• ३० असोज २०८१, बुधबार

निर्वाचनअघिको प्रतिबद्धता अनुसार काम हुँदै छ

blog

मधेश प्रदेशको धनुषामा रहेका १८ वटा पालिकामध्ये एक हो नगराइन नगरपालिका । यो पालिका भारतीय सीमासँग जोडिएको छ । नेपाल–भारत सीमा जेड्ने छ लेनको सडक पनि यही पालिका भएर  निर्माण भएको छ । विसं २०७३ मा साबिकका नगराइन, घोडघास, लगमगाडागुठी, देवडिहा र फुलगामा गाविस समावेश भएर बनेको यस नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकाको पूर्वमा धनौजी गाउँपालिका र भारत, पश्चिममा महोत्तरी जिल्ला, उत्तरमा जनकपुरधाम उपमहानगरपालिका र धनौजी गाउँपालिका र दक्षिणमा मुखियापट्टी मुसहरनिया गाउँपालिका र भारत पर्दछ । करिब ३९.०० वर्ग किमी क्षेत्रफमा फैलिएको नगरपालिकामा कुल जनसङ्ख्या ३५ हजार ६३० छ भने यहाँका अधिकांश जनसङ्ख्या कृषिमा नै आधारित छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई विजयी हुनुभएका नगरपालिकाका प्रमुख विनयकुमार यादवसँग गोरखापत्र जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानी ः 

यहाँ नगराइन नगरपालिकाको प्रमुखमा निर्वाचित भएको अढाई वर्ष भइसकेको छ । यो अवधिमा यहाँले उल्लेखनीय के के काम गर्नुभयो ? 

निर्वाचितअघि मैले जनतासमक्ष चार/पाँच वटा प्रतिबद्धता थिए । अहिले ती प्रतिबद्धतामा केन्द्रित रहेर काम गरिरहेको छु । ती प्रतिबद्धतामध्ये पहिलोमा शिक्षा क्षेत्रको सुधार, दोस्रोमा पालिकाको स्वास्थ्य अवस्थामा सुधार, तेस्रोमा कृषि क्षेत्रको सुधार, चौथोमा पालिकाको प्रशासनिक भवन निर्माण गर्नु र पाँचौँमा पालिकाभित्र पर्ने छ लेनको सडकखण्डको बिच डिभाइडरमा वृक्षरोपण र पोलबत्ती जडान गर्नेलगायतका विषय थिए । त्यसमा केही पूरा हुँदै छन् केही बाँकी छन् । 

यो नगरपालिका निकै विवादित नगरपालिका पनि हो । यहाँको विवादलाई कसरी सुल्झाउँदै अगाडि बढ्नुभयो ?

तपाईंले भने झै यो नगरपालिका सबैभन्दा विवादित पालिकामध्ये एक हो । निर्वाचित भएर आएपछि करिब आठ महिना हामीले कुनै काम गर्न पाएनौँ । विवाद सुल्झाउनमै आठ महिना बित्यो । त्यसपछि बल्लतल्ल पालिकाको कामकाज सुरु भयो । त्यसलगत्तै हामीले शिक्षा क्षेत्र सुधारका लागि शिक्षकको अभाव भएको विद्यालयमा शिक्षक भर्ना प्रव्रिmया अगाडि बढायौँ । स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्य चौकीमा औषधीको अभाव हुन दिएनौँ, प्रयोगशाला निर्माण ग¥यौँ । अहिले १५ शøयाको अस्पतालका लागि ठेक्कासमेत लगाइसकेको अवस्था छ । यस्तै कृषि क्षेत्रमा कृषि विद्युतीकरण वडापिच्छे नै गर्ने भनेका छौँ र किसानले प्रयोग गरेका कृषि मिटरको बिल पनि पालिकाले तिर्ने भनेका छौँ । हाम्रो पालिकामा नदीनालाको सङ्ख्या न्यून रहेका कारण सिँचाइका लागि बोरिङ र पानी तान्ने मोटरको व्यवस्थासमेत गरेका छौँ । दुई आर्थिक वर्षमा दुई सयभन्दा बढी मोटर वितरण गरेका थियौँ । यस्तै बेरिङ पनि सय वटासम्म वितरण गरेका थियौँ । यसमा ८५ प्रतिशत पालिकाको अनुदान र १५ प्रतिशत किसानको लगानी परेको छ । कृषिमै भन्नुपर्दा आव २०७९/८० मा कृषि विद्युतीकरणका लागि प्रत्येक वडामा ५० लाख रुपियाँ विनियोजन गरिएको थियो । त्यसको पनि काम हुँदै छ र विद्युत प्राधिकरण जनकपुर शाखामा भुक्तानीसमेत भइसकेको अवस्था छ । 

निर्वाचनमा गरेका प्रतिबद्धताबाहेक पालिकामा अरू के के काम गर्दै हुनुहुन्छ ?

