• १९ असोज २०८१, शनिबार

हरितालिका तिज : जागरणमा कोसेढुङ्गा

blog

तिज पर्व यही बेलादेखि मनाउन सुरु भएको भन्ने मिति निर्धारण भएको पाइँदैन । तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिककालदेखि नै चलिआएको हो । त्यसमा पनि भारतको केही मात्रै ठाउँ र नेपालमा हिन्दु नारीले विशेष पर्वका रूपमा मनाउँदै आएको पाइन्छ ।

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह (कन्यादान) भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई आफ्नो बाबुको निर्णय चित्त बुझेन । पार्वतीलाई शिवजीसँग विवाह गर्ने इच्छा थियो । आफ्नो इच्छाविपरीत बाबुको निर्णय इन्कार गर्न पनि नसक्ने, स्विकार्न पनि नसक्ने सङ्कट परेकाले पार्वतीको भावनामा ठुलो चोट पुग्यो । शिवजी पति पाऊँ भनी कठोर तपस्या गर्न थालिन् । आफ्नो इच्छा सपनाबाट मात्रै कसरी पूरा होला भन्ने उनलाई लाग्यो । आफूलाई परेको समस्या साथीहरूलाई सुनाइन् । 

भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई साथीहरूले सुटुक्क (हरण गरेर) लगेर घरपरिवार, समाजबाट लुकाइदिए । साथीहरूको सहयोगमा शिवजी पति पाऊँ भनी निराहार व्रत पनि गरिरहेकी थिइन् । उनको तपस्याका कारण शिवजी (महादेव) प्रकट भए भन्ने मान्यता छ । साथीहरूको पहलमा पार्वतीको मनोकाङ्क्षा पूरा भएकोमा उनीहरूले विवाहोत्सव मनाए, नाचे, गाए, रमाए । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू (साथीहरू) भन्ने हुन्छ । सखीहरूले हरण गरेर पार्वतीको मनोकाङ्क्षा पूर्ण गरिदिएकाले यो पर्वलाई हरितालिका (तिज) भनिएको हो ।

यो पर्वको ऐतिहासिक पृष्ठभूमिमा पितृसत्तासँग पार्वतीले विद्रोह गरेको बुझिन्छ । धार्मिक पुरोहितले विद्रोहको सत्यतालाई ढाक्न निराहार व्रत, तपस्याका कारण पार्वतीको मनोकाङ्क्षा पूरा भएको भन्ने धार्मिक भाष्य स्थापित गरिदिए । अविवाहित महिलाले आफूले भनेजस्तो पति पाउन, विवाहितले पतिको दीर्घायुका लागि र विवाह गरेर पनि पति मरिसकेका वा छोडेकाले पति व्रत बनिराख्नका लागि निराहार र कठोर व्रत गर्नु पर्छ भन्ने परम्परा चल्यो । महिला महिनावारी हुनेबेला जानअन्जानमा भए गरिएका (छोइछिटो) पापकर्मको कटनी हुने अन्धविश्वाससहित पञ्चमीको दिनमा ३६५ दत्तिवन टोकेर खोला, नदीकिनार गएर नुवाइधुवाइ गरेर पञ्चमीको पूजा लगाएपछि हरितालिका ‘तिज’ पर्वको अन्त्य हुने परम्परा छ ।

तिज पर्व मनाउने तरिका

महिलालाई दासीका रूपमा हेरिन्थ्यो र व्यवहार गरिन्थ्यो । बालविवाह, बहुविवाह मात्रै होइन ‘सतीप्रथा’ समेत थियो । धर्म, संस्कार, संस्कृति र सामाजिक बन्धनभित्र परजीवी वस्तुका रूपमा महिलाको जीवन कष्टकर थियो । सासूससुरा, जेठाजु, देवर, जेठानी देउरानी, नन्द, आमाजुसम्मले आपसमा जो अलि कमजोर छ, उसैलाई अपमान घृणा, अन्याय, अत्याचार गर्थे । श्रीमान्ले समेत आफ्नी श्रीमतीलाई मायाममता र संरक्षण नगर्ने, उस्तै परे सौतासमेत हाल्ने गर्थे ।

