• २६ असोज २०८१, शनिबार

वडाले तिरिदियो किसानको विद्युत् महसुल

blog

सप्तरीको महादेवा गाउँपालिका

देवराम प्रसाद यादव
सप्तरी, भदौ २८ गते ।
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा गाउँका कृषक नेपाली मण्डललाई यस वर्ष सिँचाइ गर्न मोटर चलाउँदा खपत भएको विद्युत् महसुल वडा कार्यालयले तिरिदिएको छ । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ । त्यति खेत हिल्याउन एक हर्सपावरको विद्युतीय मोटर प्रयोग गरिएको थियो । विद्युत् प्रयोग गरेबापतको महसुल तिर्नु नपरेपछि कृषक मण्डल खुशी हुनुभएको छ ।

त्यस्तै, सोही ठाउँका अर्का कृषक सत्यनारायण रजकले विद्युतीय मोटरको माध्यमबाट सिँचाइ गरेर दुई बिघा खेतमा धान बाली लगाउनुभएको छ । उहाँलाई पनि विद्युत् खपतबापतको महसुल तिर्नुपरेन । विद्युत् महसुल तिर्नु नपरेपछि यस वर्ष मात्र १० हजार रुपियाँ जोगिएको रजकले बताउनुभयो ।

महादेवा टोलका कृषक नेपाली र सत्यनारायणले मात्र होइन, महादेवा गाउँपालिका–२ भित्रका कुनै पनि कृषकलाई सिँचाइका लागि विद्युत् महसुल बुझाउनुपरेको छैन । सबै कृषकलाई खेत सिँचाइ गर्न वडा कार्यालयले विद्युतको व्यवस्था गरेको छ । वडा कार्यालयले एकमुष्ट विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरण हनुमाननगर वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको छ ।

वडाध्यक्ष जागेश्वरप्रसाद इसरले खेतमा सहज सिँचाइका लागि कृषि मिटरको विद्युत् महसुल वडा कार्यालयबाट तिर्ने व्यवस्था मिलाएको बताउनुभयो । गत आवमा ७० जना कृषकको एक लाख रुपियाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरेको बताउँदै उहाँले आफ्नो कार्यकाल रहेसम्म किसानलाई यो सुविधा प्रदान गरिने जानकारी दिनुभयो ।

वडाध्यक्ष इसरले वडाभित्रका विभिन्न स्थानमा कृषकले कृषि मिटर जडान सिँचाइ मोटर जडान गरेर चलाउने गरेको बताउनुभयो । खेत खेतमा सिँचाइ गर्न निःशुल्क विद्युत् उपलब्ध हुँदा कृषि उत्पादन बढेर कृषकको आर्थिक वृद्धिमा योगदान पुग्ने बताउँदै वडाध्यक्ष इसरले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा कृषकलाई निःशुल्क बिजुलीको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ९५ प्रतिशत कृषक र खेतीयोग्य जमिन छन् । त्यसैले पहिलो प्राथमिकता कृषि क्षेत्रको विकासलाई दिएका छौँ । यस्तो कार्यले कृषकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” यसलगायत स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कामलाई सँगसँगै बढाइएको उहाँले बताउनुभयो ।

स्थानीय हरी साफीले वडा कार्यालयले विद्युत् महसुल तिरिदिएपछि कृषकलाई धेरै राहत पुगेको बताउनुभयो । खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने हुँदा उत्पादनमा वृद्धि हुने र यसले समग्र कृषकको जनजीवनमा सुधार आउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वडाध्यक्षले यो कार्यक्रम ल्याउनुअघि यहाँका थोरै कृषकले कृषि मिटर जडान गर्नुभएकोे थियो । अधिकांश कृषक ‘हुकिङ’ गरेर विद्युत् प्रयोग गर्ने गरेका थिए । विद्युत् चोरी आरोपमा पक्राउ पर्दा जरिवाना तिर्नुपर्ने, मोटर जफत जस्ता समस्या कृषकले भोग्दै आएका थिए । अब विद्युत् महसुल वडाले तिरिदिन थालेपछि यहाँका कृषक ढुक्कले विद्युत् प्रयोग गर्न पाएका छन् ।” नेपाल विद्युत् प्राधिकरण हनुमाननगर वितरण केन्द्रले वडा कार्यालयको यस कार्यले विद्युत् चुहावटमा कमी आएको जनाएको छ ।