• २० असोज २०८१, आइतबार

मङ्कीपक्सको जोखिम

blog

मे महिनाको ७ तारिखमा विज्ञप्तिमार्फत बेलायतको युके हेल्थ सेक्युरिटी एजेन्सीले ‘मङ्कीपक्स’ भाइरस सङ्क्रमित बिरामी देखिएको पुष्टि गरेको थियो । सो सङ्क्रमित अफ्रिकाको नाइजेरिया देश भ्रमण गरेको फर्केको थियो । नाइजेरियामा विगतदेखि नै मङ्कीपक्सको प्रकोप देखिँदै आइरहेको छ । मे महिनाको २० तारिखसम्म आइपुग्दा बेलायतमा २० जनामा सङ्क्रमण प्रमाणित भइसकेको छ ।

पहिलो सङ्क्रमितबाहेक अरू सङ्क्रमितको अफ्रिकी देश भ्रमणको इतिहास नभएको र पहिलो सङ्क्रमितको सम्पर्कमा समेत नभएको भनिएको छ । अहिले युरोपका अरू देशमा पनि एकपछि अर्को सङ्क्रमित फेला पर्ने क्रम जारी रहँदै गर्दा स्रोत भने थाहा हुन सकेको छैन । यो नै मङ्कीपक्स लहरको फरक तर रहस्यमय फैलावट मानिन्छ ।

सन् १९५८ मा पहिलो पटक यो भाइरसको पहिचान अनुसन्धानका लागि राखिएका बाँदरमा पत्ता लागेको थियो । तसर्थ यो भाइरसको नाम पनि मङ्कीपक्स राखिएको थियो । पछि सन् १९७० मा कङ्गोमा पनि यो भाइरस पत्ता लागेको थियो । मङ्कीपक्सलाई बिफर रोगको परिवार सदस्य मानिन्छ । बिफरले कम्तीमा पनि तीन हजार वर्ष (तीन हजार वर्ष)देखि मानिसलाई प्रभावित पार्दै आइरहेको अनुमान गरिन्छ ।

एक सय बिफर सङ्क्रमितमध्ये ३० जनाको जटिल अवस्थाका कारणले मृत्यु हुने गर्छ । ६५ देखि ८० प्रतिशत निको भएकाको छालामा बिबिराको खत भने स्थायी रूपमा रहन सक्छ । अर्थात् बिबिराको स्थायी खत अनुहारको सौन्दर्यताका लागि पछिसम्म बाधक बन्ने गर्छ । सौभाग्यवश वैज्ञानिकको अथक् प्रयासले गर्दा बिफरविरुद्धको खोप विकास भयो । परिणामस्वरूप विश्व स्वास्थ्य सङ्गठनले सन् १९८० मा बिफर उन्मूलन घोषणा गरेको थियो ।

मङ्कीपक्स बिफरभन्दा कम घातक मानिन्छ । यसको मृत्युदर झन्डै १० प्रतिशत मानिन्छ । यो सामान्यतः पश्चिम तथा मध्य अफ्रिकी मुलुकमा सीमित देखिन्छ । हाल यो अफ्रिकी महादेशबाहिर अस्वाभाविक जम्प गरेको देखिन्छ अर्थात् अस्ट्रेलिया महादेशसम्म पुगिसकेको छ । यसले विश्वमा नै जनस्वास्थ्य तरङ्ग पैदा गरिदिएको छ । हालै भारतले विशेषतः सङ्क्रमण फैलिएका देशबाट फर्केकामा निगरानी बढाउने र मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिए परीक्षण गर्न-गर्ने घोषणा गरेको विभिन्न सञ्चारका मध्यममा जनाएका छन् । नेपालमा भने यो लेख लेख्दै गर्दासम्म यस्तो घोषणा वा योजना अगाडि बढाइसकेको भने छैन । 

मङ्कीपक्स भाइरस जोनोटिक अर्थात् जनावर स्रोत भएको सङ्क्रमण मानिन्छ । यो भाइरसको ‘प्राकृतिक बासस्थान’ कुन पशु वा पन्छी हो भन्ने यकिन भने भइसकेको छैन तर स–साना स्तनधारी जनावर, अफ्रिकी मुसालाई मङ्कीपक्स भाइरस फैलाउने स्रोतका रूपमा लिने गरिएको छ । विगतमा अफ्रिकी महादेशबाहिर आयातित जनावरबाट पनि मङ्कीपक्स भाइरस मानिसमा सर्ने गरेको देखिन्छ । दोस्रो, सर्ने तरिका भनेको सङ्क्रमित मानिसबाट स्वस्थ मानिसमा हो । हाल अफ्रिकी देशबाहिर देखिएको मङ्कीपक्सको लहर यही तरिकाबाट सरिरहेको मानिन्छ ।

