• २० कात्तिक २०८१, मङ्गलबार

नेपाल–बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता आज

blog

काठमाडौँ, असोज १७ गते । नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता हुन लागेको छ । आज (बिहीबार) एक कार्यक्रमकाबिच दुई देशबिच ऊर्जा सम्झौता हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

सम्झौताका लागि बङ्गलादेशबाट आउनुभएका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका ऊर्जामन्त्री दीपक खड्काबिच बुधबार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ । 

ऊर्जामन्त्री खड्काले नेपालको प्रचुर जलविद्युत् सम्भाव्यता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशको ऊर्जा सहकार्यले प्रगाढ बनाउने उल्लेख गर्नुभयो । ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बङ्गलादेशका सहसचिव र सचिव स्तरीय बैठक बसिरहेको भन्दै सो बैठक दुई देशको ऊर्जा विकासमा फलदायी हुने मन्त्री खड्काले बताउनुभयो ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगम लिमिटेडबिच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौताका लागि पहलकदमी लिएको भन्दै बङ्गलादेश सरकारलाई धन्यवाद दिनुभयो । त्रिपक्षीय सम्झौतासँगै भारतीय प्रसारण लाइन हुँदै नेपालले जुनदेखि नोभेम्बरसम्म ४० मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । उक्त सम्झौतासँगै दुई देशबिचको ठुलो सम्भावनाका रूपमा रहेको विद्युत् व्यापारको ढोका खोलिने मन्त्री खड्काको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले नेपाल–भारत–बङ्गलादेशबिच विद्युत् क्षेत्रमा सहकार्य तथा विद्युत् व्यापार प्रवर्धनका लागि त्रिपक्षीय संयुक्त सञ्चालन समिति र त्रिपक्षीय संयुक्त कार्यदल  गठन गर्न आवश्यक रहेको र यसका लागि भारतीय पक्षलाई समेत अनुरोध गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले ६८० मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना चाँडो अगाडि बढाउनुपर्ने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिदका लागि बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको जिएमआरबिचको विद्युत् विक्री सम्झौता अन्तिम चरणमा पुगेको भन्दै त्यसलाई चाँडो अगाडि बढाउनुपर्ने बताउनुभयो ।

भेटमा बङ्गलादेशका अन्तरिम सरकारका मन्त्री हसनले नेपालबाट बङ्गलादेशमा ऊर्जा आयात गर्ने अघिल्लो सरकारको निर्णयलाई वर्तमान सरकारले निरन्तरता दिएको बताउनुभयो । उहाँले बङ्गलादेशमा भइरहेको गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ अहिलेको सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जानका लागि नेपालका जलविद्युत्ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले ४० मेगावाटका लागि ऊर्जा सम्झौता गरे पनि भविष्यमा नेपालबाट ठुलो मात्रामा विद्युत् आयात गरिने बताउनुभयो । नेपालको जलविद्युत् क्षेत्रमा बङ्गलादेशले आगामी दिनमा लगानी बढाउँदै लैजाने उहाँको भनाइ थियो ।