निर्वाचनअघि गरेका प्रतिबद्धताबाहेक हामीले भर्खरै १० जना नगर प्रहरी पनि भर्ती गरेका छौँ । पालिकाभित्रका टोल टोलमा सरसफाइको व्यवस्था गरेका छौँ । स्वास्थ्य संस्थामा जाँदा  औषधी नै नपाइने गुनासो धेरै आउने गरेको थियो तर म निर्वाचित भएर आएदेखि कुनै पनि स्वास्थ्य चौकीमा औषधीको अभाव भएको छैन । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनेका सबै औषधी उपलब्ध हुँदै आएको छ । निःशुल्क वितरण हुनुपर्ने औषधीमा कुनै कमी हुन दिएका छैनौ । अर्को कुरा समय समयमा भ्याक्सिनेसन गर्ने जस्तै हात्तीपाइलेको औषधी सेवनलाई पनि आफैँले निर्देशन दिएर चलाउन लगाएका छौँ । जहाँ सरसफाइमा अवरोध हुन्छ, त्यहाँ नगर प्रहरीद्वारा अवरोध हटाएका छौँ । सरसफाइका लागि सात जना कुचीकार भर्ना गरेका छौँ । सरसफाइका लागि पालिकामा दुई वटा ट्याक्टर उपलब्ध छन् । जसले बजार क्षेत्रका सडकमा रहेका फोहोर सङ्कलन गर्ने गरेका छन्  ।  

शिक्षा क्षेत्रमा के कस्तो सुधार गर्दै हुनुहुन्छ ? 

निर्वाचित भएर आएपछि विद्यालयमा पालिकाबाट शिक्षक भर्ना गरेँ । त्यस्तै विद्यालयको निजी स्रोतबाट पनि शिक्षक भर्ना गर्ने कार्य गरेका छौँ । त्यति गर्दा पनि शिक्षकको अभाव अझै छँदै छ । पहिलेभन्दा धेरै सुधार भएको छ । पहिले यहाँका विद्यालयमा १० जना विद्यार्थी आउने, ती पनि आधा दिनमा नै घर फर्किने परिपाटी थियो । अहिले त्यस्तो हुँदैन । सबै विद्यालयमा अहिले १० बजेदेखि ४ बजेसम्म निरन्तर कक्षा सञ्चालन भइरहेको छ । पहिले कक्षा ८ को परीक्षा विद्यालयले नै लिने गरेको थियो तर अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) भन्दा पनि कडा किसिमले परीक्षा लिने व्यवस्था थालिएको छ । एसईईभन्दा पहिले नै विद्यार्थी लाई कडा निगरानी राख्यो भने एसइईको परिणाममा सुधार होला भन्ने अपेक्षा गरिएको छ । त्यति मात्र नभएर निजी विद्यालय जसरी प्रत्येक महिना आन्तरिक रूपमा परीक्षा लिने वातावरण बनाएका छौँ । जसले गर्दा विद्यार्थीको सिकाइको स्तरमा सुधार गर्न सकिन्छ । 

यस्तै प्रत्येक विद्यालयको प्रधानाध्यापकसँग पनि प्रत्येक महिना पालिकामै बोलाएर बैठक बस्ने गरेका छौँ । बैठकमा विद्यालयको अवस्था, त्यहाँको समस्या र समाधानका उपाय खोज्ने काम गरिन्छ । 

विद्यालयको भौतिक संरचना सुधार पनि गर्दै हुनुहुन्छ कि ?

 पालिकामा जम्मा १६ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये तीन वटा माध्यमिक विद्यालय र १३ वटा निम्न माध्यमिक विद्यालय छन् । सबै विद्यालयको आफ्नै भवन छन् । यद्यपि कतिपय भवनमा त्रुटि पनि देखिएका छन् । जस्तो कुनै कुनै विद्यालयमा जस्तापाताको छानोमुनि विद्यार्थी पढिरहेका छन् ।  तराईको गर्मीमा विद्यार्थीले निकै सकस झेल्नु परेको अनुभव हामीले गरिरहेका छौँ । त्यस्तो विद्यालयमा भवन निर्माणका लागि प्रदेश र केन्द्रसँग बजेट माग पनि गरिरहेका छौँ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmमबाट पनि अलि अलि गर्दै बजेट आएको छ । त्यसबाट पनि केही भवन बन्दै छ । कुनै ठाउँमा प्रदेशको बजेट कुनै ठाउँमा पालिकाको बजेटले विस्तारै भौतिक संरचनालाई स्तरोन्नति गर्नेतर्फ लागेका छौँ । 

पाँच वटा विद्यालयका भवन निर्माणका लागि भारतीय दूतावासले बजेट दिएको थियो तर ठेकेदारको बदमासीका कारण समयसीमामा काम सम्पन्न हुन सकेको थिएन तर अहिले दूतावासले पुनः अर्को कम्पनीलाई ठेक्का दिएर भवन निर्माण प्रव्रिmया अगाडि बढाएको छ । सबै विद्यालयको जग्गा आफ्नै छ । भारतीय सरकारको सहयोगमा बनेका भवन हस्तान्तरण भयो भने केही हदसम्म भवनको समस्या समाधान हुन्छ । 

पालिकाभित्रका अन्य भौतिक विकासतर्फ के के काम भएका छन् ? 

