• २६ असोज २०८१, शनिबार

उपराष्ट्रपतिबाट पलेशा सम्मानित

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव लेशा गोवर्धनलाई सम्मान गर्नुहुँदै । तस्बिर : उपराष्ट्रपतिको सचिवालय

काठमाडौँ, भदौ २४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा पलेशालाई सम्मान गरिएको हो । 

‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उहाँले भन्नुभयो, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरूलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’ 

उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उहाँको अथक परिश्रम, दृढ सङ्कल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताउनु भयो । ‘यसका लागि पलेशालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘पलेशाको यो अद्वितीय उपलब्धि र सफलतामा महत्त्वपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी हातहरू, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई पनि धन्यवाद छ ।’   

उहाँले पलेशाको अतुलनीय योगदानले सिङ्गो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको बताउनुभयो ।  ‘यो सफलता नेपालका सबै खेलाडीका लागि प्रेरणादायी छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हामीलाई गर्व छ, हाम्रो देशमा पलेशा जस्ता प्रतिभाशाली खेलाडीहरू छन्, जसले अन्तर्राष्ट्रियस्तरमा हाम्रो पहिचानलाई शिखरमा पुर्‍याउँदै त्यसलाई थप बलियो र सुदृढ बनाइरहेका छन् । पलेशाको सफलता उहाँको मात्र नभई सिङ्गो मुलुकको सफलता हो ।’

उपराष्ट्रपति यादवले पलेशाको यात्रा निरन्तर प्रगति र सफलताको पथमा अग्रसर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पलेशाको महत्त्वपूर्ण उपलब्धि, योगदान र सफलताका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।’ 

उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव, पलेशाका प्रशिक्षकसहित उपराष्ट्रपतिको कार्यालय तथा निजी सचिवालयका कर्मचारीको उपस्थिति थियो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो ।