• २३ मंसिर २०८१, आइतबार

कम उमेरमै देखिन थाल्यो मधुमेह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३० गते । वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।

१८० जना ओपिडीमा आउने बिरामीमध्ये सय जना बिरामी मधुमेह (चिनीरोग) भइसकेका आउने गरेका छन् । वीर अस्पतालको यही तथ्याङ्कले नेपालमा मधुमेहको अवस्था भयावह छ भनेर आकलन गर्न सकिन्छ । वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. बुद्ध कार्कीले नेपालमा मधुमेह रोगको स्थिति भयावह बन्दै गएको बताउनुभयो ।

 “पहिले पहिले ६० वर्ष उमेरमा देखिने मधुमेह अब १५/२० वर्षकै उमेरमा देखिन थालेको छ,” डा. कार्कीले भन्नुभयो, “अबको केही वर्षमा नेपालमा मधुमेहको अवस्था जटिल बन्दै जाने छ ।” उहाँका अनुसार वीर अस्पतालमा आउने बिरामीमध्ये १० देखि १५ प्रतिशत मधुमेहका बिरामी ३० वर्षमुनिका छन् । मधुमेह सम्बन्धमा नेपालको राष्ट्रिय तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित १० प्रतिशत जनसङ्ख्यालाई मधुमेह छ । 

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले बिरामीले राम्रो स्वास्थ्यकर्मी नपाएको कारण मधुमेह बढेको जानकारी दिनुभयो । उहाँले १५/२० वर्षको उमेरमा मधुमेह देखिएको भन्दै जीवनशैली सुधार्न सकिएन भने मधुमेहले अवस्था जटिल गराउने बताउनुभयो । “मधुमेहले मिर्गौला फेल हुने, आँखा नदेख्ने, घाउ निको नहुनेलगायतका समस्या देखा परिरहेको छ,” डा. भट्टराईले भन्नुभयो, “मधुमेहलाई नियन्त्रणमा राख्न स्वास्थ्यकर्मी र बिरामी सजग बन्नै पर्छ ।” डा. भट्टराईका अनुसार पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुस गर्ने, शरीरमा घाउचोट देखिएर निको नहुने जस्ता लक्षण मधुमेहमा हुन्छ । 

उहाँले नेपालमा मधुमेह बढ्नुमा बिरामीमैत्री अस्पताल नहुनु प्रमुख समस्या रहेको बताउनुभयो । विकासोन्मुख देशमा मधुमेहको समस्या जटिल बन्दै गइरहेकाले सरकार, बिरामी, स्वास्थ्यकर्मी, नागरिकले यसबारेमा सचेत हुनुपर्ने उहाँको भनाइ छ । मधुमेह टाइप १ र टाइप २ गरी दुई प्रकारका हुने जानकारी दिँदै उहाँले टाइप १ कम उमेरमा देखिने बताउनुभयो । टाइप २ मधुमेह विशेष गरी ४० वर्षमाथि उमेर समूहलाई हुने भन्दै टाइप २ मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने र जटिल अवस्थामा पुर्‍याउने बताउनुभयो । उहाँले टाइप २ मधुमेह १५/२० वर्षमै देखिन थालेको जानकारी दिनुभयो ।