• २३ मंसिर २०८१, आइतबार

पेजर विस्फोटले उब्जाएको प्रश्न

blog

हतियारधारी समूह हिज्बुल्लाहका सदस्यले प्रयोग गरेका तीन हजारभन्दा बढी पेजर गत सेप्टेम्बर १७ मा एकैपटक विस्फोट भए । सो विस्फोटमा नौ जनाको मृत्यु भयो । करिब तीन हजार मानिस घाइते भए । पेजर विस्फोटमा परेर लेबनानका लागि इरानी राजदूत मोजताब अमानीसमेत घाइते भइन् । 

त्यसको भोलिपल्ट हिज्बुल्लाहका सदस्यले बोकेका सयौँ ‘वाकीटकी’ समेत पेजर जसरी विस्फोट भए । यस घटनामा तीन जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भए । यी दुई घटनाले सूचना, सञ्चार र प्रविधिका विषयमा ठूलो चासो र प्रश्न उब्जायो । यस घटनाले सबैलाई स्तब्ध बनाएको छ । 

साधारण प्रविधि भएको पेजर र वाकीटकी उपकरणलाई यस्तो खतरनाक ढङ्गले प्रयोग गर्न सकिन्छ भने भविष्यमा स्मार्ट फोन, कम्प्युटर र अन्य अत्याधुनिक सञ्चार उपकरण पनि यस्तो प्रयोजनका लागि प्रयोग गरिन सक्छन् । विशेषगरी मोबाइल फोन उपकरणहरूमा ह्याकिङ, मालवेयर र रिमोट एक्सेसमार्फत सुरक्षा चुनौती देखिने भएकाले यस घटनाले साइबर सुरक्षाको नयाँ बहस सुरु गराएको छ । 

हिज्बुल्लाहले त्यसअघि मोबाइल फोन प्रयोग गथ्र्यो तर इजरायलले मोबाइल ह्याक गरी लोकेसन ट्र्याक गर्ने जोखिम बढी भएपछि उनीहरूले पेजर बोक्न थाले । यसअघि उनीहरूले देशभर स्मार्ट फोन नष्ट गर्नेदेखि माटोमा गाड्नेसम्मका अभियान चलाएका थिए । 

के हो पेजर ?

पेजर एक प्रकारको ताररहित (वायरलेस) सञ्चार उपकरण हो । यसलाई विपर पनि भनिन्छ । यसमा सिमकार्ड वा मोबाइल फोन नेटवर्क प्रयोग हुँदैन । रेडियो सिग्नलको सहायताले यस डिभाइसबाट लेखोट (टेक्स्ट) र अडियो सन्देश पठाएर सञ्चार गरिन्छ । पेजरमा एउटा सानो स्क्रिन हुन्छ । यसमा केही सीमित किप्याड हुन्छन् । यो उपकरण मोबाइल फोनभन्दा फरक हुन्छ । पेजरले सेलुलर नेटवर्क प्रयोग गर्दैन । यसले रेडियो सिग्नलको माध्यमबाट सञ्चार गर्छ । अहिले पनि पेजरको प्रयोग आपत्कालीन सेवा, अस्पताल र केही समूहले तत्काल सन्देश पठाउन र पाउन प्रयोग गर्छन् । 

मोबाइल फोनमा ह्याकिङको जोखिम देखिएपछि केही सङ्गठनले लोकेसन ट्र्याक नहोस् भनेर पेजर प्रयोग गर्न थालेका छन् । यो साधारण, सुरक्षित र कम ट्र्याकिङ हुने उपकरण भए पनि हाल पेजरको प्रयोग कम भएको छ तर केही विशेष परिस्थितिमा अझै पनि पेजर प्रयोगमा आउने गर्छ । 

पहिलो पटक सन् १९५० मा न्यूयोर्क शहरमा पेजरको प्रयोग गरिएको थियो । त्यसबेला ४० किलोमिटरको दायराभित्र सन्देश पठाउन सकिन्थ्यो । यो सन् १९८० को दशकमा संसारभर प्रयोग हुन थाल्यो । सन् २००० पछि वाकीटकी र मोबाइल फोनले यसलाई प्रतिस्थापन गरे ।  

कसरी पड्किए पेजर ?

पेजर डिभाइस एउटा जटिल खालको ह्याकिङद्वारा विस्फोटन गराइएको ठानियो । कतिपयले पेजरको ब्याट्री तातेर विस्फोट भएको आशङ्का गरे । विज्ञहरूले यस्ता आशङ्कालाई तत्कालै खारेज गरिदिए । जानकारहरूका अनुसार यसअघि पेजरको ब्याट्री पड्किएको वा पेजर ह्याक भएको थिएन । ती पेजर हिज्बुल्लाहको नियन्त्रणमा पुग्नुअघि नै तिनमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने विज्ञहरूको भनाइ छ । 

विज्ञहरूका अनुसार हिज्बुल्लाहसम्म पेजर पुग्नुअगाडि पेजरमा विस्फोटक पदार्थ राखिएको सङ्केत गर्ने प्रमाण फेला परेका छन् । पेजरमा १० देखि २० ग्राम विस्फोटक पदार्थ राखेर रिमोटको माध्यमबाट वा अल्फान्युमेरिक कोडले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।

यसरी पड्किएका पेजर डिभाइसको पछाडिपट्टि ताइवानी कम्पनी गोल्ड एपोलोको नाम छ । ती डिभाइसमा मोडेल नम्बर ‘गोल्ड एपोलो एआर ९२४’ लेखिएको छ तर एपोलो गोल्डले यी मोडेलका डिभाइस आफूले निर्माण नगरेको स्पष्ट पारेको छ । हिज्बुल्लाहका अनुसार उनीहरूले पाँच हजार थान एपोलो पेजर डिभाइस अर्डर गरेका थिए । त्यसमध्ये पहिलो चरणमा सन् २०२४ को सुरुवातमा तीन हजार डिभाइस लेबनान आइपुगे । एपोलोका संस्थापक सु चिङ क्वाङका अनुसार जुन पेजर डिभाइस विस्फोट भएका छन् ती ताइवानमा बनेका होइनन् ।

यस घटनाले विश्वव्यापी रूपमा चिन्ता बढाएको छ । यो घटना केवल पेजर वा वाकीटकी जस्ता उपकरणमा मात्रै सीमित छैन । यसले स्मार्ट फोन, कम्प्युटर र अन्य डिजिटल उपकरणको सुरक्षामा पनि प्रश्न उठाएको छ । यस घटनाले सुरक्षा र गोपनीयताको विषयमा ठूलो बहस सिर्जना गरेको छ । सबैभन्दा खतरनाक हमलाका रूपमा यस घटनालाई हेरिएको छ र विज्ञहरूले उपकरणको विस्फोट नभएर यसमा साइबर हमलाको नयाँ आयाम देखिएको बताएका छन् ।

यस्ता हमलामा परिष्कृत, योजनाबद्ध र अत्याधुनिक प्रविधिहरू प्रयोग गरिएको देखिन्छ । जसले सुरक्षा व्यवस्था र उपकरणहरूको बलियो संरचनामा समेत कमजोरी उत्पन्न गराउन सक्छ । स्मार्ट फोन र कम्प्युटर जस्ता उपकरणलाई पनि साइबर अपराधीहरूले यसरी लक्षित गर्न सक्छन् । पेजर जस्तै मोबाइल डिभाइसलाई पनि विस्फोट गर्न सक्ने भय उत्पन्न भएको छ ।  

–युवामञ्च