्ला दशकमा जलविद्युत्का क्षेत्रमा व्यापक विकास भएको सबैले देखे भोगेकै कुरा हो । खोला खोलामा जलविद्युत्का आयोजना बनेका छन् । वर्षायाममा नेपाल विद्युत्मा आत्मनिर्भर भइसकेको छ । हिउँदका केही महिनाबाहेकका अरू समयमा नेपाल विद्युत् निर्यात गर्न सक्षम भइसकेको व्यवहारमै आइसकेको छ । भारतमा बिजुली बेचेर विद्युत् प्राधिकरणले आर्जन गर्न थालिसकेको छ । यद्यपि निर्माण सम्पन्न भइसकेको कतिपय आयोजनाले विविध कारणले आफ्नो उत्पादन बेच्न नपाएको अवस्था विद्यमान छ । कतै ट्रान्समिसन लाइनको अभाव छ भने कतै नीतिको अभाव जस्ता कुराले नेपालीले गरेको लगानी खेर गइरहेको अवस्था पनि छ । आफ्नो उत्पादन भारतबाहेक अन्य मुलुकमा बेच्न पनि भारतको चाकरी पु¥याउनु पर्ने बाध्यताले पनि विद्युत् क्षेत्र चाहे जति फस्टाउन अझै सकेको छैन ।

नेपालमा जस्तो बहुमूल्य जडीबुटी विश्वका अरू कुनै मुलुकमा सायदै पाइन्छ होला । अर्थका हिसाबले महत्वपूर्ण मात्रै नभएर मानव जीवनका लागि नै अति उपयोगी औषधीजन्य जडीबुटी नेपालका हिमाली तथा पहाडी भेगमा प्रशस्तै पाइन्छन् । त्यस्ता जडीबुटी ज्यानको बाजी लगाएर नेपाली जनताले सङ्कलन गर्दछन् र सस्तो मूल्यमा कच्चा पदार्थ निर्यात गर्ने गरिएको छ । त्यही जडीबुटी अन्य देशमा प्रशोधित भइसकेपछि त्यसैलाई महँगो मूल्य तिरेर नेपालीले खरिद गर्ने गरेका छन् । सारांशमा भन्नुपर्दा निर्यातका माध्यमबाट खर्बौं आर्जन गर्न सकिने जडीबुटीको व्यापार पनि नेपालले घाटामा नै गरिरहेको छ । प्रशोधन आदिका लागि थोरै लगानी गरेर धेरै नाफा कमाउन सकिने जडीबुटीको क्षेत्र पनि आशालाग्दो हुन सकेको छैन ।

आयात र निर्यातको अनुपात हेरेर कहिल्यै घाटामा नजाने क्षेत्र भनेको पर्यटन हो । नेपाली विदेश घुम्न जाँदा कति खर्च गरे र विदेशबाट आएका पर्यटकले नेपालमा रहँदा कति खर्च गरे भन्ने हिसाब निकाल्दा त नाफाघाटाका कुरा गर्न सकिएला तर पर्यटक भित्र्याउन नेपालले त्यस्तो उल्लेख्य केही खर्च गर्नुपर्ने अवस्था छैन । यो क्षेत्रलाई आम्दानीको भरपर्दो क्षेत्र बनाउन नेपालले सकिरहेको छैन । हाम्रा पुर्खाले निर्माण गरेका संरचना र भूगोलले दिएको सुन्दरतालाई संरक्षण गर्न सके मात्रै पनि सबल हुन सक्ने क्षेत्र पर्यटन त्यसै टाक्सिरहेको छ । नाफैनाफा मात्रै हुने पर्यटनालाई समेत हचुवा र लापर्बाहपूर्ण तरिकाका लगानीले घाटाको क्षेत्र बनाइरहेका छन् ।

कहिले नेपालमा १० लाख पर्यटक पु¥याउने योजना ल्याइन्छ । कहिले एक वर्षमा २० लाख पर्यटक भित्र्याउने भन्दै नेपाल भ्रमण वर्षको घोषणा गरिन्छ । पूर्वाधारको कमी हुँदासम्म पर्यटक आकर्षित नहुने भन्दै आधुनिक पूर्वाधार निर्माणका लागि अनावश्यक खर्च गरिन्छ । नेपालमा पर्यटक किन आउँछन् र उनीहरूको रोजाइ एवं रुचि के हो भन्ने विश्लेषण नगरी पर्यटन क्षेत्रमा लगानीको वृद्धि गर्ने गरिएको छ । पर्यटक के मा खर्च गर्न रुचाउँछन् भन्ने अध्ययन नगरी पर्यटकको नजरमै नपर्ने क्षेत्रमा अर्बौं लगानी नेपालले गरिरहेको छ । फलतः पर्यटन क्षेत्रले पनि दिन सक्ने प्रतिफल मुलुकलाई दिन सकेको छैन ।


कुन देशका पर्यटक कति सङ्ख्यामा नेपालमा आए र त्यहाँबाट सङ्ख्या बढाउने आधार के के हुन् ? कुन देशका पर्यटक नेपाल आउँदा धेरै खर्च गरे र के मा खर्च गरे ? कुन देशका पर्यटकले आफ्नै घरबाट खाद्यान्नलगायतका सामग्री बोकेर आए र कुन देशकाले नेपालमा ज्यादै खर्च गरे ? कुन देशका पर्यटकको बसाइ सबैभन्दा बढी रह्यो र उनीहरूको बसाइ अझ लम्ब्याउन के गर्नु पर्छ ? नेपाल बसाइमा के मा उनीहरू खुसी भए र केमा सुधार गर्न आवश्यक देखे ? कुन क्षेत्रमा प्रचार प्रसार बढाउँदा नेपाललाई बढी प्रतिफल प्राप्त हुन सक्छ ? यी र यस्तै अन्य विषयको अध्ययनमा खर्च गरी वास्तविकता पत्ता लगाएर तदनुरूप कार्य गर्नुपर्ने हो तर नेपालमा पर्यटकलाई आकर्षित गर्ने भन्दै लगानी बढाइरहिएको भए पनि उचित प्रतिफल प्राप्त हुन सकेको छैन ।

