• २४ कात्तिक २०८१, शनिबार

नर्सिङप्रतिको मोह

blog

प्रत्येक मे १२ लाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाइन्छ । यो दिन आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पनि हो । यसरी सन् १८२० मे १२ का दिन इटालीको फ्लोरेन्स सहरबाट यसको सुरुवात भएको थियो । यो आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउँदै छ । 

फ्लोरेन्सलाई ‘ए लेडी विथ अ ल्याम्प’ अर्थात् टुकी या भनौंँ लालटिन बोकेकी महिला उपनामले पनि चिनिन्छ । त्यस बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा उनी घाइते सैनिकको उपचारार्थ अहोरात्र खटिएकी थिइन् । उनले क्रिमियन युद्धमा घाइते सिपाहीको अहोरात्र सेवा गरी मृत्युदर ४२ प्रतिशतबाट घटाएर दुई प्रतिशतमा पु¥याएकी थिइन् । उनलाई क्रिमियन युद्धकी हिरोइन भनेर पनि चिनिन्छ । उनैको नर्सिङप्रतिको योगदान, बिरामीप्रतिको समर्पणलाई कदर गर्दै मे १२ को दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा सम्झने तथा मनाउने गरिन्छ । सैनिकले उनलाई सम्मानका साथ लेडी विथ अ ल्याम्प भनेका हुन् । त्यसले गर्दा यस दिनलाई फ्लोरेन्सले एउटा युगान्तकारी परिवर्तन देखेको र गरेको मान्ने व्यक्ति संसारमा धेरै छन् ।

हाम्रो देशको कुरा गर्ने हो भने नर्सिङको नेपाली इतिहास वि.सं. २०१३ बाट सुरु भएको देखिन्छ । जब केही गृहिणीलगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । फलतः राणाशासनका बेला सम्भ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नर्सिङको महŒव चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ । यसरी राणाकालको क्रममा चारजना नेपाली चेली विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहबादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिला भारतमा चार वर्ष नौमहिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । 

आज गल्लीपिच्छेका अस्पताल अनि क्लिनिकमा नर्सको उपस्थिति बाक्लै देख्न सकिन्छ । यसका साथसाथै हाल आएर सहर–सहरमा नर्सिङ कलेज खुलेका छन् । अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यसका साथै आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रूपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण फेरिएको छ ।

मूलतः नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्क हेर्ने हो भने देशमा १५ हजारभन्दा बढी स्टाफ नर्स र १६ हजारभन्दा बढी अनमी गरी ३१ हजारभन्दा बढी नर्स तयार भइसकेका छन् । तैपनि विकसित राष्ट्रमा छदेखि आठ सय जनसङ्ख्याका बीचमा एक नर्सको व्यवस्था गरिएको छ । हाम्रो मुलुकमा त्यसको १० प्रतिशत मात्र छदेखि आठ हजार सङ्ख्याको बीचमा एक नर्सले काम गर्नुपर्ने अवस्था छ । 

हालको तथ्याङ्क अवलोकन गर्ने हो भने मुलुकमा सरकारी र निजीस्तरबाट सञ्चालित दर्जनौँ मेडिकल कलेजबाट बर्सेनि पाँच हजारभन्दा बढी स्टाफ नर्स उत्पादन हुन्छन् । यति ठूलो सङ्ख्यामा उत्पादन हुने नर्स सहरकेन्द्रित हुन खोज्दा पनि कामको अभाव देखिएको बुझाइ छ । यसर्थ अन्य विषयको दाँजोमा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीको आकर्षण बढेको छ । 

नेपाली नर्सले विदेशमा स्तरीय अस्पतालमा रहेर कार्य गर्न अन्तर्राष्ट्रिय स्तरका केही परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । ती परीक्षामा उत्तीर्ण भएकाले विदेशी नर्ससरह अवसर पाउँछन् । विकसित देशमा रोजगारीका लागि गएकाहरू न्यूनतम दुई हजारदेखि तीन हजार अमेरिकी डलर प्रतिमहिना कमाउने बताइन्छ । त्यसैले पनि तीनवर्षे नर्सिङ कोर्स सकिएपछि विदेश जाने क्रम दिनानुदिन बढ्दो छ । विदेशमा राम्रो रोजगारीको अवसर र दह्रो पारिश्रमिक भएकाले नै विदेश जानेको सङ्ख्या बढेको नेपाल नर्सिङ काउन्सिलको भनाइ छ । त्यसरी नै राष्ट्रमा नर्सिङ पढेका नर्स विदेशमा राम्रो पारिश्रमिकको लालचमा नभई देशमा रोजगारीको वातावरण सिर्जना नहुनुले विदेश जानुपर्ने बाध्यता छ ।

