• १७ असोज २०८१, बिहिबार

कालीदह नाकामा पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालन

blog

एकीकृत जाँच बिन्दु उदघाटन गर्दै नगरप्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, भदौ २६ गते।  नेपाल–भारत सीमा नाका कालीदहमा पर्यटकलाई लक्षित गर्दै एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने कालीदहमा सवारीसहित नेपाल भित्रिने पर्यटकलाई लक्षित गर्दै एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको हो।  

यसअघि गत असार २६ गते स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच बिन्दु संचालन गरिएको थियो। 

यो नाकामा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच बिन्दु संचालनमा ल्याएको हो।  स्थानीय पालिकासँग समन्वय गरी यहाँ जाँच बिन्दु संचालनमा ल्याइएको हो। 

बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतले उद्घाटन गर्नुभयो।  सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। 


उहाँका अनुसार बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच बिन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन्।  त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन। 

‘सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच हुन्छ तर नियमतबस वा अन्य बहानामा पर्यटकलाई दुःख दिने गरी चेकजाँच हुने छैन’, प्रजिअ अर्यालले भन्नुभयो, ‘चेकजाँच भइरहेको ठाउँमा एकीकृत जाँच बिन्दुबाट उपलब्ध गराइएको कार्ड देखाएर जिल्लाभर पर्यटकका गाडी आउजाउ गर्न पाउने छन्।’

पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन्।  बेलहिया–सुनौली नाकाबाट भने भारतसहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन्।  कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता छ।  भारतीय पर्यटकलाई भने भिसा नलाग्ने भएकाले बेलहियाँसँगै कालीदह नाका प्रयोग गर्छन्।  तर, सुरक्षाको बहानामा पर्यटकका सवारी जिल्लाका दर्जन ठाउँमा चेकजाँच गरिन्छ।  यसले पर्यटकलाई हैरानी भएको भन्दै गुनासो बढेको थियो। 

यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले बेलहिया–सुनौली र कालीदह नाकामा एकीकृत जाँच विन्दु संचालनका लागि पहल गर्नुभएको थियो।  प्रशासनकै पहलमा बेलहिया र कालीदह नाकामा अहिले वाकथ्रु मेसिन राखेर त्यसबाट नेपाल भित्रिने सबै मानिसको सुरक्षा जाँच समेत गरिँदै आएको छ। 

प्रजिअ अर्यालले छिट्टै कालीदह छोटी भन्सारमा भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था मिलाइने बताउनुभयो।  कोरोना अघि यो नाकाबाट भित्रिने सवारीको भन्सार सुविधा यहीबाट दिइन्थ्यो।  तर, अहिले रोकिएको छ।  यसलाई पुनः संचालनका लागि प्रशासनले पहल गरिरहेको अर्यालले बताउनुभयो। 

नगर प्रमुख सजरुद्दिन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।  उहाँले कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा भन्सार सुविधा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो।