• २० असोज २०८१, आइतबार

आत्मनिर्भरताको विकल्प कृषि

blog

आर्थिक वर्ष २०७८/७९ देशको अर्थतन्त्रको पाटो उत्साहप्रद हुन सकेन । यो आवको समय करिब दुई महिना रहेकाले बजेटले लिएको लक्ष्य पूरा हुने अवस्था देखिँदैन । अर्थतन्त्रको अवस्था बिग्रने सङ्केत चालू आ.व.को सुरुवातदेखि नै देखापरेको थियो । सुधारका पहल भए पनि आर्थिक वर्षको नवाँै महिनासम्म आइपुग्दा अर्थतन्त्रका सबैजसो सूचकाङ्कमा अपेक्षित सुधार हुन सकेन ।

बैङ्किङ क्षेत्रको तरलतामा सङ्कुचन, उच्च आयात, बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण आप्रवाह, न्यून पूँजीगत खर्च, मूल्यवृद्धि जस्ता समस्याले हाम्रो देशले पनि श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता थप्यो । आयातको अवस्था हेर्दा कृषिजन्य वस्तु निरन्तर उकालो लाग्नुले हाम्रो देश परनिर्भरतातर्फ लाग्दैछ भन्ने सङ्केत गर्छ । 

क्षेत्रफलको हिसाबले नेपाल सानै भए पनि जलवायु विविधताका कारण विश्वमा हुने सबैजसो कृषि तथा पशुपन्छीजन्य उत्पादनको सम्भावना हुँदाहुँदै अयातमा परनिर्भर हुँदै जानु विडम्बना नै हो । भन्सार विभागको पछिल्लो नौ महिनाको विवरणमा तीन करोड ६४ लाख ७२ हजार मूल्य बराबरको दुई लाख चौध हजार लिटर मोहीसमेत आयातको सूची सार्वजनिक भएपछि यो तथ्यले देशको कृषि क्षेत्रलाई मजैले गिज्याएको छ । धान, चामल, तरकारी, फलफूलजस्ता वस्तु आयात भइरहँदा अब आश्चर्य मान्नु नपर्ने भयो ।

कृषि क्षेत्रको विकासका लागि सरकारले २०५१ देखि लागू गरिएको २० वर्षे योजना २०७१ मा सकिएको छ । त्यसपछि २०७२ देखि २०९२ सम्मको बीसवर्षे कृषि विकास रणनीति पनि बनाइयो । र, यो योजनाको पहिलो चरणको १० वर्षे योजना पनि कार्यान्वयनमा ल्याएको आधा दशकभन्दा बढी भइसकेको छ । अर्कोतर्फ कृषिमा आधुनिकीकरण गर्ने परिकल्पना साथ कृषि विकास रणनीतिलाई सहयोग पु¥याउन आर्थिक वर्ष २०७३/७४ देखि सुरु गरिएको दसवर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पनि आधाजसो समय सकिएको छ । तापनि कृषि क्षेत्रमा अपेक्षा गरिए अनुरूपको उपलब्धि प्राप्त हुन सकेको छैन । 

पछिल्ला केही वर्षयता पूर्वाधार विकास तथा नयाँ प्रविधिको प्रवेशले कृषि व्यावसायीकरणतर्फ उन्मुख भएको देखिए तापनि अझै खाद्यान्न बालीमा न्यून उत्पादकत्वको अवस्था कायमै छ । कृषि वस्तुको चुलिँदो आयातले ठूलो आशाका साथ ल्याइएको कृषि विकास रणनीति पनि विगतको जस्तै केवल दस्तावेजमै सीमित हुने हो कि भन्नेछ । कोभिड १९ को महामारीको सङ्क्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउने क्रममा बाध्यतावश लागू गर्नुपरेको बन्दाबन्दीका कारण विश्वकै अर्थतन्त्र खलबलिन पुग्यो । कोरोनाको एकपछि अर्को लहरको त्रास कायमै छ ।

