• २७ मंसिर २०८१, बिहिबार

लुम्बिनीको गौरवका आयोजना प्राथमिकतामा

blog

गणेश खनाल

अर्घाखाँची,कात्तिक २४ गते । लुम्बिनी प्रदेश सरकारले गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको हो । 

प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाइमा पुगाउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ ।

प्रदेश गौरवका आयोजनाको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौँ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवसाथ अघि बढाएको छ ।’ स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधा सम्पन्न १२ तले एक हजार दुई शय्या रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ । 

६ अर्ब १८ करोड रुपियाँ बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको छ । यो अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हबको रूपमा विकसित हुने सरकारको विश्वास छ । अहिले देखिएको उपचारका जटिलताहरू समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।

प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपियाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय रहने गरी काम तीव्र रूपमा अघि बढेको छ । २०८२ सालभित्र निर्माण सम्पन्न हुने लक्ष्यसहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ । १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न पहल लिएको जनाएको छ । 

बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषिलगायत अध्यापन गराइँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्ने सरकारको योजना रहेको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रूपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रूपमा अघि बढाउँदै बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाएको जनाएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ मा पाल्पाको रामपुरदेखि पश्चिमउत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण सुरु गरेको हो । 

चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तीव्रता दिनेगरी काम अघि बढेको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो । यस वर्ष सडक निर्माणका लागि बजेट रहेको समेत जानकारी दिनुभयो । करिब तीनसय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले हेर्दै आएको छ ।