• २७ मंसिर २०८१, बिहिबार

घुम्थाङमा तीन करोड लागतमा गुम्बा निर्माण

blog

बाह्रबिसे नगरपालिका–७ घुम्थाङको दुर्गम गाउँमा नवनिर्मित श्री नेपाल फाम्तिङ गुम्बा उद्घाटनपछि ।

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक २४ गते । बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा निर्माण सम्पन्न भएको छ । उक्त नगरप्रमुख बालकृष्ण बस्नेतले गुम्बाको उद्घाटन गर्नु भएको हो । 

नगर प्रमुख बस्नेतले स्थानीयको आस्था र विश्वासमा जोडिएका सबै धर्म सम्प्रदाय, संस्कृति, पुरातत्त्वलाई संरक्षण र प्रवर्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । नवनिर्मित गुम्बा ठडिएको स्थानमा रहेको पुरानो गुम्बा भूकम्पले ध्वस्त बनाएपछि अहिले नयाँ गुम्बा निर्माण भएको छ । 

तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग र स्थानीय आदिवासी, जनजाति नागरिकबाट श्रमदान, चन्दा सहयोगबाट उक्त गुम्बा निर्माण भएको छ । सोही वडाका समाजसेवी कुइसाङ लामाको पहलमा गुम्बा निर्माण भएको हो । गुम्बाको घेराबार, आँगन व्यवस्थापन, बँगैचा लगायतका संरचनामा नगरपालिकाले सहयोग गर्ने मेयर बस्नेतका सहयोगी कृष्ण रुम्बा तामाङले बताउनुभयो ।  

उद्घाटन कार्यक्रममा घुम्थाङ आइपुग्नु भएका तिब्बती रिम्पोछे तेन्जिङ पालजोरले नगरप्रमुख बस्नेत, जनप्रतिनिधि, राजनीतिक दलको प्रतिनिधि र सर्वसाधारणलाई बौद्ध धर्म प्रचार र धर्म बोधका लागि आग्रह गर्नुभयो । उक्त गुम्बा निर्माण गर्न चिनियाँ लामाहरू घुम्थाङ कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।  

भोटेकोशी गाउँपालिका–१ लिस्तिमा भारत सरकारको ९ करोड ८३ लाख आर्थिक सहयोगमा चारसय वर्ष पुरानो ज्याङूतेर लिस्ति पावो गुम्बा पुनर्निर्माण जारी छ । सो गुम्बा २०८२ फागुनभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।