• २० असोज २०८१, आइतबार

सेती खोचको पर्यटकीय महत्त्व

blog

सेती नदीको खोचलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवाला र विज्ञबीच बहस सुरु भएको छ । युनाइटेड क्लब पोखराको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भूगोलविद् प्रा. डा. कृष्ण केसीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सहभागी केही विज्ञले पर्यटन विकाससँग केन्द्रित भएर आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 

भूगोलविद् प्रा. डा. कृष्ण केसीका अनुसार सेती नदी भौगोलिक विकासको क्रममा क्वाट्नरी पिरियड अर्थात् आजभन्दा लगभग १२ हजार वर्षअघि अन्नपूर्र्ण तेस्रो, माछापुच्छे हिमालको पूर्वी क्षेत्रको हिमनदीबाट सेती नदी उत्पत्ति भएको हो । यो नदी पोखरा उपत्यकामा प्रवेश गरेपछि विभिन्न खोच, ताल, गुफा, ठूला गरा वा पाटन तयार भएको छ । पोखराका फाँटमा पाटन नाम जोडिएको छ । जसमध्ये बाझापाटन, छोरेपाटन, मझेरीपाटन, गैहपाटनजस्ता लगभग २६ भन्दा बढी नामअघि पाटन जोडिएका फाँट छन् ।

सेती नदीको उत्पत्तिको बिन्दुदेखि दमौलीमा मादीनदीको सङ्गमसम्म लगभग १०० किमि लामो छ । कुल लम्बाइको लगभग ७ प्रतिशत लम्बाइ पोखरा उपत्यकामा प्रवेश गरेपछि सेती नदी लुकेर बगेको छ । एक अध्ययनअनुसार गाईघाटबाट लगभग ६.७ किमि दूरी घना बस्तीबीचबाट लुकेर बगेको सेती नदी सीतापाइला (ढुङ्गे साँघु)मा पुगेपछि खुला हुन्छ । यसबीचमा दुई स्थान फूलबारी (१.५ किमि) र रामघाटमा (०.८२ किमि) खुला यसैगरी गाईघाट (डा. केआई सिंह पुल)देखि तल्लो दीप (०.५८ किमि), नारायणस्थानदेखि तुलसीघाटसम्म (१.५ किमि) र रामघाटदेखि सीतापाइलासम्म (२.४ किमि) गरी तीन स्थानमा लुकेको छ । सेती नदी पोखरा बजारको घना बस्तीको बीच भागबाट बगेको छ । नदी किनारमाथि केही स्थानमा घना बस्ती छ भने अधिकांश स्थानमा खुला हरियाली क्षेत्रसहितको खोच छ । यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भन्ने धारणा बिस्तारै सतहमा आउन थालेको छ । 

सेती नदी हिउँदमा कम र मनसुनताका नदीमा आएको बाढी गर्जंदै बगेको हुन्छ । मनसुनताकाको बाढीमा रमिता हेर्ने पनि प्रशस्तै हुन्छन् भने आत्महत्या तथा दुर्घटना केन्द्रसमेत बनेको छ । साथै पोखरा महानगरपालिकाको घना बस्तीबीचबाट बगेकाले ढल निकासको प्रमुख केन्द्र बनेको छ । 

पोखराको यो प्राकृतिक स्वरूपले आर्थिक विकास केन्द्र पनि बनेको छ । समथर जमिन वा पाटन वा गरा–गरा परेको विभिन्न आकृतिले पोखरालाई थप सुन्दर बनाएको छ । परिणामस्वरूप यस वरपरका क्षेत्रमा प्राकृतिक रूपमा विद्यमान डाँडाकाँडा, गुफा, ताल, खोचले पर्यटनको गन्तव्य बनेको छ । सराङ्गकोट, काहँुडाँडा, विश्व शान्ति स्तूपा, महादेव फेवा, वेगनास, रूपालगायतका अन्य सात ताल, महेन्द्र गुफा र पाताले छाँगो पर्यटनका चर्चित केही महìवपूर्ण पर्यटकीय गन्तव्य हुन् । यसरी पोखराका प्राकृतिक स्वरूप ताल, गुफाले पर्यटन गन्तव्य बनेको भए पनि खोच पर्यटन गन्तव्य बन्न सकेको छैन ।

