• २० कात्तिक २०८१, मङ्गलबार

फूलपाती भित्र्याउनुको अर्थ

blog

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट शारदीय नवरात्र प्रारम्भ हुन्छ । नवरात्रको पहिलो दिन (घटस्थापना) को जस्तै सप्तमी तिथिको अत्यधिक महत्त्व रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्रीस्वरूप फूलपाती दसैँघरमा भित्र्याइन्छ । हरेक हिन्दु धर्मावलम्बीले फूलपाती  भित्र्याउँदा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका बोटको पातलाई पूजन गरी दुर्गापूजा गरेको स्थानमा लिएर जान्छन् । 

देवीभागवतका अनुसार यी नौ वनस्पतिमा क्रमशः ब्राह्मणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर षोडशोपचार सामग्रीले पुज्ने परम्परा रहेको छ । सत्यगुगमा भगवान् विष्णुले मधु कैटभको वधका निम्ति देवराज इन्द्रले वृतासुर र श्रीरामले रावणको वधका निम्ति नवरात्रको निष्ठापूर्वक व्रत गरेको पौराणिक मान्यता पाइन्छ । फूलपातीका दिन विशेष गरेर विद्याकी अधिष्ठात्री महासरस्वती देवीको पूजन र उपासना गरिन्छ । यस दिन किसान खेतमा गई चन्दन, अछेता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा  भित्र्याउँछन् । साथै यसै दिन गोरखाको दसैँघरबाट ल्याइएको फूलपाती राजधानीको हनुमानढोकामा  भित्र्याउने परम्परागत प्रचलन पनि छ । फूलपातीलाई पूजाकोठामा राखी घटस्थापनाको दिन राखिएको जमरासँगै पूजा गरिन्छ ।

पौराणिक मान्यता अनुसार नवरात्रको सप्तमी तिथिका दिन फूलपातीलाई घरमा भित्र्याउनु भनेको नौ देवीलाई गृह प्रवेश गराउनु हो । नौ प्रकारका फूलपातीले नौ देवीको प्रतिनिधित्व गर्नुका साथै स्वास्थ्य, धन र समृद्धिको पनि प्रतिनिधित्व गर्छन् । त्यसैले फूलपाती  भित्र्याउनु भनेको घरमा सुख, समृद्धि, स्वास्थ्य र धनको प्रवेश गराउनु हो । 

घटस्थापनाबाट प्रारम्भ हुने दसैँ माता दुर्गा भवानीको विशेष पूजाआजा गर्दै मनाइन्छ । घटस्थापनाको दिनबाट घरमा जमरा राखेर सुरु हुने नवरात्री दुर्गा भवानीको पूजा आराधना गर्दै प्रत्येक दिन विशेष रूपमा शक्तिपीठको पूजा र दर्शन गरी मनाउने चलन रहिआएको छ । हुन त नवरात्रको दिनदेखि नै दसैँमय हुने गर्छ तर पनि फूलपातीको दिनबाट साँच्चै दसैँ आएको वातावरण सिर्जना हुन्छ । फूलले फूलको गुच्छा र पातीले फूलका पात भन्ने जनाउँछ । समग्रमा भन्नुपर्दा फूल, पात र त्यसको बोटको सम्मिश्रण हो– फूलपाती । 

नवपत्रिकामा रहने देवी 

फूलपातीका नौ थरी वनस्पतिको सम्मिश्रणलाई नवपत्रिका पनि भनिन्छ । नवपत्रिका केराको बोट, दारिम, धानको बाला, हलेदो, माने, कर्चुर, बेलपत्र, अशोक र जयन्ती समावेश हुन्छन् भनेर माथि पनि भनियो । यी नौ थरी पातीले कुन कुन देवीको प्रतिनिधित्व गर्छन् त ?

केराको बोटले ब्राह्मणी देवीको प्रतिनिधित्व गर्छ । यी देवीले परिवारमा शान्ति प्रदान गर्छिन् । दारिमले रक्तदन्तिका देवीको प्रतिनिधित्व गर्छ । यी देवीको उपासनाले भक्तलाई सत्आशिर्वाद प्राप्त हुन्छ । धानको बालामा माता लक्ष्मीको बास हुन्छ । यिनलाई धनकी देवी र अन्नपूर्णा देवीको नामले अर्चना गरिन्छ । हलेदोमा माता दुर्गाको लालित्य हुने भएकाले त्यसको शोभा बढाई उनले अवरोध अन्त्य गर्छिन् । मानेमा देवी चामुण्डाको बास हुन्छ । यी देवीले दुष्ट र खराबी अन्त्य गर्छिन् । कर्चुरले देवी कालिकाको प्रतिनिधित्व गर्छ । यी देवीले मानव जातिलाई आशिर्वाद प्रदान गर्छिन् । बेलपत्रमा भगवान् शिवको बास हुन्छ । साथै बेलपत्र भगवान् विष्णु र शिवको मन पर्ने फल हो । यसका तीन पत्रमा त्रिदेवको बास रहेको हुन्छ । अशोकको बोटमा देवी शोकरहिताको बास रहन्छ । जयन्तीले कार्तिकी देवीको प्रतिनिधित्व गर्छ । 

यस्ता सामाजिक संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर बाँच्न प्रेरित गर्छ । यस्ता पर्व केवल रमाइलो गर्ने पर्व मात्र होइन, यसका अनेक विशेषता रमहत्त्व पनि छन् । सामाजिक महत्त्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्नका लागि सहयोग गर्छ । धार्मिक महत्त्व पनि छ, जसले शक्ति र सत्यको जित हुन्छ भन्ने सन्देश दिन्छ । भावनात्मक हिसाबले टाढाटाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपु-याउँछ र सुखदुःख साट्ने अवसर पनि हो । आपसी सद्भावको पर्व पनि हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्धतिको एउटा हिस्सा हो । घटस्थापनाको दसौँ दिनमा टीका पर्छ, जुन दिन आफन्त, गन्नेमान्नेबाट टीका र आशिर्वाद थाप्ने प्रचलन छ । यसलाई विजयादशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो ।

समग्रमा भन्नुपर्दा फूलपातीको सामाजिक, धार्मिक र वैज्ञानिक महत्त्व गहिरो र व्यापक छ । सामाजिक रूपमा यसले परिवार र समुदायबिच आपसी सम्बन्ध सुदृढ बनाउने काम गर्छ । दसैँका अवसरमा फूलपातीको विशेष स्थान छ, जसले आपसी सद्भाव र मिलनको भावना झल्काउँछ । धार्मिक पक्षमा, यो देवी दुर्गाको पूजा र शक्ति आराधनासँग सम्बन्धित छ, जसले हाम्रो सांस्कृतिक र धार्मिक परम्परालाई सम्मान दिन्छ । विभिन्न वनस्पतिको प्रयोगले देवीको विभिन्न रूपलाई प्रतिनिधित्व गर्ने मान्यता रहेको छ ।

वैज्ञानिक दृष्टिले, फूलपातीमा समावेश हुने वनस्पति वातावरणीय सन्तुलन कायम राख्न र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छन् । केही वनस्पतिमा औषधीय गुण पनि पाइन्छ, जसले स्वास्थ्य सुधार र रोग प्रतिरोधमा योगदान पु-याउँछ । यसरी फूलपातीले प्रकृति, समाज, धर्म र विज्ञानलाई आपसमा जोड्ने भूमिका निर्वाह गर्छ ।