यो कोभिडजस्तो तीव्र गतिमा सर्ने गरेको भने देखिएको छैन । नजिक रहँदा सङ्क्रमितको मुखको छिटा (नाक, मुख, आँखामा परेमा), सङ्क्रमितको बिबिराको तरल पदार्थ, र हालै सङ्क्रमितले प्रयोग गरेको समानबाट मङ्कीपक्स भाइरस सर्ने गर्छ । गर्भवती महिलाबाट भ्रूणमा पनि यो भाइरस सर्न सक्छ । 

मङ्कीपक्स सङ्क्रमण भएको पाँचदेखि २१ दिनसम्ममा लक्षण देखा पर्ने गर्छ । लक्षणलाई दुई चरणमा बाँडिएको छ । पहिलो चरणमा ज्वरो आउने, टाउको, जिउ र मांशपेसी दुख्ने, लिम्फग्रन्थी सुन्निने र आलस्य हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छ तर यस्ता लक्षण नेपालमा देखिँदै आइरहेका अरू सङ्क्रामक रोगसँग पनि मिल्दोजुल्दो देखिने भएकाले सङ्क्रमित तथा स्वास्थ्यकर्मीले समेत पहिचान गर्न गाह्रो हुनेछ । दोस्रो चरण ज्वरो देखिएको एकदेखि तीन दिनमा सुरु हुने गर्छ । शरीरमा बिबिरा देखिन सुरु हुनेछ । यो चरणमा धेरैजसो चिकित्सकसँग उपचार वा परामर्शका लागि पुग्ने सम्भावना बढी हुने गर्छ । यस्ता बिबिरा विशेषतः अनुहार र हातखुट्टामा बढी देखिने गर्छन् । गुप्ताङ्ग, गुदद्वारलगायत शरीरका अरू भागमा पनि देखिने गर्छन् । वास्तवमा अहिलेको लहरमा गुप्ताङ्ग, गुदद्वारजस्ता ठाउँमा बिबिरा-घाउ बढी देखिएको हाल मङ्कीपक्स फैलिरहेका देशका चिकित्सकको भनाइ छ । बिर्यबाट भाइरस सर्ने प्रमाणित नभएकाले सम्भवतः बिबिरा-घाउका तरल पदार्थबाट सरेका हुनसक्छ । 

अफ्रिकाबाहिर हाल मङ्कीपक्सको कारणले मृत्यु भइसकेको भने देखिएको छैन । सङ्क्रमण हुँदा अनुहारमा देखिने बिबिरा वा निको भइसकेपछि पनि स्थायी रूपमा देखिने÷रहने घाउको खतले अत्मविश्वासमा कमी र सौन्दर्यतामा बाधा पर्न सक्ने भने देखिनेछ । 

मङ्कीपक्स जटिलताका कारणले झन्डै १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ । विशेषतः सङ्क्रमित बालबालिकाको मृत्यु बढी हुने गरेको देखिन्छ । बिबिरामा देखिने चरणको प्रकृति ठेउला (चिकनपक्स) वा भिरिङ्गी (सिफिलिस)सँग पनि मिल्दोजुल्दो हुँदा मङ्कीपक्स निदान गर्नबाट स्वास्थ्यकर्मी चुक्न सक्ने सम्भावना बढी देखिन्छ । यस्तो अवस्था विशेषतः 

मङ्कीपक्स पहिले नदेखिएको-दुर्लभ देखिने ठाउँ वा देशमा हुनसक्छ । हाल युरोपेली कतिपय देशका चिकित्सकले सुरुमा बिरामीमा मङ्कीपक्सको लक्षण मिल्दोजुल्दो समस्या देखिएको भए पनि शङ्का नगरेको तर पछि बेलायतमा प्रमाणित भएको जानकारी आएपछि मात्र प्रयोगशाला परीक्षण गरेको र पुष्टि भएको भनेका छन् । धेरै सङ्क्रमित दुईदेखि चार हप्तासम्ममा निको हुने गर्छन् । 

सङ्क्रामक रोगको लक्षण एक अर्कासँग धेरै हदसम्म मिल्ने भएकाले प्रयोगशाला परीक्षण रोग निदान गर्न अनिवार्य मानिन्छ । बिरामीको बिबिरा-घाउबाट नमुना सङ्कलन गरेर पीसीआर परीक्षणबाट सङ्क्रमणको निदान गर्न सकिनेछ । सेरोलोजी जाँच÷प्रविधिलाई भने भरपर्दो मानिँदैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स निदान गर्न बिरामीमा ज्वरो आएको समय (दिन), शरीरमा बिबिरा देखिएको दिन, नमुना सङ्कलन गरेको दिन, नमुना सङ्कलन गर्दा बिबिरा÷घाउको अवस्था र उमेरजस्ता जानकारी समावेश हुन जरुरी हुने भनेका छन् ।

मङ्कीपक्स उपचारका लागि विशेष औषधि त छैन तर बिफरका लागि प्रयोग गरिएको औषधि तथा उपलब्ध खोप भने मङ्कीपक्सका लागि पनि प्रभावकारी मानिएको छ । बिफरका लागि प्रयोग भएको खोप 

मङ्कीपक्सविरुद्ध झन्डै ८५ प्रतिशत प्रभावकारी देखिएको छ र खोप जति चाँडो लगायो, त्यति प्रभावकारी हुने भनिएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लगाउन सकिए मङ्कीपक्सबाट बच्न सकिन्छ । चारदेखि १४ दिनभित्रसम्ममा पनि खोप दिन सके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिनेछ ।

कोभिडमा प्रयोग भएका जनस्वास्थ्यका मापदण्डजस्तै मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र कोठामा हावा आवतजावत गर्ने व्यवस्था मिलाउन सके पनि मङ्कीपक्स फैलनबाट धेरै हदसम्म रोक्न सकिनेछ । त्यस्तै कसैलाई सङ्क्रमण पुष्टि भइसकेको र सो व्यक्तिको सम्पर्कमा आएकालाई २१ दिन आइसोलेसनमा पनि राख्न सक्छौँ । बिफरविरुद्ध प्रयोग हुने एन्टिभाइरल औषधि मङ्कीपक्समा पनि प्रभावकारी देखिएको भए पनि यो हाल सहजै भने उपलब्ध छैन ।

अन्त्यमा कुनै पनि देश वा महादेशमा देखिएको सङ्क्रमण रोग ढिलो चाँडो अर्को देशमा सहजै पुग्न सक्ने कोभिड–१९ को लहरमा देखाइसकेको छ । हाल मङ्कीपक्स पनि अफ्रिकी देशमा मात्र नभई विभिन्न देश÷महादेशमा देखिँदै गइरहेको छ । पहिले आयातित अवस्थामा मात्र देखिँदै आइरहेको मङ्कीपक्स भाइरस हाल समुदाय स्तरमा (विभिन्न देशमा) नै फैलिइरहेको जस्तो देखिन्छ, यद्यपि कोभिडजस्तो तीव्र गतिमा भने होइन ।

नेपालमा ठेउला अर्थात् चिकनपक्स बर्सेनि जस्तो देखिँदै आइरहेको र मङ्कीपक्सका लक्षण चिकनपक्ससँग धेरै हदसम्म मिल्दोजुल्दो हँुदा समयमा नै रोग निदान गर्नबाट स्वास्थ्यकर्मी चुक्न सक्ने सम्भावना बढी देखिन्छ । भारतमा हालै मङ्कीपक्सको जोखिमलाई ध्यानमा राखेर यात्रुमा (विशेषतः सङ्क्रमण फैलिरहेका देशबाट आएकामा) निगरानी बढाइएका समाचार आइरहेका छन् । नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क पनि धेरै देशसँग भएकाले मङ्कीपक्सको निगरानी बढाउनेतिर ध्यान दिनुपर्ने देखिन्छ । साथै स्वास्थ्यकर्मीलाई पनि शङ्कास्पद मङ्कीपक्सका बिरामी देखिए जानकारी गराउन अनुरोध गर्नुपर्छ । यसबाट सङ्क्रमण देखिए थप फैलनबाट रोक्न सकिनेछ ।




Author

शेरबहादुर पुन