• १९ असोज २०८१, शनिबार

कृषि स्वरोजगारबाट गरिबी निवारण

blog

तानसेन नगरपलिकाले गरिबी निवारणका लागि कृषि स्वरोजगार कार्यक्रम कार्यान्वयन गरी गरिबी निवारणमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । बाध्यतावश वैदेशिक रोजगारीमा आकर्षित भएका छन् नेपाली युवा । युवा शक्तिको अभावले नेपाली उर्वरभूमि बाँझो रहेको छ भने खाद्यान्न र अन्य अति आवश्यक वस्तुमा पनि नेपाल परनिर्भर हुँदैछ । हाल छिमेकी राष्ट्र भारतलगायत विभिन्न मुलुकबाट खाद्यान्न, तरकारी, फलफूललगायत विभिन्न वस्तु नेपाल भित्रिएको छ भने हाम्रो मुद्रा बाहिर गइरहेको छ । केही वर्ष अगाडिसम्म नेपालले उत्पादन गरी विदेश निर्यात गर्ने गरेका वस्तुहरू पनि अहिले नेपालले विदेशबाट आयात गर्न परिरहेको छ ।

बेरोजगार र विपन्नताका कारण युवा विदेशिने क्रम बढिरहेको छ । यो अवस्थामा एकातिर हाम्रो स्रोत साधन सदुपयोग हुन सकेको छैन भने अर्कातिर युवा वैदेशिक रोजगारीमा जानाले परिवार, समाज र राष्ट्र नै युवा शक्तिबिहीन बनिरहेको छ । नेपलका सक्षम युवा विदेशमा दुःख पाई अकालमा मृत्युवरण गर्न बाध्य भएका छन् । यो अवस्थामा राष्ट्रमा भएका प्राकृतिक स्रोत साधन र मानवीय स्रोतको व्यवस्थापन गरी कृषिलगायत उत्पादनमुलक कार्यमा लगाउन सकेमा देशको स्रोत साधन सही रूपमा परिचालन हुने थियो भने हाम्रो परिवार, समाज र राष्ट्र पनि सुरक्षित, सुदृढ, व्यवस्थित तथा सुसंस्कृत हुँदै जाने थियो । बढ्दो आयातले नेपालको आर्थिक अवस्था बिग्रँदो, दयनीय र असुरक्षित अवस्थामा जाने हो कि भन्ने डर भएको छ । रेमिटेन्सलाई वैदेशिक आयआर्जनको स्रोतको रूपमा नलिएर युवा शक्तिलाई देशमा नैै खपत गरी राष्ट्रनिर्माण तथा विकासमा परिचालन गर्ने गरी दीर्घकालीन र दूरदर्शी सोचका साथ सरकारले योजना बनाउन तथा कार्यान्वयन गर्नुपर्ने हुन्छ । 

यस सन्दर्भमा तानसेन नगरपालिकाले एक फरक योजना बनाउने जमर्को गरेको छ । यहाँको कार्यक्रमको अनुगमन, अवलोकन र मूल्याङ्कन गरी वास्तविकताको आधारमा अन्य क्षेत्रमा कार्यक्रम विस्तार गर्न सक्ने हो भने पक्कै कृषि क्षेत्रको विकासमा राम्रो परिणाम आउने देखिन्छ । जसले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सक्नेछ । 

तानसेन नगरपालिकाले भूमिहीन र अति विपन्नका लागि उनीहरूको सीप, क्षमता र मागबमोजिम कृषि कार्यक्रममा सामूहिक तरकारी खेती कार्यक्रम सञ्चालन गरेको छ । बेरोजगारलाई कृषि कार्यक्रममा आबद्ध गराई कृषि स्वरोजगार कार्यक्रमका माध्यमबाट आयआर्जन कार्यक्रममा संलग्न गराएको छ । यो कार्यक्रम २०७७ चैत महिनादेखि सुरु गरेको हो । पालिकाले भूमिहीन र अति विपन्न स्थानीय बासिन्दाका लागि सामूहिक तरकारी खेती कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि विद्यमान कृषि नीतिले भूमिहीन र अति विपन्न बासिन्दालाई समेट्न नसकेको हँुदा कार्यविधि (नियम) बनाएर भूमिहीन र अति विपन्न वर्गलाई समेट्न कोसिस गरिरहेको छ । 

तानसेन नगरपालिका वडा ६ लाँकुरी, सतनचुली र पालेपीपलका भूमिहीन र अति विपन्न बासिन्दाहरूलाई समूहमा आबद्ध गरी आयआर्जनका लागि सामूहिक तरकारी खेती कार्यक्रम सञ्चालन गरेको छ । प्रतिघर एक–एकजना सदस्यका दरले १० जना समूहमा आबद्ध गरी यो समूहलाई नगरपालिकाको कृषि शाखामा लाकुरी कृषक समूह नाम राखी दर्ता गरेको छ । प्रति सदस्य एक रोपनीका दरले समूहलाई जग्गा उपलब्ध गराएको छ । समूहले उक्त जग्गामा सामूहिक तरकारी खेती गरिरहेका छन् । सिँचाइका लागि पानी कम भएका कारणले एक एक रोपनीमा मात्र तरकारी खेती गर्ने चाहाना समूहले गरेको थियो ।

