• १७ असोज २०८१, बिहिबार

अपाङ्ग समाजले मधेशका गृहमन्त्री लेखीलाई बुझायो ध्यानाकर्षण पत्र

blog

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई ध्यानकर्षण पत्र बुझाउँदै अपाङ्ग समाजका पदाधिकारी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ २६ गते । अपाङ्ग समाज जनकपुरधामले अपाङ्गता भएका व्यक्तिको हक अधिकार स्थापित गर्नका लागि राज्यले सम्बोधन गर्नुपर्ने विषयवस्तु उल्लेख गरी मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । 

अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्ण नेतृत्वको टोलीले मधेश भवनस्थित गृह सञ्चार तथा कानुन मन्त्रालयमै पुगी मन्त्री लेखीलाई ध्यानकर्षण पत्र बुझाएको हो । 

ध्यानकर्षण पत्रमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्दै प्रदेश स्तरीय अपाङ्गता समन्वय समिति निमार्ण गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि संचालित राष्ट्रिय कार्यक्रम समुदायमा आधारित पुर्नस्थापन कार्यक्रम, स्थानीय तहबाट निरन्तरता पाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिलाई रोजगार दिने रोजगारदाता निकायलाई राज्यको नीति अनुसार २५ प्रतिशतसम्म आयकर छुटको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मतदान नामावलीमा नाम समावेश र निर्वाचनको पूर्ण प्रकृया पहुँचयुक्त बनाउन नीतिगत परिवर्तन गर्नुपर्ने, प्रदेश सरकारबाट ऐन, कानुन, नीति, नियमहरु बनाउँदा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था र अपाङ्गता क्षेत्रका विज्ञको अनिवार्य सहभागिता गराउनुपर्ने सहितका विषयवस्तु उल्लेख गरिएको छ । 

ध्यानकर्षण पत्र बुझदै मन्त्री लेखीले विषयवस्तुलाई अध्यन गरेर प्रदेश सरकारबाट गर्न सकिने कामकाज प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।