• २१ मंसिर २०८१, शुक्रबार

सम्झनामा सहिद रामचन्द्र हमाल

blog

नेपालको ऐतिहासिक आर्थिक सामाजिक एवं राजनीतिक इतिहास आफैँमा अध्ययनयोग्य छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, सामाजिक न्याय र जनसरोकार जस्ता तमाम विषयलाई मुख्य मुद्दा बनाएर अघि बढ्ने धेरै व्यक्तिको इतिहास पनि सायद नेपालमै लेखिएको होला । आफ्नो व्यक्तिगत जीवनभन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता र जनताको भलाइका लागि आफ्नो जीवन अर्पण गर्ने व्यक्तिहरूको जन्म नेपालमा विभिन्न ऐतिहासिक कालखण्डमा भएको पाइन्छ । त्यस्तै व्यक्तित्वमध्येका एक हुन् । रामचन्द्र हमाल ।

बुबा परमानन्द विष्ट र आमा जानकीदेवी विष्टको कोखबाट विक्रम संवत् १९८५  असोज महिनामा दार्चुला जिल्लाको लेकम गाँजरी गोकुलेश्वर भन्ने ठाउँमा रामचन्द्रको जन्म भएको थियो । विकट भेगमा पुख्र्यौली पेसा कृषि भए पनि सामान्य परिवारमा जन्मेका हमालको शिक्षादीक्षा सामान्य स्थानीय प्राइमरी स्कुलबाट भएको थियो । माथिल्लो तहको अध्ययन गर्ने त्यति बेला असम्भव जस्तै मानिन्थ्यो । सानैदेखि तीक्ष्ण बुद्धि भएका, निडर, साहसी र फुर्तिलो स्वभावका हमाल कसैको थिचोमिचो अन्याय र अत्याचारको विरुद्धमा तत्कालै कदम उठाइहाल्ने व्यक्तित्वमा गनिन्थे । बिहानीले दिउँसोको सङ्केत गर्छ भने झैँ उनको जीवन सधैँ अन्याय अत्याचार र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्दागर्दै समाप्त भयो ।

कसैलाई अन्याय नगर्नु नडराउनु र अन्याय नसहनु भन्ने किसिमको स्वभाव बुबाबाट पाएका हमाल तत्कालीन राणा शासनको स्थानीय निकाय जस्तै अधिकार प्राप्त मुखिया जिम्वाल तालुकदार आदिबाट गरिब जनताले पाएको हैरानी एवं सास्ती विरुद्धमा आवाज बुलन्द गरेका कारण उनी धेरैका आँखाका कसिङ्गर बनी रहे ।

उहाँले प्रजा परिषद्को सदस्यता बैतडीबाटै प्राप्त गरी राजनीतिमा प्रवेश गरेका थिए । नेपालबाट भागेर ज्यान बचाउन भारतको पिथौडागढ प्रवासी जीवनयापन बिताइरहँदा टङ्कप्रसादको प्रजा परिषद् पार्टी नेपाली कांग्रेसमा समाहित भयो । त्यसपछि स्वतः नेपाली कांग्रेस पार्टीको कार्यकर्तासँग हातेमालो गर्दै अगाडि बढ्ने अवसर उनले पाए । 

२००७ सालको राणा शासन अन्त्यको क्रान्तिमा समेत पार्टीको तर्फबाट अग्रपङ्क्तिमा उभिएर २००७ साल फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा गरिएको जनक्रान्तिले १०४ वर्ष लामो राणा शासनको अन्त्य गरेसँगै हमाल आफ्नै पुख्र्याैली पेसा व्यवसायमा फर्किए । उनकै नेतृत्वमा २०१६ साल वैशाख १ गतेदेखि सञ्चालन हुने गरी गोकुलेश्वरमा हुलाक कार्यालय स्थापना गराए । उनले विसं २०१७  पुस १ गते गोकुलेश्वर स्कुलको स्थापना गराए । गाउँमा पाटी पौवा निर्माण गराए । गोकुलेश्वरको बिच भाग भएर बग्ने चौलानी नदीमा पुल निर्माणमा उनको ठुलो योगदान छ । विकासप्रेमी हमालको सेवाभावबाट स्थानीय सर्वसाधारण आज पनि उनीप्रति श्रद्धाभाव प्रकट गर्छन् । 

