• २० कात्तिक २०८१, मङ्गलबार

प्रतिकूलताबिचको दसैँ

blog

नेपाल बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कार–संस्कृति भएको मुलुक हो । यहाँ जातीय संस्कृति अनुसार वर्षैभरि विभिन्न चाडपर्व (दसैँ, तिहार, छठ उँधौली, उँभौली, रमजान, क्रिसमस, बुद्ध जयन्ती) मनाइन्छ । यही भएर हाम्रो देश अनेक जाति, धर्म, भाषा, धर्म, संस्कार–संस्कृतिबिच सामाजिक सहिष्णुतामा बाँधिएको रङ्गीन फूलबारी जस्तै मान्न सकिन्छ । जातीय विविधता भए पनि सबैले सबैको संस्कार–संस्कृति तथा मूल्यमान्यताको सम्मानका साथ आदर सत्कार गर्छन् । 

अहिले दसैँ सबैको घरआँगनमै आइपुगेको छ । यसपछि तिहार र छठ पर्व आउँछ । खास गरी हिन्दुहरूको महान चाड बडादसैँमा किनमेलको घुइँचोले बजार ढाकेको देखिन्छ । धेरै जसो स्कुल कलेजहरूले धेरै दिन नै दसैँ बिदा दिन्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म नै यो पर्वमा रमाउने हुनाले घरको रौनक नै फेरिएको पाइन्छ । दसैँ सकिनासाथ रमाइलो चाड तिहारलाई स्वागत गर्नु पर्ने, त्यसलगत्तै छठ पर्वले चाडपर्वको खुसियालीको अवधि निकै लामो हुने गर्छ । 

चाडपर्वमा खुसी हुने, मिठोमसिनो खाने, लिङ्गेपिङ, रोटेपिङलगायत खेल खेलिन्छ । यी खेलले चाडको रौनकता नै बढाउँछ । यो समय रमाउने समय पनि हो । यसै गरी परदेश गएका आफन्तसमेतको घर आगमनले परिवारमा झनै खुसीको उमङ्ग छाउँछ । यसले चाडको महìव केकति छ भनेर सबैमा अनुभूति हुन्छ । दसैँमा मान्यजनबाट टीकाजमरा लगाएर आशीर्वाद लिने सुखद अवर पनि हो । यसरी यो चाड हिन्दुहरूको भनिए पनि सबै नेपालीले साझा चाडको रूपमा धेरै पहिलेदखि मनाउँदै आएको पाइन्छ । 

दसैँ कहिलेदेखि कसरी र किन सुरु भयो भन्ने प्रश्नको तथ्यगत प्रमाण नपाइए पनि यसबारे धार्मिक विश्वास र आस्थामा आधारित आध्यात्मिक वर्णनहरू पाउन सकिन्छ । असत्यमाथि सत्यको विजय भएपछि यो चाड मनाउन थालिएको भनिन्छ । अनुसन्धान गरेर दसैँका सम्बन्धमा लेखेका प्राचीन लेखहरू नगण्य मात्र भेटिन्छ । साहित्यकार तथा भाषाविद् बालकृष्ण पोख्रेलले ‘पाँच सय वर्ष’ नामक पुस्तकमा, ‘ई मेरा भाई गर्भराज राईपट्टि वसि मतो गर्न जान्छु’ भनी विन्ति गर्दा 

‘लौ’ भनी राजाको हुकुम भयो । ...तव दाजुको वचन सुनी गर्भराज राईभट्ट विन्ति गर्छन्, “हे दाजु, बाबा महतारिकन मैले जानिन...।” ...नरजित राई राजा भन्छन्, “नरेन्द्र साहेवलाई समुद्र गढिमा रजाई थापनाले, हे वसुदेव भट्टराई षत्री, आजदेषि तिम्रो षत्री पद भयो पद रह्यो । ...छिप्कानदीको श्राप लागोस् ।” “...नरीन्द्र राई राजाका दरबारमा जेठो दसै वसुदेव थापाका सन्तानले गराउनु, तसलाई नषोस्नु । अघिबाट निज दसैको पूजा नरीन्द्र राजाका सन्तानको गर्नु, पछिबाट वसुदेव थापाका सन्तानले गर्नु । गर्भ राई भट्टलाई दसैमा सम्पूर्ण दछिना दिनु । ओढन धोति दिनु । १ वोका दसैँको नेग दिनु । यति वन्दवस्त गरि नरीन्द्र राजा समुद्र गढिमा रजाई गरि रह्याका १३ वर्षमा तन्का वावा रणजित राई राजा स्वर्गे भया” भन्ने वर्णन उल्लेख गरेको पाइन्छ । सम्भवतः यो नै दसैँका बारेमा उल्लेख भएको पुरानो वर्णन हुन सक्छ । यस वर्णनमा पाइएका भाषाहरूको आधारबाट यो नेपाल एकीकरणपूर्वकै हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसरी दसैँ धेरै पहिलेदेखि मनाउन थालिएको अनुमान लगाउन सकिन्छ । 

