• २७ मंसिर २०८१, बिहिबार

साइकल मार्ग बनाउन एडिबीले एक अर्ब लगानी गर्ने

blog

बिहीबार भएको छलफलका सहभागीहरु ।

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २९ गते । पोखरा महानगरपालिकामा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल मार्ग बनाउन एसियाली विकास बैंक (एडिबी) ले एक अर्ब लागनी गर्ने भएको छ । 

पर्यटन राजधानी पोखराका तालहरूलाई एकापसमा जोड्नेगरी दुई रुटहरूसहित विभिन्न स्थानमा कनेक्ट रुटको निर्माण गरिने भएको छ । यी रुटको लम्बाई करिब ८५ किलोमिटर हुने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । बिहीबार साइकल मार्गको गुरुयोजनाबारे छलफल भएको छ । नगर प्रमुख आचार्यले लेक टु लेक जोड्ने साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“यसले संसारभरका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्ने छ, पर्यटकलाई हिमाल हेर्दै ताल किनारमा साइक्लिङको आनन्द प्रदान गर्ने छ” उहाँले भन्नुभयो । यो मार्ग पोखराको पर्यटन विकासमा यो कोशेढुंगा साबित हुने आचार्यको दाबी छ ।

पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको छ । गुरुयोजनाको प्रारम्भिक छलफलमा पोखरामा रहेका पर्यटन क्षेत्रका विज्ञसहित सरोकारवालाको सहभागिता थियो । 

पोखरा उपत्यकामा फेवा, बेगनास, रुपा, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र कमल पोखरी ताल छन् । यी ताललाई जोड्ने पर्यटन विकास र आर्थिक समृद्धिका विभिन्न उपायबारे बेला बेलामा छलफल हुँदैआएको छ ।