महामारीको समयमा जीवन जिउनका लागि स्वस्थ्यका साथसाथै खाद्यान्नबाहेक अन्य आवश्यकता गौण भएको अनुभूति सम्पन्न परिवारले समेत भोग्नुपरेको अवस्था आएकै हो । विश्वव्यापीकरणको युगमा आर्थिक तवरले देशहरू एकअर्कासँग अन्तरसम्बन्धित भए पनि विषम परिस्थितिमा स्थानीय रोजगारी र उत्पादन नै महìवपूर्ण हुने पाठ कोरोनाले सिकाएकै हो । सोहीबमोजिम कोरोनाको पहिलो र दोस्रो लहरको महामारीको चपेटामा पर्दै गर्दाको आर्थिक वर्ष २०७७/७८ एवं ७८/७९को बजेट र मौद्रिक नीतिमा कृषिका विविध कार्यक्रमहरू प्रतिविम्बित भए । 

बजेटमा भूमिको पहुँच नभएकाका वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा अवसर प्रदान गर्न तीन सय स्थानीय तहमा भूमि बैङ्क एकाइ स्थापना, २०० मा खाद्य भण्डारण केन्द्रको स्थापना गरियो । यस्ता केन्द्रमार्फत कृषकको खाद्यान्न खरिद विक्रीको व्यवस्था, सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण, खाद्यान्न सञ्चयका लागि खाद्य बैङ्क, प्रदेशस्तरमा एक एक वटा बृहत उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमुनाको रूपमा सञ्चालनका साथै मल, बीउ, सिँचाइ, पुँजी एवं कृषि उपजमा मूल्य सुनिश्चिता, कृषि कर्जा तथा बीमा पहुँच विस्तारजस्ता कार्यक्रमहरू प्रमुखताका साथ प्रस्तुत गरिएका थिए । 

हालै संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८९/८० को बजेटका सिद्धान्त तथा प्रथमिकतामा समेत उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई आर्थिक समृद्धिको आधारको रूपमा लिई कृषि विकासका मुद्दाहरू समेटिएकाले आउँदो जेठ १५ मा पनि कृषकलाई हौसाउने खालकै बजेट आउनेमा सन्देह रहेन ।

बजेट तथा विभिन्न योजना तथा कार्यक्रम आउँदा अब केही हुन्छ कि भन्ने उत्साह सबैमा थपिन्छ तर कार्यान्वयनको पाटोमा देखिने सुस्तताले भने निराश बनाउने गर्छ । बजेटभन्दा मौद्रिक नीतिका व्यवस्थाहरू चाँडै कार्यान्वयनमा आउने गरे पनि कृषकले सहज र सरल रूपमा कर्जा पाउन नसकेको गुनासो आउन छाडेको छैन । कृषि कर्जा प्राप्त गर्न पूरा गर्नुपर्ने कागजी प्रक्रिया नै कृषकहरू झन्झटिलो महसुस गरिरहेको पाइन्छ । अर्कोतर्फ कृषि तथा पशुपन्छीको उत्पादन चक्र फरक हुनाले उद्योग वा व्यापारमा जस्तो सञ्चालन पुँजी आकलन व्यवस्था उपयुक्त नहुने भएकाले यसलाई समेत स्पष्ट पार्न जरुरी छ । 

कृषि कर्जा प्रवाहलाई प्रभावकारी बनाउन बैङ्क कर्मचारीका लागि कृषि कर्जामा क्षमता अभिवृद्धि अपरिहार्य देखिएको छ । यसका लागि कृषि विकास बैङ्क मातहत रहेका तालिम केन्द्रहरूलाई प्रयोगमा ल्याउन ढिलाइ गर्न भएन । कृषि कर्जा लगानीमा एकरूपता ल्याउन र सहजीकरण गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले कर्जा प्रवाह गरिने बाली र पशुपन्छी पिच्छे प्रतिएकाइ उत्पादन लागत विवरण बैङ्कलाई उपलब्ध गराउने व्यवस्था हुनुपर्छ । यसको अभावमा एउटै प्रकृतिका कृषि परियोजनामा फरक फरक रकमको कर्जा प्रवाह हुने गरेको पाइएको छ । 