उनीहरूका लागि यो जग्गा पालिकाले भाडामा उपलब्ध गराएको छ । समूहका सदस्यलाई पायक पर्ने गरी जग्गा छनोट समूहले नै गरेको हो । समूहले छनोट गरेको जग्गामा वडा ६ वडा कार्यालय, तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संस्था, स्वास्थ्य तथा सामाजिक विकास समाज नेपाल र जग्गाधनीको बैठकबाट जग्गाभाडा निर्धारण गरिएको हो । प्रतिरोपनी प्रति वर्ष तीन हजारका दरले जग्गाधनीलाई जग्गाभाडा दिने गरी जग्गाधनीसँग पाँच वर्षको सम्झौता गरी नगरपालिकाले समूहलाई जग्गा उपलब्ध गराएको छ । भूमिहीन र अति विपन्न वर्गका लागि जोताइ र मलसमेत महँगो भई तरकारी खेती गर्न नसक्ने अवस्था महसुस गरी पहिलो वर्षका लागि समूहलाई जग्गा जोताइदिने र मलसमेत उपलब्ध गराई सामूहिक तरकारी खेतीबाट आयआर्जन गराई स्वरोजगार बन्न प्रोत्साहन गरेको छ । 

जग्गा भाडामा लिई किसानलाई उपलब्ध गराउने, मल दिने र जोताइदिने व्यवस्था विद्यमान कृषि नीतिमा नभएकोले कार्यविधि बनाएर थप सुविधासहित ग्रामीण आर्थिक विकास संस्था (रेडा) बाट सञ्चालित कृषि कार्यक्रममा आबद्ध गराई भूमिहीन र अति विपन्नलाई कृषि कार्यक्रमका माध्यमबाट स्वरोजगार बनाउने गरी पाँच वर्षका लागि जग्गा भाडामा लिई पाँच वर्षे कार्यक्रम (प्याकेज) सञ्चालन गरिरहेको छ । यसरी स्वरोजगार तथा आत्मनिर्भर गराउने प्रयास तानसेन पालिकाले गरेको छ । 

जग्गा भाडा पहिलो वर्ष पूर्ण अनुदान, दोस्रो वर्ष ७५ प्रतिशत, तेस्रो वर्ष ५० प्रतिशत र चौथो वर्ष २५ प्रतिशत अनुदान पालिकाले किसानलाई दिने र दोस्रो वर्षमा २५ प्रतिशत, तेस्रो वर्ष ५० प्रतिशत, चौथो वर्ष ७५ प्रतिशत जग्गाभाडा समूहले आफैँ तिर्न पर्ने र पाँचौँ वर्षका लागि जग्गा सम्झौता मात्र गरिदिने तर भाडा समूहले नै तिर्ने गरी आत्मनिर्भर बनाउन समूहलाई केही प्रतिशत वार्षिक रूपमा जग्गा भाडा तिर्नुपर्ने नियम बनाएको छ । यही ठाउँका जग्गा भएका र सामूहिक तरकारी खेती गरी व्यावसायिक बन्न चाहने साना किसान १५ जनालाई समूहमा आबद्ध गराई सामूहिक तरकारी खेती कार्यक्रम सञ्चालन गरी आयआर्जनबाट स्वरोजगार र व्यवसायी बनाई आर्थिक समृद्धिको मूलधारमा ल्याउने प्रयास गरेको छ । प्रतिघर एक जनाका दरले महिला पुरुष समूहमा बसेका छन् । ठूला पधेरा कृषक समूह नामकरण गरी तानसेन नगरपालिका कृषि शाखामा समूह दर्ता गरी यस पालिका अन्तर्गतको ग्रामीण आर्थिक विकास संस्था (रेडा) ले कृषि विशेष कार्यक्रम सञ्चालनमा सहयोग गरी व्यावसायिक कृषक बनाउने प्रयास गरेको छ । 

यो कार्यक्रम लागू हुनु पहिले समूहका सदस्यहरूले घरमा खानका लागि मात्र परम्परागत रूपमा तरकारी खेती गरिरहेका थिए भने हाल समूह सदस्यले तरकारी बेच्न सुरु गरेका छन् र प्रोत्साहित पनि भएका छन् । यो कार्यक्षेत्रमा सम्बन्धित निकायबाट अनुगमन गरी समूहलाई प्राविधिक सहयोगका साथै अन्य सहयोग उपलब्ध गराएमा यसले कृषिमा नयाँ सुरुवात गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम अध्ययनको आधारमा आवश्यकताको पहिचान भई समस्या समाधानका लागि सञ्चालन गरिएको कार्यक्रम हो । २०७४ साल असारदेखि विभिन्न चरणमा अध्ययन गरी यहाँको वास्तविक समस्याको पहिचान तथा समस्या समाधानका उपायहरूको पहिचान गर्ने प्रयास गरिएको थियो । यो अध्ययनको निष्कर्षमा बेरोजगारी समस्या देखियो । समाधानको उपायमा यहांँको स्रोत साधनको अधिकतम प्रयोग गरी बेरोजगारलाई समूहमा आबद्ध गरी स्वरोजगार बनाउनु समस्या समाधानको उपाय देखियो ।

यो अध्ययनअनुसार तानसेन नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको छ । बेरोजगार जनशक्तिलाई उनीहरूको आवश्यकता र चाहनाअनुसार सामूहिक तरकारी खेतीबाट आयआर्जन गर्न सरकारबाट केही टेवा पाएमा उनीहरू स्वरोजगारमा आबद्ध भई आयआर्जन गर्छन् भन्ने कुरा यहाँका समूहले प्रमाणित गरेका छन् । स्थानीय तहमा उपलब्ध स्रोत साधन र त्यहाँका बासिन्दाको चाहानाअनुसार सहजीकरण गर्न सके यो अझै प्रभावकारी हुने देखिन्छ । यो कार्यक्रम देशव्यापी बनाउन आवश्यक देखिएको छ । 

Author

कमला खनाल