अतः राष्ट्रमा उत्पादित नर्सलाई देशमै राम्रो रोजगारीको वातावरण सिर्जना, थोरबहुत सेवासुविधा बढाएर पनि विदेश पलायन हुने नर्सको मनस्थितिमा परिवर्तन ल्याउन सक्नेमा विश्वस्त रहन सकिन्छ । यसका अलावा स्वास्थ्य संरचनामा केही सुधार ल्याए मात्र पनि विदेश पलायनमा आधाआधी सङ्ख्या घट्ने काउन्सिलको बुझाइ छ । जेजस्तो भए पनि नेपाली नर्सलाई विदेश पलायन हुनबाट रोक्न र नेपाली नर्सलाई नेपालभरिका चिकित्सालयमा उपस्थित गराउन सम्बन्धित निकायले बेलैमा ठोस पहलकदमी चाल्नुपर्नेे आवश्यकता टड्कारो देखिएको छ ।

विश्वव्यापी रूपमा २१औँ शताब्दीमा आएर युवायुुवतीको नर्सप्रति मोह बढ्दो छ । यद्यपि, मुलुककै कुरा गर्ने हो भने पनि युवती एसएलसी दिनासाथ नर्सिङ प्रवेशका लागि राजधानीका थुप्रै इन्स्टिच्युटमा प्रवेश परीक्षाका लागि तयारी कक्षा लिनेको लर्को देख्दा यस्तै लाग्छ । नर्सिङ जनशक्तिको माग र पदपूर्ति गर्न, गुणस्तरीय शिक्षाका लागि पहल गर्न, राष्ट्रिय नीति निर्माणमा निर्णय लिन यस्ता सङ्गठन सहयोगी बन्न सक्छन् ।

नर्सिङ आफैँमा पूर्ण हुन सक्दैन । अरू पेसागत सङ्घ, सङ्गठनसँग सहकार्य गर्नुपर्छ । शिक्षा, कानुनी, कृषि, खानेपानी तथा सरसफाइ आदि क्षेत्र, सामाजिक तथा राजनीतिक व्यक्तिसँग सहकार्य गरी अघि बढ्न सकिन्छ, जसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले माध्यम, दक्ष जनशक्ति र साधन प्रदान गर्छ । झन्डै आठ दशक लामो सङ्घर्षमय इतिहास बोकेको नेपालको नर्सिङ क्षेत्र राष्ट्रका पुराना स्वास्थ्य संरचनामध्ये पर्छ । 

सन् १९४७ सालमा वीर अस्पताल स्थापना भएको ४० वर्षपछि त्यसै अस्पतालको अन्तरङ्ग विभागका बिरामीलाई प्रत्यक्ष सेवा पु¥याउने, घर–घरमा गएर गर्भवती महिला प्रसूति गराउने र नवजात शिशुको स्याहार गर्नेजस्ता मातृशिशु स्वास्थ्यसम्बन्धी दायित्व लिने उद्देश्यले वि.सं. १९८५ देखि विविध रूपमा चार नेपालीले सुत्केरी गराउने विधिको अध्ययन गरेपछि सुरु भएको नेपालको नर्सिङ शिक्षाले यति बेला फड्को मारिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा वि.सं. २०१३ मा वीर अस्पतालबाट औपचारिक रूपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो भने वि.सं. २०२८ बाट विश्वविद्यायलले नर्सिङ शिक्षाको अध्यापन सुरु गरेको हो । आजका अभिभावकको चाहना केही गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ । आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रूपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण पनि फेरिएको छ ।

अन्य विषयको तुलनामा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीको आकर्षण बढेको छ । हुन त नर्सिङ अध्ययन गरेकामध्ये ठूलो हिस्सा स्वदेशमै खपत हुने गरेको छ । यद्यपि ६० प्रतिशत युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा करिअर  बनाउने सोचमा रहेको पाइन्छ । नेपाली नर्सका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अन्य युरोपेली देशमा करिअर बनाउने बाटो खुला गरिदिएको छ ।



Author

विश्वनाथ खरेल