महिलाका लागि यो संसार निकै सानो र साँघुरो थियो । केवल घाँसदाउरा, चुलोचौका, खेतबारी, खेतिपाती र पानीपँधेरोमै सीमित हुनुपर्थ्यो । बच्चा जन्माउने मेसिनका रूपमा जीवन अडिएको हुन्थ्यो । आफ्ना दुःख, वेदना पोख्ने ठाउँ कहीँ हुँदैनथ्यो । मिठोमसिनो खाने, राम्रो लगाउन, शरीरलाई आराम दिलाउन वर्ष दिनको तिज कुरेर माइत जानुपर्ने बाध्यता थियो । 

बर्खाभरि खेतिपातीको कामले थाकेको शरीर, अन्याय, अत्याचारले भावनामाथि लागेको चोट लिएर माइतमा बाबुआमा, दाजुभाइ, दिदीबहिनीबिचमा सामिप्यता गाँस्ने, भावना साट्ने, मिठोमसिनो खाने, साथीसङ्गीसँग गीतका माध्यमबाट सुख, दुःख, खुसी साटासाट गर्दै समाजमा घटेका विपत्का घटनाको विस्तृत जानकारी पनि गीतकै माध्यमबाट गराउँदै, नाच्दै, गाउँदै, रमाउँदै तिजको एक दिन भए पनि आफू स्वतन्त्र भएको महसुस गर्थे । चेतना, इच्छा र विश्वास अनुसार बहस पनि गीत सङ्गीतकै माध्यमबाट गर्न ‘तिज पर्व’ एक महत्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो । समाजमा जागरण ल्याउने, सामिप्यता गाँस्नेसँगै अन्याय अत्याचारको भण्डाफोर, न्याय र परिवर्तनको मुद्दासँगै सूचना सम्प्रेषणका कुरा मौलिक शब्द र भाका प्रयोग गर्दै ‘तिज पर्व’ को महत्व स्थापित गर्दै गरेको पाइन्छ ।

समाजले कोल्टे फेर्दै गर्दा महिलाको संसार पनि फराकिलो बन्दै जान सुरु भयो । घरको चुलाचौकाबाट बाहिर निस्कन सुरु गरे । चेतनामा बढोत्तरी हुन थाल्यो । टेलिफोन, रेडियो, टेलिभिजनजस्ता सूचना सञ्चार साधनको विकासले समाजमा रहेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको भण्डाफोर र सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अधिकार प्राप्तिको जागरण गीत सङ्गीतकै माध्यमबाट छिटो फैलाउन मद्दत पुग्यो । राजनीतिक पार्टीमा काम गर्ने महिला सङ्गठनले महिला अधिकार र जागरणबारे तिज गीतका किताब छाप्ने, बाँड्ने र सन्देशमूलक कार्यक्रम गर्ने गर्न थाले । धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक आ–आफ्नो चेतना र इच्छा अनुसारका बहस पनि गीतकै माध्यमबाट गर्न ‘तिज पर्व’ एक माध्यम बन्न पुग्यो । समाजमा राम्रै जागरण पैदा ग¥यो ।

मानव विकासको गति सँगसँगै पर्व, परम्परा, संस्कार, संस्कृति, व्यवसाय, बसोबासका क्षेत्र, खानपान, रहनसहन बदलिँदै गइरहेको छ । सूचना सञ्चार र प्रविधिमा आएको अत्याधुनिक विकासले धेरै महिला घरको चुलोचौकाबाट श्रम, पेसा, रोजगार, स्वदेशमा मात्र नभएर संसारका कुनाकुनासम्म पुगिसकेका छन् । कला क्षेत्रमा पनि महिलाको उपस्थिति उल्लेखनीय हुन पुगेको छ । राम्रो लगाउन, मिठोमसिनो खान, आफ्ना भावना साट्न र आफन्तजनलाई भेट्न तिजै कुरिरहन पर्ने अवस्था करिब करिब अन्त्य भएको छ । यो सुविधासँगै भित्रिएको आधुनिकताले विकृति, विसङ्गति र महिलामाथि हुने हिंसाका रूप फेरिएका छन् । सँगै पर्व, परम्परा, संस्कार र संस्कृतिमा पनि विकृति भित्रिएको छ । विद्रोह, पारिवारिक सामिप्यता र सद्भावको इतिहास बोकेको ‘तिज पर्व’ दर खाने नाममा महिनौँसम्म तारे होटल, रेस्टुराँदेखि पार्टी प्यालेससम्म भोजभतेर गरेर गहना, कपडा प्रदर्शनी गर्ने, मायापिरतीका उच्छृङ्खल दोहोरी, ¥याप गाउने, डिस्को नाच्ने, परिवार एकै ठाउँमा बसेर गीत सुन्ने र नाच हेर्न सकिने अवस्था छैन । उच्छृङ्खल गीत र नाच भाइरल हुने, भाइरल भएका गीत समाजका धेरैले रुचाउने सन्देशमूलक र मौलिक परम्पराको गीत र नाचले स्थान नपाउने बनिराखेको छ । तिजको मौलिक शब्द र भावना, समाजमा सन्देश छर्ने प्रकारका गीत ओझेलमा पर्दै गइरहेका छन् ।

