• २५ मंसिर २०८१, मङ्गलबार

छठको अवसरमा मन्त्री पाण्डे जनकपुरधाममा

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे जनकपुरधाममा । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

जनकपुर, कात्तिक २२ गते । मिथिलाञ्चल क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार पवित्र जनकपुरधाम पुगेर छठीमाइको पूजाअर्चना गर्नुभएको छ ।

उहाँले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका व्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्त्व र मैथिली सभ्यता यसको प्रभाव लगायतका विषयमा जानकारी लिनुभएको थियो । सोही क्रममा मन्त्री पाण्डेले प्रसिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गर्नु भएको थियो ।

सो अवसरमा उपस्थित जनप्रतिनिधिलगायतका अगुवाहरूसँग जनपुरका धार्मिक महत्त्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गर्नुभएको थियो ।


साथै उहाँले जनकपुरस्थित विमानस्थलको स्तरोन्नति गरी भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गर्नुभएको थियो ।

मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गर्नुभएको थियो  । विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झण्डोउत्तोलन समेत गर्नुका साथै विमानस्थलम निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठ घाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराउनु भएको थियो ।