• २२ मंसिर २०८१, शनिबार

दशक बित्दासमेत टेकोमै वसन्तपुरको सम्पदा

blog

काठमाडौं, कात्तिक २६ गते । काठमाडौंको वसन्तपुर डबलीमा अवस्थित नेपाल–संस्कृत विश्वविद्यालयको भवन काठको टेकोमा अड्याइएको वर्षौ बितिसकेको छ । विश्व सम्पदा क्षेत्र अन्तर्गत रहेको यस भवन परिसरमा दिनहुँ हजारौं बाह्य तथा आन्तरिक पर्यटकको आवागमन हुने गरेको छ । 

जीर्ण भवनको कहिले इँटा त कहिले झ्यालैसमेत खस्ने गरेको छ । कुनै समय सानो पराकम्पन आइहाले पनि ठुलो सङ्ख्यामा मानवीय क्षति हुनसक्ने जोखिम उत्तिकै छ ।

काठमाडौं महानगर वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएदेखि नेपाल–संस्कृत विश्वविद्यालयको भवन व्यवस्थापनलाई पहिलो प्राथमिकताका साथ काम अघि बढाइएको बताउनुहुन्छ । भूकम्प गएको झण्डै दशक बित्न लाग्दा पनि भवनको कामको सुरसार छैन ।

वडाअध्यक्ष महर्जन भन्नुहुन्छ, “चुनावमा निर्वाचित भएर आइसकेपछि मेरो पहिलो एजेण्डा यो भवनलाई सेफ ल्याण्डिङ गर्नुपर्छ भन्ने थियो । यो सम्पूर्णरुपले क्षतिग्रस्त भइसकेको र रेड जोनमा परेको भवन हो । सकेसम्म चाँडै व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले हामी २०७४ सालदेखि अहिलेसम्म लागेको लाग्यै छौं ।”

उहाँले कानुनी तथा प्राविधिक गोलचक्करमा अड्किएको कारण भवनको काम अघि बढ्न नसकेको बताउनुभयो । यस भवनको स्वामित्व कोसँग छ भन्ने कुरा खोज्नमै धेरै समय लाग्यो । उहाँले भन्नुभयो, “मालपोतमा यसको स्वामित्व त्रिभुवन विश्वविद्यालयको युवा विकासको कार्यक्रमका लागि भनेर राखिएको छ । कुनै पनि निकायले यसैको स्वामित्व हो भनेर पहिचान गरिदिएन । काठमाडौं महानगरपालिकाबाट पनि जिम्मेवार ढङ्गले अगाडि बढ्न सक्ने अवस्था देखिएन ।”

उहाँका अनुसार पछिल्लो समय २०८० फागुनमा पुरातत्व विभाग, काठमाडौं महानगर लगायत सम्बन्धित पक्षबिचको संयुक्त बैठकमा सो भवन भत्काउने निर्णय भयो । तर गएको आर्थिक वर्षमा पुरातत्व विभागबाट यसका लागि बजेट छुट्टिएन । 

उहाँले भन्नुभयो, “२०८०-८१ को वर्ष जेठ मसान्तभित्रमा मेयरस्तरको छलफल हुँदा त्यो भवन पुरात्व विभाग आफैंले भत्काउने प्रक्रिया अगाडि बढाउने मौखिक सहमति भएको भनेर मेयरसाबले मलाई जानकारी गराउनुभयो । तर जेठको अन्तिमसम्म आउँदा पनि कुनै प्रक्रिया अगाडि बढेको जस्तो देखिएन । त्यसपछि म आफैं पत्र लिएर पुरातत्वको महानिर्देशकलाई भेटें । उहाँसँगको भेटमा भवन भत्काउने भनेर जति इस्टिमेट आएको हो त्यति बजेट विभागमा नभएकोले गर्न नसकिने अवस्था भयो भनेर अन्तिममा जवाफ यस्तो आयो ।” 

गत असोजमा त्रिविको कार्य व्यवस्थापन बोर्डले यसको जिम्मा ललितकला क्याम्पसलाई दिने निर्णय गरेसँगै थप अन्यौला थपिएको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “वडा २३ मा विशेष महत्वका साथ यसमा बजेट आवश्यक छ भनेर विषय राख्दा पनि सम्बोधन भएन । अब सम्बोधन नभएको हकमा एउटा मात्र पाइला चाल्ने अन्तिम विकल्प बाँकी छ भनेर मैले भनेको पनि छु । जनस्तरबाट दबाब थेग्न सक्ने अवस्था भएन । त्यत्रो वर्ष मैले सङ्घर्ष गरें । विभिन्न प्रक्रियाहरुमा गयौं । अब माग किन सम्बोधन गरेन भनेर अनसन बस्ने बाहेक विकल्प छैन ।”

नयाँ भवनको डिजाइन तयार 

त्यसो त, २०७२ को भुकम्प पश्चात् वसन्तपुर दरबार क्षेत्रका कतिपय क्षतिग्रस्त सम्पदा अझै काठको टेकोले नै अड्याइएको छ । हनुमानढोका दरबार हेरचाह कार्यालय प्रमुख सन्दिप खनालका अनुसार हालसम्म ४३ वटा सम्पदाको पुन:निर्माण कार्य सम्पन्न भइसकेको छ । १३ वटा सम्पदाको पुननिर्माण कार्य भइरहेको छ भने १४ वटा सम्पदाको कार्य अझै सुरु भएको छैन । भूकम्पपश्चात् पुन:निर्माण गर्न नपरेका २९ सम्पदा छन् । 

प्रमुख खनालले भन्नुभयो, “अझै पनि केही सम्पदा टेकोमै छन् भन्ने कुरा सही छन् । जसमध्ये धेरै वसन्तपुर क्षेत्र वरिपरि नै भएका एउटा, नेपाल संस्कृत विश्वविद्यालय र अर्को हनुमानढोकाको मुख्य प्रवेशद्वार रहेको आँगम्छे मन्दिर हो । वसन्तपुरमा सबै काम भइसक्दा पनि कामै नभएको जस्तो देखिएको यी सम्पदाहरुमा लगाएको टेकोले गर्दा देखिएको हो ।”

खनालले नेपाल संस्कृत विश्वविद्यालयका सन्दर्भमा पुरातत्व विभाग, हनुमानढोका हेरचाह अड्डा, काठमाडौं महानगरपालिकाबिच पटक–पटक छलफल भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल संस्कृत विश्वविद्यालय भत्काउने विषयमा हनुमान ढोका हेरचाह अड्डाले त्यहाँ भएका कलाकृतिको इन्भेन्टरी तयार गरिदिने । छिटै नै दुवै पक्ष मिलेर बजेटको व्यवस्थापन गरेर निर्माण कार्य तत्काल अगाडि बढाउने गरी एक किसिमको समझदारी भएको छ । आशा गरौं इन्द्रजात्रा पछाडि यो कुराले निकास दिन्छ ।” 

यससँगै रहेको नवआदर्श माध्यमिक विद्यालयको भवन भत्काएर विश्वविद्यालयको भवनसँगै मिल्नेगरी नयाँ भवन बनाउन ड्रइङ डिजाइन तयार भइसकेको उहाँको भनाइ छ । 

वसन्तपुर दरबार क्षेत्रमा भूकम्प गएको दशक बित्दा पनि सम्पदा अझै किन टेकोमा छन् भन्ने सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन र हनुमानढोका दरबार हेरचाह कार्यालय प्रमुख सन्दिप खनालसँग सपना थामीले गरेको संवाद :

भिडियो : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।