विसं २०१७ पुस १ गते तत्कालीन महाराज महेन्द्र वीरविक्रम शाहले बहुदलमाथि प्रतिबन्ध लगाई एकदलीय पञ्चायती व्यवस्थाको सुरुवात गरेसँगै फेरि हमालविरुद्ध आँखा लगाउन थालिसकेका थिए । पञ्चायती विरोधी नेपाली कांग्रेसको प्रचार गर्ने विश्वास विध्वंसकारी कार्य गर्ने भनेर पञ्चायतले बैतडीको गौडामा हमालका विरुद्ध उजुरी दर्ता गरे । सानैदेखि चलाख साहसी र वीर पुरुष हमालले यो कुराको जानकारी पाएपछि फेरि ज्यान बचाउन भनी महाकाली नदीमा पौडी खेली भारततर्फ लागे । त्यतिबेला कांग्रेस भन्नेहरूलाई धरपकड गरी जो जहाँ भए पनि थुनुवामा राखी पञ्चायत व्यवस्था विरोधी ठानेर जेल हाल्ने गरिएको थियो । परिवर्तित राजनीतिले बिपी, सुवर्ण शमशेरलगायतका नेता कार्यकर्ता दिल्ली पिथौरागढ विभिन्न सहरमा अन्तर्राष्ट्रिय तत्व घोषित भई बसिराखेका थिए ।

बैतडी जिल्लाका द्वारिका देवी ठकुरानी, दुर्गा दत्त जोशी, दत्तराम जोशीलगायत नेतासमेत प्रवासी जीवन बिताइरहेका थिए । सम्पूर्ण प्रवासी नेपाली कांग्रेसका कार्यकर्ता एकअर्कासँग सम्पर्कमा रहेर पार्टीका कामकारबाहीमा दत्तचित्त भइरहन्थे । हमाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । 

विसं २०१८ को अन्त्यतिर बझाङ्गी राजा ओब्जङले पनि राजा महेन्द्रको एकदलीय पञ्चायती शासनका विरुद्ध सशस्त्र विद्रोह गर्न र त्यसका लागि नेपाली कांग्रेससँग सहयोग माग्ने निर्णय गरेका थिए । उनको विद्रोहलाई सहयोग गर्न पार्टीको निर्णयबमोजिम हमाल कार्यकर्ता र गोली गट््ठासहित कमान्ड समाल्न बझाङ पुगे । 

बझाङका राजाको हार भएसँगै हमालसँगै बैतडीका बलदेव भट्ट ज्यान जोगाउन त्यहाँबाट भागेर दार्चुलाको मार्मा पुगे । गाउँलेहरूबाट जानकारी पाए अनुसार सेनाले घेराबन्दीमा पारेको स्थितिमा शाही सेनाको गोली लागि ओब्जङको मृत्यु भयो भन्ने हमाल र बलदेव भट्ट भाग्न सफल भए । बलदेव भट्ट र हमाल त्यहाँबाट दार्चुला जिल्लाको खिम्ती भन्ने ठाउँमा पुगे । त्यहाँ भट्टको चिनजान भएका मान्छेहरूको घरमा पुगेर खाना खानको तयारी गर्दा शाही सेना आएको थाहा पाएपछि हमाल महाकाली नदी पारी भारत प्रवेश गरे । भट्ट पक्राउ परे, उनलाई मृत्युदण्ड दिइयो । हमाल भारतको पिथौरागढमा निर्वासित जीवन बिताइरहेको बिपी, सुवर्णशमशेरलगायतका नेताहरूसँग मेलमिलापको सम्झौता भएपछि स्वदेश फिर्ता भए । 