निष्कर्ष 

हरितालिका ‘तिज’ पर्वको इतिहास, मनाइँदै आएको परिवेश र आजकल मनाइँदै गरेको अवस्थालाई संश्लेषण गर्दा तीन वटा पक्ष देखिन्छ ।

धार्मिक आँखाबाट हेर्दा तिज पर्व धार्मिक पुरोहितले पितृसत्ताको हैकम कायम राखिराख्न महिलालाई परनिर्भर र परजीवी वस्तुका रूपमा चित्रण गरेको बुझिन्छ । धार्मिक कानुनभित्र महिला स्वतस्फूर्त बाँधिएका छन् ।

सामाजिक आँखाबाट हेर्दा यो पर्व टाढा रहेका आफन्तजन र साथीसङ्गीबिच भेटेर गहिरो सामिप्यता गाँसिराख्ने भावनात्मक पर्वका रूपमा स्थापित छ ।

राजनीतिक आँखाबाट हेर्दा तिज पर्व पितृसत्तात्मक हिन्दु समाज, संस्कार, संस्कृति र परम्पराविरुद्ध पार्वतीले साथीसङ्गीको सहयोगमा विद्रोह सफल पारेकी हुनाले आमउत्पीडित महिलाले विद्रोह नगरी अधिकार प्राप्त गर्न सम्भव हुँदोरहेनछ भन्ने शिक्षा लिनु पर्छ । सत्य कुरा पनि त्यही नै हो ।

यो पर्वले भावना र अधिकारको मूल मान्यता ग्रहण गरेको हुनाले धार्मिक परम्पराका रूपमा मात्र बुझ्नु र बुझाइनुभन्दा पनि सत्य र सकारात्मक पक्षको यथार्थ बुझ्नु पर्छ । यस पर्व र परम्पराको सकारात्मक पक्षको अनुशरण गर्दै पितृसत्तात्मक सामन्ती सोच, चिन्तन, प्रवृत्ति, उत्पीडनविरुद्ध सामाजिक सद्भाव, जागरण र अधिकार मजबुत बनाउँदै उच्छृङ्खल, तडकभडक, भड्किलो र भद्दा संस्कार निरुत्साहित गर्दै सभ्य र मौलिक संस्कृति बचाउनुपर्ने परिस्थिति आएको छ भने न्याय र समानताको हक स्थापित गर्न पार्वतीले घरपरिवार र समाजसँग गरेको विद्रोह र हरितालिका ‘तिज’ पर्वको ऐतिहासिक पक्ष ग्रहण गर्न सक्नु पर्छ ।

आजको युग विज्ञान प्रविधिको युग हो । हाम्रा चाडपर्व, संस्कार, संस्कृति कति वैज्ञानिक छन् ? वर्तमानमा तिजजस्ता पर्व मनाइरहँदा पर्वको इतिहास त्यसले दिएको सन्देश, समाजमा स्थापित गरेको सामाजिक सम्बन्ध र पारिवारिक सामिप्यतालाई सही ढङ्गले सम्प्रेषण भएको छ कि छैन, बुझ्न जरुरी हुन्छ ।

Author

कल्पना धमला