हामी निर्वाचित भएर आएपछि पालिकाभित्र करिब ५० किलोमिटर सडक ढलान गरेका छौँ । यसमा सङ्घ, प्रदेश र पालिकाको बजेटबाट निर्माण सम्पन्न भएका छन् । त्यसमा पनि ५० प्रतिशन पिसिसी र ५० प्रतिशत आरसिसी सडक रहेका छन् । यस्तै पालिकाको प्रशासनिक भवन १३ करोड ८० लाख रुपियाँमा ठेक्का लगाएका छौँ भने १५ शøयाको अस्पताल निर्माणका लागि २४ करोड रुपियाँमा ठेक्का लागेको छ । निर्वाचन प्रतिबद्धता अनुरूप सौन्दर्यीकरणमा जटही नाका जोडिने छ लेनको सडक डिभाइडरमा डेढ करोड रुपियाँको लागतमा स्वचालित सडकबत्ती जडान गरेका छौँ । ती बत्ती घाम लागेपछि निभ्ने र घाम डुबेपछि बल्ने हुन्छ । प्रशासनिक भवन र अस्पतालको मोबिलाइजेसन खर्चबापत पाँच करोड रुपियाँ निकासा भएको छ । आयुर्वेद आरोग्य केन्द्रको भवन निर्माण भएको छैन । त्यस कारण आयुर्वेदका दुई जना कर्मचारी पालिकाबाटै सेवा सुविधा दिइरहेका छन् । अर्को काम भनेको १२० प्रकारका जाँच हुने पालिकास्तरीय स्वास्थ्य प्रयोगशालासमेत सञ्चालन गरेका छौँ जुन १५ श-याको अस्पताल निर्माणपछि ल्याब उक्त अस्पताल मातहतमा सञ्चालन हुने छ । 

यो अवधिमा तपाईंले भोग्नु परेका समस्या र चुनौती के कस्ता छन् ? 

म नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर निर्वाचित भएको हुँ ।  पालिकामा एमालेको दुई तिहाइ बहुमत छ । त्यस कारण निर्वाचित भएको आठ महिनासम्म पालिकामा तालाबन्दी भयो । अहिलेसम्म सभा हुन सकेको छैन । साथीहरू कुनै न कुनै विषयलाई लिएर विरोधका लागि विरोध गरिरहनुहुन्छ । एमालेका साथीहरूले असार १० गते सभा गर्ने भनेर सहमति जनाए पनि सभाका समयमा उपस्थित भइदिनु भएन । त्यस कारण नीति कार्यव्रmम मात्र प्रस्तुत भयो, सभा हुन सकेन । सभा नहुँदा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पालिकाको प्रशासनिक भवन र अस्पताल बन्न सकेको छैन । बत्ती जडानको भुक्तानी हुन सकेको छैन । यस्तै पालिकाको सबै क्षेत्रमा कर्मचारीको अभाव पनि उत्तिकै छ ।  कर्मचारी अभावमा प्रशासनिक काममा समस्या भइरहेको हुन्छ । आशा छ, प्रदेश सरकारले चाँडै कर्मचारी भर्ना गरोस् र हामीकहाँ कर्मचारीको समस्या समाधान होस् । 

पालिकाको आगामी बजेट कति छ र योजना के के छन्  ?

आव २०८१/८२ को पालिकाको बजेट ६३ करोड ६३ लाख रुपियाँ छुट्याइएको छ तर सभा नभएर केही काम हुन सकेको छैन । पालिकाका अधुरा काम पूरा गर्ने योजना छ । निर्वाचनका व्रmममा वाचा गरेका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ लागेको छुँ तर नगरपालिकालाई छुट्याइएको बजेट पर्याप्त भने छैन । आगामी दिनमा सिँचाइ सबै स्थानमा पु¥याउन सके कृषि उत्पादनलाई बजारीकरण गरिने र पालिकामा भएका बजारलाई समेत व्यवस्थित बनाउने छौँ ।  यहाँको उत्पादन गाउँमै वा बढीमा जनकपुरसम्म मात्र पुग्न सकेको छ । यहाँको कृषि उत्पादनलाई अझै व्यावसायिक बनाउने खालका योजना बनाउनेतर्फ अग्रसर हुने छौँ । आगामी दिनमा पालिकामा ल्यान्डफिल साइटको व्यवस्था गरेर फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ तर अहिले पालिका क्षेत्र गाउँ परेकाले त्यति फोहोर सङ्कलन भएको छैन । गाउँघरको फोहोर घाँसपात बढी हुन्छ जुन कुहिएर जान्छ वा मलका रूपमा प्रयोग हुने गरेको छ ।