• २४ मंसिर २०८१, सोमबार

सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण सुरु

blog

भवनको शिलान्यास गर्नुहुँदै श्रेष्ठ । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक १४ गते । जिल्लाको रामपुर नगरपालिका–४ गैराबारीमा नेवाः सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण सुरु गरिएको छ । नेवारी संस्कृतिमा आधारित ऐतिहासिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सङ्ग्रहालयको भवन निर्माण सुरु गरिएको हो । 

सङ्घीय सरकार र प्रदेश सरकार बाट विनियोजित बजेटमार्फत रामपुर नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको कार्य थालेको हो । सङ्ग्रहालयको लागि एक रोपनी क्षेत्रफलमा तीनतले भव सहितका संरचना निर्माण हुँदैछ । भवनको बुधबार लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति  राजुप्रसाद श्रेष्ठले शिलन्यास गर्नुभएको हो । 

भवनको शिलान्यास गर्दै श्रेष्ठले पर्यटन प्रवद्र्धनसँगै इतिहास र संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । कालीगण्डकी बेंसी क्षेत्रमा बसोबास गर्ने नेवार समुदायको संस्कृतिमा आधारित लोप हुन लागेका वस्तुहरुको सङ्ग्रहका लागि सङ्ग्रहालयको काम अघि बढाइएको बताउनुभयो । उहाँले रामपुरलाई ऐतिहासिक सांस्कृतिक शहरको रुपमा विकास गर्नका लागि अहिले नेवाः सांस्कृतिक सङ्ग्रहालयको काम अघि बढाइएको र अन्य आदिवासी जनजाति समुदायको सङ्ग्रहालय निर्माणको लागि पहल हुँदै आएको बताउनुभयो । 

रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले नयाँ पुस्तालाई पुराना मौलिक संस्कृतिको बारेमा जानकारी दिनका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो । नेवार समुदायको मात्र नभै अन्य जातजाति स समुदायको संस्कृतिलाई पनि समावेश गरेर सङ्ग्रहालय सञ्चालन गरिने बताउनुभयो । नेवाः देय दवू रामपुर नगर समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठले सङ्ग्रहालय निर्माणको काम सम्पन्न गर्नका लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । 

रामपुर नेवाः समाजका सचिव विमल श्रेष्ठले यस वर्ष सङ्ग्रहालय निर्माणको काम दुई चरणमा हुने बताउनुभयो । सङ्घीय सरकारबाट विनियोज भएको १८ लाख र जनश्रमदान गरी २१ लाख १७ हजार ४९६ रुपियाँबाट पहिलो चरणमा र लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रकम २५ लाखको काम ठेक्का बाट दोस्रो चरणमा हुने बताउनुभयो । सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले सङ्ग्रहालयको तीनतले भवनको पहिलो तलामा सभाहल, दोस्रो तलामा सङ्ग्रहालय र तेस्रो तलामा कार्यालय रहने जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा ४६ लाख १७ हजार ४९६ रुपियाँ बराबरको काम हुने बताउनुभयो ।