यस वर्षको दसैँ, तिहार, छठ जस्ता चाडहरू आउँदा पनि कतिपयको घर उज्यालो हुन सकेको छैन । उनीहरूका लागि सर्वत्र अन्धकार जस्तै छ । गत असोज दोस्रो हप्ता परेको अवीरल वर्षाले देशका केही भागमा बाढीपहिरो आयो । यस बाढीपहिरोमा कसैले परिवारका सदस्य गुमाए, कसैले घरबार र व्यवसाय नै गुमाउन पुगे । दुई/तीन सय जनाको त मृत्यु नै भयो । कतिका घर बगायो, कतिका खेतीयोग्य जमिन बागायो, कतिका व्यवसाय नै बगायो । बाढीपहिरोमा पर्नेहरूको यति खेर बेहाल छ । कतिपय व्यक्ति त बाढीपहिरोमा अझै बेपत्ता छन् । धेरै मानिस घरबारविहीन बनेका छन् । यस्तो दुःखदायी अवस्थामा आएको दसैँतिहार जस्ता चाडपर्वको के अर्थ ? व्यक्ति, परिवार मात्र नभएर देश नै अहिले रोएको अवस्था छ । यसैमाथि महँगीले आकास छोएको छ । युवाजति विदेशमा छन् । स्वदेशमा रोजगारी छैन । मानिसको गोजी रित्तो छ । आन्तरिक आम्दानी तथा उत्पादन केही छैन । किनेरै जीवन निर्वाह गर्नुपर्ने परिवारको सङ्ख्या अधिक मात्रामा छ । । यस्तो अभाव र विपत्को समयमा आएको चाडपर्वले खुसीभन्दा पनि झनै पीडामाथि पीडा दिन्छन् ।

विपत् परेको बेला उद्धार गर्ने योजना पनि देखिँदैन । यस्तो दुःख र सङ्कटको बेला नागरिकलाई राहतको मलमपट्टि गर्न सक्ने क्षमता सरकारी संयन्त्रमा कहिले बन्ला ? जे जति समस्या आउँछ ती सबैमा विदेशी सहयोगकै भर पर्नु पर्ने अवस्था छ । यस कारण विपत् परेको बेला उद्धार, राहत र पुनस्र्थापनाका लागि स्थायी योजना बनाएर राख्नु पर्छ । उद्योगधन्दा खोलेर आत्मनिर्भर हुने बाटो खोल्नु पर्छ । नत्र भने वर्षैपिच्छे आउने यस्ता विपत्तिमा जनताले धनजन गुमाएर दुःख र पीडा भोग्नु पर्ने छ । गरिबी निवारणका लागि युवाशक्तिलाई देशभित्रै रोजगारी ्रदिन सक्नु पर्छ । 

नेपालीले कहिलेसम्म गरिबी, अभाव र प्राकृतिक विपत्तिमा आँसु बगाएर बाँच्ने ? अतः अब त सरकारमा रहेका र नरहेका राजनीतिक दलका नेताहरूमा भाषणलाई छाडेर नयाँ र दीर्घकालीन तथा दूरदर्शी काम गर्ने विचारको आँखा खुल्नु पर्छ । विकास निर्माणको काम गर्दा विशेपज्ञको गहन अध्ययन अनुसन्धानपछि मात्र काम अगाडि बढाउनु पर्छ, जसले गर्दा प्राकृतिक विपत्तिमा कमभन्दा कम क्षति होस् । सधैँ विदेशी सहयोग र ऋणको भरमा देश चलाउने सोच बन्द गर्न सक्नु पर्छ । देशकै स्रोतसाधन परिचालन गर्ने योजना ल्याउनु पर्छ । युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिएर देशलाई आत्मा निर्भरतातिर लैजानु पर्छ, जसले गर्दा विपत् परेको बेला बाहिरी मुलुकसँग सहयोगका लागि हात फैलाउन नपरोस् । देशमा दलका नेताहरूले जतिसुकै समाजवादको भाषण ठोके पनि आखिर देश त पुँजीवादमै चलेको कुरा त प्रस्ट छ । किनभने यहाँ भात पकाउने चामल मात्र नभएर दाल तरकारी, नुन, तेल, मसलासमेत विदेशमै निर्भर रहनु पर्ने भएको छ । अनि समृद्धि कहाँबाट आउँछ ? यही भएर जबसम्म हामी पुँजीवादलाई छाडेर समाजवादलाई वास्तवमै अँगालेर जान सक्दैनौँ तबसम्म हामीले अझै ठुला र दीर्घकालीन समस्याको सामना गर्दै जानु पर्ने निश्चित छ । अहिलेलाई जे भयो भयो । दैवकै नियती भनेर चित्त बुझाउनुको विकल्प छैन । यस वर्षको अभाव र विपत्को दसैँलगायत चाडपर्व जे जस्तो सकिन्छ त्यही रूपमा मनाउँ । दुःखी नबनौँ । विपत्को आँसु पुछेर भए पनि हाँस्न कोसिस गरौँ । 

Author

डा. खगेन्द्र राई (साम्पाङ)