• २५ मंसिर २०८१, मङ्गलबार

निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः नृपध्वज निरौला

blog

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौला शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक २३ गते । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा उहाँले संविधान र कानुनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताउनुभएको हो ।

प्रस्तावित न्यायाधीश निरौलाले न्यायाधीशले न्यायका लागि काम गर्ने भएको उल्लेख गर्दै त्यसमा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने पनि बताउनुभयो । न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने प्रस्तावित न्यायाधीश निरौलाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘संविधान र कानुनले सुम्पिएको काम गर्दा सधैँ प्रिय हुन सकिँदैन । न्यायाधीशले न्यायका लागि काम गर्ने हो । त्यसैले त्यहाँ कुनै आग्रह र पूर्वाग्रह राख्नु हुदैन भन्ने अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग मेरो जिम्मेवारी सम्पादनको क्रममा सदा स्मरणमा रहने छन् । यो सार्वभौम समितिमार्फत म संविधान र कानुनले दिएको जिम्मेवारी निर्भयतापूर्वक र निष्ठापूर्वक सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’’

प्रस्तावित न्यायाधीश निरौलाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन प्रविधि भित्र्याउने कुरामा पनि आफूले जोड दिने बताउनुभयो ।