• ६ माघ २०८१, आइतबार

कुकुरको बहु उपयोग

blog

मानिसको सहयोगी जनावर कुकुरलाई हरेक वर्ष यमपञ्चकका अवसरमा पूजा गरिन्छ । मानिससँगको सामीप्य, उपयोगिता र वफादारिताका कारणले मानिसको सदैव प्रिय जनावरका रूपमा कुकुरलाई हेरिन्छ । 

मानिसले आवश्यकताका आधारमा गाई, भैँसी, घोडा, भेडा, कुखुरा, हात्ती पाले पनि वफादार तथा सुरक्षासँगै शिकारमा समेत सहयोगी हुने भएकाले कुकुरलाई पालिने गरिएको छ ।

मानव उद्विकासको आरम्भिक कालखण्ड शिकारबाट सुरु भएकाले आफ्नो सुँघ्न सक्ने, शत्रुको पहिचान गर्न सक्ने र शिकार गर्न सक्ने गुण भएको तथा मासु मात्रै नभएर मानिसले खाने शाकाहारी भोजन पनि खाने भएकाले कुकुर मानिसको साथसाथै विकसित भएको छ ।

आर्य संस्कृतिमा कुकुरको महत्व स्पष्टसँग लेखिएको छ । ज्योतिष प्रमोद भट्टराई यमपञ्चकमा कुकुर तिहारको महत्व रहेको बताउँछन् । कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्व रहेको उनको भनाइ छ । उनको कथन छ, “कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको प्रिय भक्त हो ।”

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन अपराधी पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसै गरी कुनै प्राकृतिक प्रकोपका बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।

ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’ विषय उल्लेख गरिएको छ । समरा अर्थात् कुकुरकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको कुरा वेदमा पढ्न सकिन्छ । महाभारतमा युधिष्ठिरले आफ्नो भक्त कुकुरबिना स्वर्गमा जान नमानेको तथा चाणक्य नीतिमा कुकुरलाई पातलो निद्रा भएको वफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।

कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नस्ल किनबेच हुन्छन् । अझ विकसित देश, शहरमा कुकुरलाई घरको अभिन्न सदस्य झँै राख्ने गरिएको पनि देख्न सकिन्छ । नेपालको पहाडी र हिमाली भेगमा भोटेकुकुरले भेडा र चौँरीको रेखदेख गर्छन् । हिमचितुवाबाट जोगाउन भोटेकुकुरको प्रयोग गरिँदै आएको छ ।

नेपालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धानमा कुकुरको प्रयोग हुने गरेको छ । नेपाल प्रहरीमा अपराध अनुसन्धानमा कुकुर प्रयोग भइरहेको पाँच दशक पूरा भइसकेको छ । नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका अनुसार नेपाल प्रहरीले २०२६ सालबाटै ‘डग सर्भिस’ सुरुवात गरेको थियो ।

विश्वमा पाइने १८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हान्ड र डच सेफर्ड गरी आठ प्रजातिका एक सयभन्दा धेरै कुकुर छन् ।

प्रहरीले ९६ कुकुरलाई ट्र्याकर डग, एक्सप्लोसिभ डग, सर्च एन्ड रेस्क्यु डग, ड्रग्स सर्च डग गरी चार विधामा विभाजित गरेर प्रयोग गर्दै आएको छ ।

नेपाल प्रहरीले प्राकृतिक विपत्तिको समयमा हराइरहेका मान्छेको खोजीमा सर्च एन्ड रेस्क्यु डग, आगूऔषध पत्ता लगाउन ड्रग्स सर्च डग तथा ‘ट्र्याकर डग’ लाई हत्या, अपहरण, बलात्कार जस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गर्दछ । भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारुद, विस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिभ डग’ प्रयोग गरिने गरिएको छ ।

नेपाल प्रहरीको केनाइन महाशाखाका अनुसार “कुकुको ‘ब्रिड’ अनुसार नै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ ।” प्रहरीले भारत, थाइल्यान्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याउने गरेको छ । 

ती छाउरालाई छ महिना पुगेपछि तालिम दिन सुरु गरिन्छ । विभिन्न जातका कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छ ।

प्रहरीका कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ । पाँचदेखि १० वर्षसम्म कुकुरलाई अनुसन्धान कार्यमा खटाउने गरिन्छ । निवृत्त भएका कुकुरलाई लिएर जाने अधिकार तालिम दिने व्यक्तिलाई हुन्छ । उनले लिन नमानेमा नेपाल प्रहरीकै कर्मचारीलाई जिम्मा लगाइन्छ ।

तालिम लिएका कुकुरलाई जथाभावी खानेकुरा खुवाउने गरिँदैन । उनीहरूलाई दैनिक छ सय ग्रामका दरले डग फुड खुवाउने गरिन्छ । नेपाल प्रहरीले २०२६ सालदेखि कुकुरको प्रयोग गर्दै आएको हो । त्यतिबेला कुकुरलाई अपराध अनुसन्धान तथा खोज कार्यमा प्रयोग गर्ने बारेमा तालिम लिन पाँच प्रहरीलाई मलेसिया पठाइएको थियो । तालिमसँगै उनीहरूले चार वटा कुकुर ल्याएका थिए ।

२०३२ सालबाट नेपाल प्रहरीमा कुकुरका लागि छुट्टै शाखा स्थापना गरियो । कुकुरको तालिम व्यवस्थापन र खानपानका लागि भनेर १० प्रहरीको दरबन्दी नै कायम गरियो । २०४७ सालमा कुकुर तालिम केन्द्र स्थापना गर्नुका साथै तत्कालीन पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापना गरिएको थियो ।

कुकुर पाल्ने बढे

कुकुर पाल्दै आएका प्रदीप द्यौगडा शहरी क्षेत्रमा कुकुर पाल्नेहरूको सङ्ख्या वृद्धि भएको बताउँछन् । काठमाडौँसहित नेपालका ठूला शहरमा कुकुर पाल्नेको सङ्ख्या बढेसँगै उनीहरूले २०६५ सालबाटै बनेपामा ब्रिडिङ व्यवसाय गरेर कुकुरका छाउराछाउरी बेचबिखन गर्दै आएका छन् ।

शहरमा कुकुर पाल्नेको सङ्ख्या बढेसँगै कुकुरको रेखदेख गर्नेे, आवश्यक भोजन खुवाउने, नियमित रूपमा परीक्षण गर्ने पेट केयर सेन्टरले पनि राम्रो मुनाफा कमाउन थालेका छन् । यस्तै कुकुरको खाना र किनबेचमा करोडौँ रुपियाँको कारोबार हुने गरेको छ ।   

–युवामञ्च