साहसिक गन्तव्यको उद्गम स्थल बनेको गण्डकी प्रदेश र यस प्रदेशको राजधानी पोखरा महानगरपालिका पर्यटकीय राजधानीका रूपमा पनि चिनिन्छ । नेपालमा प्रचालित धेरै पर्यटकीय गतिविधिमध्ये अधिकांश पोखरा क्षेत्रमा गरिन्छ । उदाहरणका लागि दृश्यावलोकन, डुङ्गा सवार, घोडा चढ्ने, विभिन्न किसिमका धार्मिक क्षेत्रको भ्रमण जस्तै– विश्व शान्ति स्तूपा, शिव महादेवको मूर्ति, तालवाराही तथा विन्द्यवासनी मन्दिर दर्शन, महेन्द्रगुफा, पाताले छाँगो, प्राणी उद्यान, पर्वतीय सङ्ग्रहालय, जातीय सङ्ग्रहालय लगायतका प्रकृति र संस्कृतिमा आधारित पर्यटनको केन्द्र बनेको पोखरा र यस वरपरका क्षेत्रमा भइरहेको छ । हाल आएर साहसिक पर्यटन खासगरी प्याराग्लाइडिङ, अल्ट्राफ्लाइट, बम्जी जम्पिङ, जिपफ्लायर, पवर्तारोहण, साइकल यात्रा, क्यानोइङ, भीर चढ्ने, डुङ्गा सवार, तातो हावाको बेलुनमा उड्ने, सेती नदीमा जलयात्राजस्ता गहन किसिमका साहसिक पर्यटनका लागि गन्तव्य बनेको छ । 

साँच्चै सेती खोचलाई पर्यटन गन्तव्यमा विकास गर्ने नै हो भने सेती खोचलाई उपयुक्त सम्भावित पर्यटकीय गतिविधिको सूची तयार गरी स्थलगत अध्ययन गर्नु आवश्यक छ । माथि उल्लिखित पाँच क्षेत्रमा विभाजित सेती खोचलाई प्रकृतिअनुसारको गतिविधि अन्वेषण गर्नु जरुरी छ । यसका लागि निजी क्षेत्र खासगरी बुद्धिजीवी र पर्यटन व्यवसायीको भूमिका महìवपूर्ण हुन्छ । यसका लागि आवश्यक पर्ने ऐन, नियमलगायतका सरकारी नीति तय गर्नुपर्छ । सङ्घीयताको मर्मअनुसार तीन तहका सरकारको जिम्मेवारीअनुसार कसले के गर्ने भन्ने संविधानमा व्यवस्था भएको अनुसूचीअनुसारको जिम्मेवारीको बाँडफाँट गरी कार्यक्रम कार्यान्वयन गर्नु जरुरी छ । 

विभिन्न तहका सरकारले आवश्यकताअनुसारको नियम कानुन तयार गर्नुपर्ने हुन्छ भने निजी क्षेत्र खासगरी सरोकारवाला व्यवसायी तथा नागरिक समाजले जिम्मेवारी लिनु आवश्यक पर्छ । यसबाहेक विभिन्न स्रोतबाट प्राप्त सूचनाअनुसार तय गरिएको केही कार्यक्रम जस्तै– झुन्डिएको रेस्टुराँ, सिसाको लामो पुल, आकर्षक ताल, खोचमा केबलकारलगायत अन्य गतिविधिलाई केही चर्चा गरिएको छ । सेती नदीको प्रसिद्ध खोचको पहिलो खण्ड हो– गाईघाटदेखि तल्लो दीपसम्म दूरी । यो कुल लम्बाइको सबभन्दा छोटो (०.५८ किमि) खण्ड हो । यस खण्डको खोचमा एक आधुनिक प्रविधिसहित झुन्डिएको रेस्टुराँ तथा रिसोर्ट स्थापना गरी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । यस रेस्टुराँबाट अन्नपूर्ण तथा माछापुच्छ«ेलगायतका हिमाली शृङ्खलाका दृश्यलगायत अन्य पहाडी तथा समथर क्षेत्रको समेत दृश्यावलोकन गर्ने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

