• २५ मंसिर २०८१, मङ्गलबार

प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको नाम अनुमोदित

blog

संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक ।

काठमाडौँ, कात्तिक २३ गते । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि अनुमोदन गर्ने भनी आजको बैठकले निर्णय गरेको व्यहोरा जानकारी गराउँछु ।’’

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।