कृषि परियोजनामा सहुलियपूर्ण कर्जा लगानी भइरहँदा कर्जा रकम अप्रत्यक्ष रूपले घरजग्गा व्यवसायलाई नै पोस्ने कार्य त भइरहेको छैन ? कृषिमा कर्जा लगानी बढ्ने तर सरकारले अपेक्षा गरे अनुरूपको उपलब्धि हासिल नहुने हो भने बैङ्कलाई बाध्यात्मक लगानी गर्न निर्देशन जारी गरिनुको कुनै औचित्य रहँदैन । कृषि कर्जा लगानीको उपलब्धि पनि खोजौ । कृषिमा उच्च प्रतिफल प्राप्त हुने सुनिश्चितता भए लगानीको वातावरण बन्छ । यो वातावरण निर्माण गर्ने काम सरकारको हो । दशकौँ वितिसक्यो हरेक वर्ष मल, बीउ, सिँचाइ, बजारजस्ता कुराबाटै कृषक प्रताडित हुन्छन् । 

व्यावसायिक कृषि गर्न खाद्य प्रशोधन उद्योगलाई पनि उतिकै प्राथमिकता दिन जरुरी छ । अधिक उत्पादन भएको कृषि वस्तु खपत गर्ने उद्योगले नै हो । राज्यको ढुकुटीमा रहेको सञ्चित रकम घट्दै गएपछि सरकारले हालै कुरकुरे कुरमुरे, लेजजस्ता प्रशोधित खाद्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने निर्णय  गरेको छ । आफ्नै देशको उत्पादनलाई बढावा दिन हामी नागरिकले पनि होस्टेमा हैँसे गर्नैपर्छ । गुणस्तर नियन्त्रण गर्ने मामिलामा सरकार चुक्न हुन्न ।

अनुसन्धान बिना कृषि विकासको बहस व्यर्थ हुन्छ । कृषि अनुसन्धान परिषद्को गति सुस्त छ । निजी क्षेत्रबाट नयाँनयाँ बालीहरू भिœयाएर खेती भइरहँदा हाम्रो अनुसन्धान भने पछाडि छ । पछिल्लो समयमा निजी क्षेत्रको अगुवाइमा किवी, एभोकाडो, ड्रागन फ्रुटजस्ता बालीको विस्तार भइरहेको छ । कुनै बालीलाई व्यावसायिक खेतीमा ल्याइनुअघि अनुसन्धान गर्ने निकायबाट सिफारिस हुनुपर्छ । सीमित वर्षे बालीमै हाम्रो अनुसन्धान अलमलिएको छ । 

कोरोनाबाट उत्पन्न समस्याले खाद्य सुरक्षाको सबाल विश्वकै लागि चिन्ताको विषय बनेको छ । यो अवस्थामा रुस र युक्रेन युद्धले परिस्थिति झन् जटिल बन्यो । खाद्य एवं कृषि सङ्गठनको तथ्याङ्कअनुसार विश्वका प्रमुख गहुँ निर्यातका देशमा रुस र युक्रेन क्रमशः तेस्रो र पाँचौँ स्थानमा रहेका छन् । युद्धका कारण आपूर्ति शृङ्खला खलबलिँदा धेरैजसो देश अहिले महँगीको चपेटामा फसेका छन् । नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक पर्ने ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना आयातमा युक्रेनमा निर्भर रहँदा अहिले तेलको मूल्य अकाशिएको छ । 

भारतले पनि आन्तरिक खाद्य सुरक्षालाई मध्यनजर गर्दै गहुँ निर्यात रोकेको छ । तसर्थ विदेशी मुद्रा सञ्चितिको अभावमा आयात गरेर खान नपाइने अवस्थाभन्दा पनि पैसा भएर पनि खान नपाइने अवस्था थप पीडादायी बन्न सक्ने भएकाले कृषिमा आधुनिकीकरण, व्यावसायीकरण, अत्मनिर्भरता, आयात प्रतिस्थापनजस्ता दैनिकजसो सुनिने शब्दावलीलाई अब नारामा सीमित नराखौँ ।

Author

विजय पोखरेल