• १७ असोज २०८१, बिहिबार

मनकामना मन्दिरमा ह्वात्तै घटे भक्तजन

blog

सुलीकोट समाचारदाता

सुलीकोट, भदौ २५ गते । नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा झन्डै ८० प्रतिशतले भक्तजनको सङ्ख्या घटेको छ । गत असार ३१ गतेबाट नेपालको पहिलो केबुलकार मनकामना केबुलकार मर्मत सम्भार गर्न भन्दै दुई महिनाका लागि बन्द भएपछि मनकामना दर्शन गर्न आउने भक्तजनको सङ्ख्या घटेको हो । मनकामना मन्दिरका मूल पुजारी इन्सन थापाले भक्तजन घटेको जानकारी दिनुभयो । उहाँका अनुसार असार, साउन र भदौ महिना यसै पनि अन्य महिनामा जस्तो भक्तजन कम हुने गरेका थिए । गत वर्षको तुलनामा ८० प्रतिशतले भक्तजन घट्नुमा केबुलकार मर्मतसम्भार भएको उहाँको भनाइ छ । 

मनकामना केबुलकार बन्दको प्रभावसँगै मनकामना क्षेत्रका होटेल तथा रेस्टुरेन्ट प्रत्यक्ष मारमा परेका छन् । गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइ समितिका संस्थापक अध्यक्ष मनोज जोशीले भन्नुभयो, “साउन १ गतेबाट केबुलकार मर्मतसम्भार सुरु गरेदेखि त्यसको प्रभावले मनकामना मन्दिरमा आउने भक्तजनको कमीले गर्दा केबुलकारदेखि मन्दिरसम्मका सबै होटेल बन्द हुन पुगेका छन् ।”

व्यवसाय नभएको मौकामा केही व्यवसायीले होटेल मर्मतसम्भार गरेका छन् भने भाडामा बसेका होटेल व्यवसायी सटर छाडेर अन्तै हिँडेको मनकामना बजार एकाइ समितिले बताएको छ । गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना एकाइ समितिका अध्यक्ष पीताम्बर थापाले केबुलकार सञ्चालन हुँदा दैनिक हजारौँ भक्तजन मनकामना मन्दिरमा देखिने गरेकोमा अहिले सुनसान भएको बताउनुभयो ।