• २४ असोज २०८१, बिहिबार

'तिज स्वतन्त्रताको पर्व हो'

blog

अर्जुन काफ्ले

स्याङ्जा, भदौ २० गते । नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले तिज स्वतन्त्रताको पर्व भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ वालिङ नगरकमिटीको दोस्रो नगर सम्मेलन तथा तिज विशेष कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले आफूले रोजेको स्वामी प्राप्त गरेको प्रसङ्ग जोडेर, महादेव पति पाउँ भनी ब्रत बसेको भन्दै तिज पर्व स्वतन्त्रताको पर्व भएको बताउनुभएको हो ।

अर्यालले हिजोको दिनमा माइती जान नपाएको, पारिवारिक वेदना, पढ्न लेख्न नपाएको प्रसङ्गलाई गीतमार्फत उजागर गर्दै माइती, चेलिबेटी भेट्ने पर्वको रुपमा तिज मनाइने गरिएको बताउनुभयो । 

अहिलेको समय परिवर्तन भएको छ, समाज विकसित भएको र प्रविधिको विकाससँगै महिलाहरु घरको चुलोचौकाेबाट बाहिर निस्किएको भन्दै अबको तिज सामाजिक प्रतिष्ठा पढाउँदै आफ्नो व्यक्तित्व विकास गर्ने पर्वको रुपमा मनाउनुपर्ने पूर्व मन्त्री तथा एमाले केन्द्रिय कमिटी सचिव अर्यालले जोड दिनुभएको हो । हिजो आमा तथा दिदिहरुको समयमा मिलन चौतारीको रुपमा मनाएको तिज अब परिवर्तनको रुपमा मनाउनुपर्नेमा उहाँको जोड थियो । 

अबको पुस्ताले तिज पर्व कसरी मनाउने भन्ने बहस चलिरहेको बेला पूर्व मन्त्री अर्यालले आर्थिक सामाजिक रुपमा कसरी सशक्त हुने भन्ने विषयमा पर्वहरु केन्द्रित हुनुपर्ने बताउनुभयो । नहुँदा पनि मिठा खानैपर्ने, नयाँ कपडा लगाउनैपर्ने भन्दा पनि हाम्रा पर्वहरु मौलिक तवरमा मनाउनुपर्नेमा उहाँको जोड थियो । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सदस्य उदय श्रेष्ठ, प्रदेश लेखा समिती सदस्य मन्जु केसी, युवासङ्घ गण्डकी प्रदेश अध्यक्ष पीताम्बर खनाल सुशील, नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेललगायतले तिजमा मौलिक परम्परालाई जगेर्ना गर्दै पर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।