• २६ असोज २०८१, शनिबार

बाँके र बर्दियामा थारु समुदायको अटवारी सम्पन्न

blog

थारु समुदायका दिदीबहिनीलाई दाजु भाइले ल्याइदिएको खानेकुरा अग्रासन। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २४ गते।  बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ।  दुवै जिल्लाका थारु बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो।  

यो पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गरेको जनाउँदै भीमको पूजा गर्दै आइतबार पुरुष व्रत बसेको र दिदीबहिनीका लागि छुट्याइने खानाको परिकार ‘अग्रासन’ लाई विवाहित दिदीबहिनीको घरमा सोमबार पुर्‍याएर सम्पन्न गरिएको बाँके कोहलपुर मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताउनुभयो।  

अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै थारु समुदायका अर्का अगुवा नेपालगन्ज निवासी भगतराम चौधरीले पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन खानेकुरा पकाएर दिदीबहिनीको घरमा पुर्‍याइने बताउनुभयो।  

उहाँका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ।  त्यही परिकार लिएर दाजुभाइ विवाहित दिदीबहिनीलाई भेट्न उनीहरूकै घर अर्को दिन जान्छन्।  अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्त्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो।  

बर्दिया राजापुरका थारु अगुवा सोम प्रसाद चौधरी दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्साउने विशेष अवसर नै अटवारी पर्व भएको बताउनुभयो।  

बर्दिया राजापुरकै अर्का थारु अगुवा भीमसेन चौधरीका अनुसार थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको छ। 

थारु समुदायमा अटवारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको बाँके राप्तीसोनारीका अगुवा हेमन्त चौधरीले बताउनुभयो।