सेती नदीको तल्लो दीपदेखि नारायणस्थानसम्मको खुला स्थानमा पर्यटकलक्षित गरी विभिन्न किसिमका गतिविधि विकास गर्न सकिन्छ । यस खुला स्थानमा व्यवस्थित बालुवा सङ्कलन गर्न ताल निर्माण गर्ने र आवश्यकताअनुसार पर्यटकलाई पौडी खेल्ने अवसर प्रदान गर्न सकिन्छ । यस खण्डको विकासका लागि आवश्यक अन्य सम्भावित कार्यक्रमको खोजी गर्नुपर्छ । उपयुक्त कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नु जरुरी छ । 

नारायणस्थानदेखि तुलसीघाटबीचको उपयुक्त स्थानमा आकर्षक किसिमको सिसा पुलको अवधारणामा पर्यटकीय गन्तव्य तयार गर्न सकिन्छ । यस लामो सिसाको पुलको हिँडाइबाट सेतीको गल्छीलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने किसिमको डिजाइन बनाउनुपर्छ । यसका लागि निजी क्षेत्रले पहल गर्नुपर्छ भने सुरक्षालगायत अन्य वातावरणका लागि नियमन एकाइका रूपमा सरकारी निकायले जिम्मेवारी लिनुपर्छ । 

हाल रामघाटदेखि सीतापाइलासम्मको लगभग २.४ किमि लामो दूरीमा गल्छी अवलोकन कार्यक्रम तय गर्न सकिन्छ । यसका लागि यात्रु सुरक्षित केबलकारको अवधारणा कार्यान्वयन गर्न सकिन्छ । यस क्षेत्रको उपयुक्त स्थान छनोट गरी छोटो दूरीको केबलकार उपयुक्त हुन सक्छ । एक किसिमको फलामे तारमा आधारित गोण्डला प्रयोग गरी सेती गल्छीको अवलोकनसहित परिक्रमा गर्न सकिने संयन्त्र तयार गर्नुपर्छ । यस गोण्डला एक फन्को मारेर गल्छी वा सेती खोच अवलोकन गरी पुनः पहिलेकै स्थानमा फर्किने व्यवस्था गर्नुपर्छ । हाल पोखरा बम्जी जपिङले यस खण्डको सानो हिस्सा प्रयोग गरेको छ । यस खण्डमा अन्य गतिविधि पनि खोजी गर्न सकिन्छ ।

रामघाट क्षेत्रको पर्यटकीय गन्तव्यको विकास गर्न र सेती नदी संरक्षण गर्न पोखरा महानगरपालिकाले द रिभर माइनिङ कम्पनीसित लगभग ३५ वर्षका लागि सम्झौता गरेको समाचार प्रकाशित भएको छ । यस कम्पनीले रामघाट क्षेत्र लगभग ०.१४ वर्गकिलोमिटर क्षेत्रफलमा राम ताल निर्माण, राम तालमा डुङ्गा सवार, नदी किनार वरपर धार्मिक संस्कारका रूपमा स्थापित घाट व्यवस्थापन, प्रत्येक साल मनसुनताका बाढीले बगाएर ल्याएको बालुवा सङ्कलन, सङ्कलित बालुवा निर्माण सामग्रीका रूपमा बिक्री तथा वितरणलगायत अन्य रात्रिकालीन मनोरञ्जनात्मक गतिविधिले पर्यटक आकर्षण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

यस किसिमका कार्यक्रमले प्रत्यक्ष रूपमा रोजगारी सिर्जना भई अप्रत्यक्ष रूपमा सरकारलाई कर वा राजस्व वृद्धि हुने, अव्यवस्थित घाटलाई व्यवस्थित भई दिगो विकास र संरक्षणमा योगदान पुग्ने मात्र नभई बर्सेनि नदी कटानलाई नियन्त्रण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सकारात्मक प्रभाव पर्नेछ । प्रस्तावित कुनै एक गतिविधिलाई आधार मानी पर्यटक आकर्षण गर्ने कार्यक्रम अघि बढाएमा अन्य गतिविधिको सम्भावना पनि स्वतः बढेर जानेछ । यसले पर्यटकको बसाइ लम्ब्याउनुका साथै आर्थिक विकासमा समेत टेवा पुग्नेछ । यसरी समग्रमा पोखराको प्राकृतिक स्रोत खासगरी भूआकृतिमा आधारित भई पर्यटन विकास हुनेछ र प्रत्यक्ष रूपमा पोखराको आर्थिक विकास तीव्र गतिमा अघि बढ्नेछ । 

Author

जुद्धबहादुर गुरुङ