• २६ असोज २०८१, शनिबार

निर्माणाधीन पशुपन्छी अस्पताल अलपत्र

blog

निर्माण पूरा नभएको नमुना पशुपन्छी अस्पताल भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, भदौ २८ गते । पशुपन्छीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले तनहुँमा निर्माणाधीन नमुना पशुपन्छी अस्पताल अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बनिरहेको अस्पताल ठेकेदारले निर्माण ढिलो गर्दा अलपत्र परेको हो । 

गत पुसमा सम्पन्न गर्ने गरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भए पनि भवनको काम भने अधुरै छ । 

अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरीले निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौता अनुरूप सम्पन्न गर्न नसकिएको हालसम्म ६५ प्रतिशत मात्रै काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे  ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिएका छौँ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको ठेक्का तोड्ने भन्ने चेतावनी दिएपछि भदौमा भने सामान धेरै ल्याएर कामलाई तीव्रता दिएको चौधरीले जानकारी दिनुभयो । 

केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाख रुपियाँको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजना छ । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड रुपियाँ लाग्ने अनुमान छ । 

दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसान लाभान्वित हुने छन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने छ । केन्द्रकी सूचना अधिकारी पार्वती पौडेलले भवन बनेपछि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अस्पतालको सेवा सुरु हुने बताउनुभयो ।