• २४ मंसिर २०८१, सोमबार

सुझाव समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन

blog

मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रतिवेदन बुझाउँदै समितिका सदस्यहरु । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, कात्तिक २२ गते । सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ । 

समितिले सरोकारवाला सबै निकायसँग छलफल गरेर तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहलाई बुझाएको हो । समितिका संयोजक एवम् नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विकले सो प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । 

सुदूरपश्चिम प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) गत भदौ ४ गते पारित भएपछि समावेशी प्रतिनिधित्वको सवाललाई लिएर थारु, रानाथारुले आन्दोलन गरेका थिए । त्यसको भोलिपल्टै प्रदेश सरकारले ११ सदस्यीय सुझाव समिति गठन गरेको थियो । 

समितिले विशेष गरी ऐनको धारा १८ मा केन्द्रित रहेर १३ वटा बुँदामा संशोधन प्रस्तावसहित प्रतिवेदन तयार पारेको संयोजक विकले जानकारी दिनुभयो । समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शाहले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

निजामती सेवा ऐन बनेको लामो समयसम्म कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्दै उहाँले यो ऐन संशोधन गर्नुपर्छ भनेर सरकारले त्यसलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । ऐन वा नियमावलीमा आवश्यक संशोधनका लागि कानुनी रूपमा प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्रीको भनाइ छ ।