• ३० कात्तिक २०८१, शुक्रबार

सुरु भयो चराको आन्तरिक बसाइँसराइ

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, असोज ३० गते । शरद ऋतुको सुरुवातसँगै चराहरूको आन्तरिक बसाइँसराइ सुरु भएको छ । चराको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा वर्षायाम सकिएसँगै चराको आन्तरिक  बसाइँसराइ सुरु भएको हो ।

पूर्वी नेपालको दुई हजारदेखि तीन हजार मिटर उचाइका क्षेत्रबाट चराहरू जाडो छल्न तराई क्षेत्रमा झर्न थालेका छन् । पहाडी क्षेत्रबाट भद्राई, फिस्टा, चुइयाँ र अर्जुन प्रजातिका चरा तराईको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र सो आसपासका क्षेत्रमा आउने गरेको वरिष्ठ चराविज्ञ हेमसागर बरालले जानकारी दिनुभयो ।

तराई क्षेत्रको सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जङ्गल र सिम क्षेत्रमा चराहरू देखिन थालेका छन् । चराविज्ञ बरालका अनुसार पहाडी क्षेत्रमा बच्चा कोरलेपछि जाडो छल्न तराई क्षेत्रमा चराहरू आउने गरेका छन् । असोज लागेदेखि नै पहाडी क्षेत्रबाट आएका आन्तरिक पाहुना चरा तराई क्षेत्रमा देखिन थालेका हुन् । तराईमा आएका चराहरूले आफ्नो आहराका रूपमा हिउँदे बालीमा लाग्ने किराफट्याङ्ग्रा खाएर किसानलाई समेत सहयोग पु¥याउँछन् । केही वर्षदेखि आन्तरिक चरा कम आउँदा तराईमा बालीहरूमा किराहरूको प्रकोप बढी देखिने गरेको चराका जानकारहरू बताउँछन् । पछिल्ला केही वर्षदेखि विभिन्न कारणले चराको आन्तरिक बसाइँसराइ कम हँुदै आएको छ । 

असोजमा आएका पाहुना चरा तराईमा गर्मी सुरु भएपछि फर्कने गर्छन् । तराई झरेको एउटा फिस्टा प्रजातिको चराले मात्र एक दिनमा तीन सयदेखि पाँच सयसम्म किरा खाने गरेकोे नेचर गाइड अनिष तिम्सिना बताउनुहुन्छ । उहाँका अनुसार बसाइँ सरेर आउने अर्जुनक प्रजातिको चराले भुइँमा भएका किराहरू खाने गरेको छ भने चुइयाँ प्रजातिको चराले जङ्गल क्षेत्रको घाँसे भुइँमा पाइने किरा खाने गरेको छ । त्यसै गरी भद्राई प्रजातिको चराले खेतबारीका किरा खाने गरेको छ । खेतका रुख र बुट्यानमा बसेर हिउँदे बालीमा लाग्ने किरा खाने गरेकाले खेतमा लाग्ने किराहरू केही हदसम्म नियन्त्रण हुने बताइएको छ । 

वराहक्षेत्र नगरपालिकाका कृषि प्राविधिक नीरबहादुर राई भन्नुहुन्छ,  “बालीमा लाग्ने किरा चराहरूले खाने हुँदा किराको प्रकोप बालीमा कम हुन्छ ।” खेतबारीमा पहिलाको जस्तो चराहरू देखिन छाडेसँगै बारीमा लगाइएका बालीहरूमा किराको प्रकोप बढ्दै गएको प्राविधिक राईले बताउनुभयो । 

पहिला झुण्ड झुण्ड समूहमा जाडो छल्न आउने आन्तरिक पाहुना चरा केही वर्षदेखि कम आउन थालेका छन् । किरा नियन्त्रणकै लागि खेतबारीमा हालिने विषादीका कारण किरा खाएर बाँच्ने चराको प्रजनन क्षमता कमजोर हुँदै जाँदा चराहरू घट्ने क्रममा रहेको वरिष्ठ चराविज्ञ हेमसागर बराल बताउनुहुन्छ ।