• १९ असोज २०८१, शनिबार

प्रसारण लाइन निर्माणमा जुट्यो सहमति

blog

काठमाडौँ, भदौ १४ गते ।  करिब दुई किलोमिटर क्षेत्रमा स्थानीयको विवादले १४ महिनादेखि अवरुद्ध रहँदै आएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सम्पन्न गर्न सहमति जुटेको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणाधीन अवस्थामै छ ।  

बाह्रबिसे नगरपालिका–५ मा रहेको आयोजनाको विद्युत्गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । 

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे) मा १२४ जग्गाधनीको जग्गा पर्दछ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतलगायत कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू र आयोजनाका अधिकारीबिच बुधबार भएको छलफलमा सहमति जुटेको हो । 

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्र अन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ लाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसै गरी प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ । 

मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजना विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताउनुभयो । 

मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमानदारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।  सांसद बस्नेतले हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको भनाइ राख्नुभयोे । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । विद्युत् प्रवाहका लागि २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।