विसं २०२५/२६ को सम्झौता अनुसार राजा महेन्द्रको पञ्चायती व्यवस्था स्वीकार गर्न र राजाबाट नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आममाफी दिने निर्णय भयो । विसं २०२७ मा सरकारले गाउँ पञ्चायतको निर्वाचनको घोषणा ग¥यो । जनप्रिय व्यक्तित्व हमाल पनि पञ्चायतको निर्वाचनमा उम्मेदवार बने । निर्वाचनमा विजय हासिल गरे । प्रतिपक्षीले हमालको जित स्वीकार गर्न गाह्रो मानिरहे । अन्ततः जननिर्वाचित प्रतिनिधिसँग केही लाग्ने कुरा भएन । 

विकासको मार्ग प्रशस्त गर्न पनि हमाल जिल्ला पञ्चायत दार्चुला पुगेर तत्कालीन जिल्ला पञ्चायत सभापतिले दिन सक्ने दुई हजारदेखि पाँच हजार सम्मको रकम हुन्थ्यो । त्यो पनि मनाउन सकेमा सभापतिले बजेट दिने चलन थियो । त्यो रकमले नपुग्ने भनेर हमाल रित्तो हात घर फर्किए । विसं २०२८ फागुन २६ गते काठमाडौँको भूगोल पार्कबाट पञ्चायती व्यवस्थाको विरुद्ध भाषण गर्दै गर्दा उनलाई पक्राउ गरियो । हमाललाई तत्कालीन सरकारले काठमाडौँको सेन्ट्रल हुँदै नक्खु जेल सारी कैद गरेको थियो । केही दिनको जेल जीवनपछि छुट्ने भन्ने विश्वास परिवारलाई हमालले गराएका थिए । विसं २०३०÷६ महिना ९ गते नक्खु जेलमा नै उनको रहस्यमय मृत्यु भएको भन्ने खबर जानकारी हमाल परिवारलाई गराइयो । उनको जीवनमा पूर्णविराम लगाइयो । 

२०३६ सालमासेती महाकालीका ३१ जना राजनीतिक पीडितको बसोबास गराउने भनी प्रजा परिषद्का नेता कार्यकर्तालाई सरकारले जग्गा धनी पुर्जा दिने निर्णय ग¥यो । जस अनुसार हमाल परिवारलाई कैलालीको धनगढी जुगेडा भन्ने ठाउँमा जग्गा प्रदान गरियो । २०५१ सालमा कृष्णप्रसाद भट्टराईको आयोगले रामचन्द्र हमालका परिवारलाई एक लाख नगद प्रदान ग¥यो भने घर जग्गासहित सर्वस्वहरण भएकोमा आठ हजार रुपियाँ प्रदान गरियो । 

सहिद रामचन्द्र हमालको त्याग बलिदान राष्ट्रप्रेम समाजसेवा र प्रजातन्त्रप्रतिको निष्ठापूर्ण लडाइँ र इमानदारीको मूल्याङ्कन गर्दै विसं २०७४ मा दार्चुला जिल्लाको गोकुलेश्वरमा सहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठान स्थापना दर्ता गरी कार्यालय स्थापना गरिएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै राष्ट्र, राष्ट्रियता सर्वोसत्ता निष्ठावान् ज्ञात अज्ञात सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै आएको छ । 

सुदूरपश्चिमका चम्किला तारा न्यायप्रेमी मानवतावादी स्वतन्त्रताका प्रतिमूर्ति समाजसेवी हमालको त्याग र बलिदानमा जुन परिवर्तन भए त्यसको अमृत फल आज सम्पूर्ण देशवासीले महसुस गर्ने पाएका छन् । आज देशमा लोकतन्त्र प्रजातन्त्र हुँदै सङ्घीय गणतन्त्रको अभ्यास भइरहँदा हरेक नेपालीका मन मुटु र धड्कनमा सहिदका सपना छरिएका छन् । आज हामी गणतन्त्र नेपालका स्वतन्त्र नेपाली हुन् पाएका छौँ । वीर सहिद रामचन्द्र हमालप्रति हार्दिक श्रद्धासुमन !   

Author

रामदत्त भट्ट