• २४ असोज २०८१, बिहिबार

फेम्बोसाको अध्यक्षता नेपाललाई

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायको साझा मञ्चको १२ औँ सम्मेलनमा सहभागी हुन नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरू राष्ट्रपति भवन शीतल निवासमा बिहीबार शिष्टचार भेटवार्तापश्चात् राष्ट्रपतिसँग सामूहिक तस्ब

काठमाडौँ, भदौ २१ गते । निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षमा १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन सम्पन्न भएको छ । काठमाडौँमा बुधबारदेखि सुरु भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्मेलनले निर्वाचनलाई थप सहभागितामूलक र समावेशी बनाउन सदस्य राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकाय सहमत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशबाहिर रहेका मतदान गर्न योग्य नागरिकलाई सम्बन्धित देशमा प्रचलित कानुन अनुरूप निर्वाचन प्रक्रियामा समावेश गर्ने विषयमा सदस्य राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका छन् ।”

सम्मेलनको उद्घाटन सत्रमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाहिर रहेका नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्न साझा प्रयासको अपिल गर्नुभएको थियो । सम्मेलनले सो मुद्दामा साझा प्रतिबद्धता व्यक्त गरेको छ । 

आयोगका अनुसार निर्वाचन व्यवस्थापन गर्ने दक्षिण एसियाली राष्ट्रमध्ये अध्यक्षता गर्ने राष्ट्रले फेम्बोसाको सचिवालय राख्न सहमत भएका छन् । काठमाडौँमा सम्पन्न सम्मेलनबाट फेम्बोसाको अध्यक्षता नेपाललाई हस्तान्तरण गरिएको छ । आगामी दुई वर्षका लागि काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा फेम्बोसाको सचिवालय रहने छ । सचिवालयले फेम्बोसाका सदस्यको निर्वाचन आयोगसँग नियमित सम्पर्क राख्ने, महत्वपूर्ण नीतिको अद्यावधिक अभिलेख राख्ने र अन्य सहयोगी कार्य आयोजना गर्ने छ । 

सम्मेलनले जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य र जीविकोपार्जनलगायत निर्वाचन प्रक्रियामा प्रतिकूल असर पर्ने हुनाले मितव्ययी र वातावरणमैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्धन गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्चार गरी तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । दुई दिनसम्म तीन वटै कार्यपत्रमाथि विज्ञ एवं फेम्बोसाका सदस्य राष्ट्रले छलफल गरी घोषणापत्र जारी गरेको हो । 

घोषणापत्रमा निर्वाचन व्यवस्थापनमा साझा उद्देश्य र परिणाम प्राप्त गर्न विगतका सम्मेलनमा भएका महत्वपूर्ण निर्णयको समयसापेक्ष र द्रुत कार्यान्वयनमा जोड दिइएको छ । कृत्रिम बौद्धिकता (एआई) लगायतका सामाजिक सञ्जाल तथा मञ्चबाट प्राप्त अवसरबाट लाभ लिन र यी उदयीमान प्राविधिक विकासबाट हुने जोखिम र चुनौतीलाई नियन्त्रण र न्यूनीकरण गर्न सहयोग प्रवर्धन गर्ने साझा रणनीति तथा कार्ययोजना बनाउन सदस्य राष्ट्र सहमत भएका छन् । 

काठमाडौँ घोषणापत्रमा निर्वाचन व्यवस्थापन निकायको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने र एकअर्काको ज्ञान, सान्दर्भिक अध्ययन प्रतिवेदन र अनुसन्धान प्रकाशन अनलाइनमार्फत साझा गरेर सदस्य निकायबिच सहयोग र सिकाइलाई प्रवर्धन गर्ने उल्लेख गरिएको छ । 

सम्मेलनमा नेपालसहित भुटानका प्रमुख निर्वाचन आयुक्त दोस्रो सोनाम तोग्बे, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायके, माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद तोफिक तथा भारतका वरिष्ठ उपनिर्वाचन आयुक्त नितेश व्यासको उपस्थिति थियो । सम्मेलनमा बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानको निर्वाचन आयोगको सहभागिता थिएन ।