• २४ कात्तिक २०८१, शनिबार

प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

blog

नरैनापुरको स्वास्थ्य शिविरमा बिरामी जाँच गर्दै प्रहरी विशेषज्ञ चिकित्सक । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २३ गते । दसैंजस्तो ठुलो चाडपर्व चलिरहेकै बेला बाँकेकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

चाडपर्वको समयमा सबैले स्वस्थ्य भएर पर्व मनाउन पाउन भन्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज र नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनामा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहका अनुसार लुम्बिनी प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीद्वारा बिरामीको परीक्षणसँगै निःशुल्क औषधीसमेत वितरण गरिएको सो शिविरमा ४१६ जनाको निःशुल्क उपचार गरिएको बताउनुभयो ।

उहाँले विशेषज्ञ चिकित्सक आएको थाहा पाएर विभिन्न वडाबाट बिरामीहरु उपचारका लागि शिविरमा पुगेको बताउनुभयो । स्वास्थ्य शाखाका अनुसार विभिन्न रोगसँग सम्बन्धित लुम्बिनी प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसूतिरोग, शल्यचिकित्सा, चर्म तथा यौनरोग, बालरोग, दन्तरोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, ड्रेसिङ, इसिजीलगायतका सेवा प्रदान गरिएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्वास्थ्य उपचार सेवामा पछाडि परेको यस पालिकामा समय समयमा हुँदैआएका यस्ता निःशुल्क स्वास्थ्य शिविरबाट धेरै स्थानीयले उपचार सेवा पाइरहेको बताउनुभयो । 

उहाँले स्वास्थ्यलगायत अन्य विभिन्न क्षेत्रमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्न नरैनापुर गाउँपालिका सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जका प्रहरी उपरीक्षक डा. अच्युतविक्रम हमालले प्रहरी दिवसको अवसरमा चाडपर्वलाई लक्षित गरी पछाडि परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरमार्फत उपचार पर्खिरहेका जनतालाई सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । 

उहाँले स्वास्थ्य सेवाजस्तो आधारभूत सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन् र सबैले चाडपर्वलाई राम्ररी मनाउन पाउन् भन्ने उद्देश्यले प्रहरी अस्पतालले यो शिविर सञ्चालन गरेको बताउनुभयो । 

शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र नरैनापुरका विभिन्न वडाका स्थानीय बासिन्दा गरी ४१६ जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधी वितरण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।