नेपालमा पर्यटक बढाउन भन्दै हवाई जहाज किनिन्छ । विदेशी एयरलाइन्सबाटै पनि पर्यटक आइरहेका थिए र आइरहेका छन् । पर्यटक वृद्धिका लागि अति आवश्यकीय भनी किनिएका जहाज नेपाल भित्र्याएदेखि अनुपयुक्त भन्दै ह्याङ्गरमा झुन्ड्याएर राखिएको छ । नेपाली जनताले तिरेको करको खर्बौं खर्च गरियो । १० हजार पर्यटक वृद्धि गर्न खरबमा खर्च गर्न उपयुक्त हो कि होइन भन्ने हिसाब योजना आयोग, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण आदिले गरे कि गरेनन् कसैले बताएको छैन । अनुपयुक्त हुने जहाजलाई अति उपयोगी भनी खरिद गर्न प्रतिवेदन तयार गर्नेहरू को के कारबाहीमा परे भन्ने पनि जानकारीमा आएको छैन ।

नेपालका पर्यटनका आकर्षक दुई केन्द्र पोखरा र भैरहवामा सिधै पर्यटक ओराल्ने भन्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरियो । नेपाली जनतालाई खर्बौंको ऋणको भारी बोकाएर त्यसरी एयरपोर्ट बनाउन उपयुक्त थियो कि थिएन विश्लेषणै नगरी अझै निजगढमा अर्को ठुलो विमानस्थल बनाउन सम्बन्धित हरू लागि परिरहेका छन् । भारतले हवाई रुट दिन्छ कि दिँदैन भन्ने ख्यालै नगरी हचुवामै नेपालमा दुई दुईवटा एयरपोर्ट बनाइयो भने निजगढको पनि के हालत हुने हो कसैलाई थाहा छ जस्तो लाग्दैन । त्यसैले पर्यटक बढाउने भन्दै पर्यटन क्षेत्रलाई नै अफापसिद्ध हुने गरी लगानी गर्नुलाई स्वागत गर्न कठिन पर्छ ।

त्यसै गरी अहिले विभिन्न ठाउँमा पाँच तारेदेखि सात तारेसम्मका होटल निर्माण भइरहेका छन् । कतिपय पुराना तारे होटलले तलब खुवाउन नसकेर कर्मचारीलाई अवकाश दिइरहेका बेलामा झन् ठुला होटल खुल्दा भइरहेका होटल र नयाँ खुलेकाको अवस्था के हुने भन्ने पक्कै अध्ययन गरिएकै होला । निजी क्षेत्रका लगानीमा खुल्ने भएकाले ती होटलले केही न केही अध्ययन गरेका होलान् भन्ने अनुमान गर्न त सकिन्छ तर कतै पुराना होटल सुकाएर आफ्नामा ग्राहक आकर्षित गर्ने लक्ष्य राखिएको भए त्यसलाई पनि उचित मान्न गाह्रै पर्छ ।

नेपाल आउने पर्यटकहरूले हिमाल हेर्न आउने हो । हिमालसम्मको गन्तव्य सहज बनाउन नेपालले प्रयत्न गर्नु पर्छ । सरसफाइदेखि लिएर उनीहरूका सुविधामा ध्यान दिनु पर्छ । पाँच तारे र सात तारे होटलभन्दा हाम्रै गाउँघरका माटाले लिपेका र खरले छाएका चिटिक्क परेका घर हरूमा सुविधासम्पन्न शौचालयदेखि स्नानागारसम्म भए भने वासका लागि तिनै घर रोजाइमा पर्न सक्छन् । विदशी शैलीकै बिहानको नास्ता देखि बेलुकीको भोजनसम्मका कुराहरूले भन्दा हाम्रा अर्गानिक उत्पादनका कोदो, फापर आदिका परिकारले आकर्षण दिन सक्नु पर्छ । खास गरी आएका पर्यटकसँगै सोधरे आगामी रणनीति तय गर्नु उपयुक्त हुन्छ ।

आधुनिक भौतिक पूर्वाधार र प्रविधिमा फड्को मारेर पश्चिमा पर्यटकलाई आकर्षित गर्ने हाम्रो क्षमता तत्कालै विकास हुन सक्ने देखिएको छैन । हामीले परम्परागत शैलीकै अन्य थप संरचना थपेर पर्यटनका नयाँ आयाम सिर्जना गर्न सक्छौँ भन्ने पनि कुनै लक्षणले देखाएको छैन । यति बेला हामीले गर्नुपर्ने र गर्न सक्ने भनेको हाम्रा पितापुर्खाले विश्वमै कतै नभएको इन्जिनियरिङ प्रयोग गरेर निर्माण गरेका मन्दिर, भवन र संरचनाको संरक्षण र संवर्धन नै हो । प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला आदिका अनुपम नमुना नेपालमा छन्, तिनैले दिने आकर्षणलाई बेचेर नै पर्यटनको अभिवृद्धि गर्ने हो । 

  

Author

डा. शान्तिकृष्ण अधिकारी