• २३ मंसिर २०८१, आइतबार

तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता : ६४ चिनियाँसहित १२ सयभन्दा बढी सहभागी

blog

दौडमा सहभागी खेलाडीहरु । तस्बिरः रमेश पौडेल

रमेश पौडेल
पोखरा, कात्तिक २४ गते । 
हिमालयन टुरिजम फोरमको आयोजनामा सुरु भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले पोखराको बाराहीघाट शनिबार शुभारम्भ गर्नुभएको छ ।

युनान खेल ब्युरोको महानिर्देशक याङ जोङ वाको नेतृत्वमा पोखरा आएका ६४ चिनियाँ धावकसहित १२ सयभन्दा बढी धावक सहभागी भएका छन् ।

प्रतियोगितामा खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र÷छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिस्पर्धा जारी रहेको छ ।

पोखरा लेकसाइडबाट सुरु भएको ५० किलोमिटर दूरीको समूहगत दौड दुई हजार दुई सय ५८ मिटर उचाइसम्मलाई फन्को मारेर वाराही घाटमै आएर समापन हुने छ ।

बाराहीघाट, राष्ट्रबैंकचोक, बिरौटा छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुने आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । यो प्रतिस्पर्धाका सहभागीले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने पालिखेले बताउनुभयो ।

यसैगरी, च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुने छ । वाराही घाटबाटै सुरु भएको यस विधामा खेलाडीले दुई हजार ३६६ मिटरको उचाइसम्मको दूरी पार गर्नुपर्नेछ । जसमा एक सय जना नेपाली र ५२ जना चिनियाँ गरी कुल एक सय ५२ जना खेलाडी प्रतिस्पर्धामा सहभागी भएको मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिनुभयो ।

त्यस्तै, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले ५ किलोमिटर दौडमा सहभागी भएका छन् । पाँच सयभन्दा बढी विद्यार्थीले यस विधामा सहभागिता जनाएका छन् ।

प्रतियोगिताको आकर्षणका रूपमा ह्याप्पी रन दौड समेत भएको छ । प्रतियोगितालाई रमणीय र आकर्षक बनाउने उद्देश्यले राखिएको सो प्रतिस्पर्धा २ किलोमिटरको रहेको थियो । जसमा प्रमुख अतिथि पर्यटनमन्त्री पाण्डे, राजदूत छेङसहित झन्डै ६ सय जनाले सहभागिता जनाउनुभएको थियो ।

प्रतियोगिताको समूहगत विजेताले चार लाख ५८ हजार चार सय रुपियाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपियाँ, तृतीय हुनेले दुई लाख २९ हजार दुई सय रुपियाँ, चौथो हुनेलाई एक लाख ५२ हजार ८ सय रुपियाँ र पाँचौँ हुनेलाई ९५ हजार पाँच सय रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

च्यालेन्ज इण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुवै तर्फको विजेताले एक लाख ५२ हजार ८ सय, उपविजेता दुवै तर्फकाले एक लाख १४ हजार ६ सय, तृतीय हुने दुवै तर्फकाले ७६ हजार चार सय, चौथोदेखि सातौँसम्म हुने दुवै तर्फका प्रत्येकलाई ३८ हजार दुईसय र आठौँदेखि दसौँ स्थानसम्मका दुवै तर्फकालाई जनही १९ हजार दुई सय रुपियाँ प्रदान गरिनेछ ।

विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका विजेताले समान ३० हजार रुपियाँ, उपविजेता बनेका दुवैतर्फकाले २५ हजार रुपियाँ, तृतीय हुने दुवै तर्फकाले २० हजार तथा चौथोदेखि छैटौँ स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपियाँ प्रदान गरिनेछ ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि नेपाल सरकारले प्रक्रिया अगाडि बढाइरहेको बेला छुटका प्याकेज समेत घोषणा गरिसकेको अवस्थामा निजी विमान कम्पनीहरूले उडान भर्न आग्रह गर्नुभयो ।

चिनियाँ राजदूत छेङले खेलकुदको माध्यमबाट नेपाल र चिनको सम्बन्धलाई बलियो बनाउनुको साथै पोखरामा चिनियाँ पर्यटक आउनका लागि प्रेरित हुने बताउनुभयो ।

त्यस्तै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभयो ।