• २४ कात्तिक २०८१, शनिबार

सिद्धार्थ राजमार्गमा खुल्न थाले चार्जिङ स्टेसन

blog

वालिङ समाचारदाता 

वालिङ, असोज २५ गते  । विद्युतीय गाडीको चाप बढेसँगै सिद्धार्थ राजमार्गमा चार्जिङ स्टेसन खुल्न थालेका छन् । बुटवल पोखरा जोड्ने छोटो राजमार्गमा पछिल्लो समय विद्युतीय गाडी बाक्लै सञ्चालन हुने गरेको छ । विद्युतीय गाडीलाई सहज यात्राको लागि भन्दै स्याङ्जाको गल्याङमा चार्चिङ स्टेसन सञ्चालनमा ल्याइएको सञ्चालक श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–३, बल्पुकमा बुधबारदेखि स्टेसन सञ्चालनमा आएको हो । यसअघि पेट्रोल पम्प सञ्चालन गर्दै आउनुभएका बस्यालले स्टेसन सञ्चालनमा ल्याउनु भएको हो । 

चार्जिङ स्टेसन उद्घाटन गर्दै बुटवल पावर कम्पनी अन्तर्गतको आँधीखोला जलविद्युत् केन्द्रका प्रमुख डोलप्रसाद खरेलले राजमार्गमा गुड्ने इभी गाडीलाई सहज हुने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ स्याङ्जाका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले पेट्रोलपम्पसँगै फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएपछि सबै गाडीको सुविधा एकै ठाउँबाट हुने धारणा राख्नुभयो ।

सञ्चालक श्यामप्रसाद बस्यालले ग्राहकको सुविधालाई ध्यान दिँदै इभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । राजमार्गको लामो दुरीमा चार्चिङ स्टेसन नहुँदा विद्युतीय गाडी मर्कामा थिए । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग हुँदै बुटवल पोखरा चल्ने विद्युतीय गाडीलाई राहत भएको छ ।