• १९ असोज २०८१, शनिबार

गर्मी बढ्दै छ, सावधान

blog

तराईमा तातो हावा लु चल्दा रिक्साचालक, मजदुर, विद्यार्थी, कामकाजी सरकारी कार्यालयमा आउने सेवाग्राही बढी मारमा परेका छन् । अन्नबाली स्याहार्न तराई झरेका किसान पनि पहाड उक्लेका छन् । नुहाउने, चिसो पेय पदार्थ, खरबुजा, तरबुजा, फलफूलका जुसको बिक्री बढेको छ । सडक सुनसान छन्, आलस्य र अल्छीले सरकारी काममा ढिलाइ भएको छ । अहिले देशका सम्पूर्ण भागमा तापक्रम बढ्ने क्रममा छ । सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीबेहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिँदा रोगले आक्रमण नगर्ने कुरै भएन । गर्मी मौसममा हुने सरुवा रोग केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । 

गर्मी मौसमसँगै वर्षायाममा झिँगाको सङ्ख्या निकै बढ्ने, व्यक्तिगत र वातावरणीय सरसफाइ अपर्याप्त र पानी प्रदूषित हुने भएकाले झाडापखाला बढ्छ । त्यसैगरी वर्षायाममा पनि पटक–पटक बाढी आउने, जीवजन्तु मर्ने, पानी प्रदूषित हुने वातावरण फोहोर भई खानेकुरा र पानी प्रदूषित भएर रोगको महामारी बढ्छ । टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, बान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, चिलाउने, धागोजस्ता चिरा आउने, एलर्जिक हुने तथा आँखाको सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावका कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या तथा लु बढ्दै छ । गर्मी मौसममा टाउको दुख्ने, आलस्यता हुने, बान्ता आउने, पानीको मात्रा कम हुने, बिरामी पर्ने सम्भावना बढी हुन्छ भने केहीको त मृत्यु पनि हुने गर्छ ।

चिकन गुनिया नेपालमा देखिन थालिसकेको छ । घरपालुवा तथा जङ्गली जनावरको पिसाबबाट मानिसको नाङ्गो खुट्टा हँुदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखा परिसकेको छ । नयाँ–नयाँ स्थानमा नयाँ–नयाँ रोग र समस्या देखिन थालेका छन् । लामखुट्टेले उच्च र तीव्र ज्वरो हुने डेङ्गु, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । सैन्डफ्लाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाज्वर हुन्छ । हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अकुङ्शेजुका र चुर्नाजुका दिसाबाट उत्सर्जित हुने हुनाले दिसाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोसँग हात नधुँदा, मासु काँचै खाँदा, जुकाका फूल, लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्छन् । बढी देखिने अर्को रोग आउँ परेको बेलामा बिरामीलाई पटक–पटक पातलो चिप्लो दिसासँगै रगत जान्छ । ज्वरो आउने तथा पेट दुख्ने हुन्छ । बिरामीको दिसामा रगत मिसिएको सेतोमासी देखा पर्छ । 

अधिक पसिना आउने, केटाकेटीलाई घमौरा आउने तथा ठूलो मानिसमा समेत छालामा विभिन्न प्रकारका सङ्क्रमण तथा समस्या देखा पर्छन् । केटाकेटीमा घमौरा आउने बढी नै देखिन्छ, त्यसैमा बाक्ला कपडा लगाएर गुम्साउने चलनले पसिना आउने ग्रन्थी थुनिएर घमौरा धेरै आई बढ्दै जान्छ र पाक्छ । शरीरबाट पसिना बढी निस्कँदा तर सरसफाइमा ध्यान नदिँदा, गुम्सिँदा, धुवाँ–धुलो टाँसिएर डण्डिफोर र फङ्गस सङ्क्रमण हुन्छ । अल्ट्राभाइलेट ए र बी किरणले छाला चिलाउने, डढाउने गर्छ ।

तातो हावा अर्थात् लुः गर्मीले औसत २० जनाको ज्यान जाने गर्छ । नेपालमा लु थपिएपछि तराईको जीवन अझै अस्तव्यस्त हुने गर्छ । पश्चिम र मध्य तराईसम्म बढी तापक्रमसँगै बहने तातो हावाले हिँड्दा, काम गर्दा, खेल्दा, मानिस मुर्छा पर्ने वा बेहोस हुने गर्छन् । त्यसैलाई लु लाग्नु भनिन्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अङ्गले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ । 

अत्यधिक गर्मीमा वायुमण्डलले तातो हावा फ्याँक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानी कम हुन गई उत्पन्न हुने समस्या र अङ्गहरूले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउनुपर्छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने यदि निस्कनै परेमा छाता प्रयोग गर्नुपर्छ । पानीको बोतल साथैमा राखी पटक–पटक पानी पिउनुपर्छ । खानामा साकाहारी खानेकुरा, झोलपदार्थ, फलफूल प्रशस्त मात्रामा खानुपर्छ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन । 

हिट स्ट्रोक 

उच्च तापक्रममा मांशपेसी रुग्न हुन्छन्, कलेजोमा असर परी रक्तग्लुकोज कम हुन्छ, चाँडो चाँडो सास फेर्ने, मुटु तीव्र गतिले चल्ने, फोक्सोमा तरल पदार्थ जम्ने र सास फेर्न अप्ठ्यारो हुने, अवाञ्छित मुटुको चालका कारण समयमै उपचार नभए मृत्यु हुनसक्छ । रगतमा अम्लपना बढी क्याल्सियमको सक्रियतामा कमी भई टेटानी, रिकेट हुनसक्छ । तातोपनले निस्केको पसिना बाहिर आउन नसक्दा छालामा चिलाउने, मसिना डाबर आउँछ, जमेको पसिनाले सङ्क्रमण भई चर्मरोग लाग्छ । गर्मीले रक्तचाप कम, अचानक मस्तिष्कमा रक्तसञ्चार कम भई बेहोस बनाउँछ । 

गर्मीमा वृद्ध तथा दीर्घरोगीको शारीरिक तापक्रम नियन्त्रण गर्ने मस्तिष्कको हाइपोथालामसले राम्रो काम गर्न नसक्दा तापक्रम बढ्दै गई बाह्य तापक्रमले नराम्रो प्रभाव पारी ज्यानै जान सक्छ । जसलाई हिट स्ट्रोक भनिन्छ । भर्खरै भर्ना भएका सिपाही, पहलमान, घाममा ज्यादा परिश्रम गर्ने युवायुवतीलाई हिट स्ट्रोक हुन सक्छ । 

शरीरभित्र तापक्रम बढेपछि प्री–अप्टिक न्युक्लियस सञ्चालनमा आई स्वचालित स्नायुले छालामा रक्तसञ्चार बढाउने, पसिना काढ्न लगाउँछन् । पसिना बाफमा परिणत हुँदा तापक्रम कम हुन्छ । बाहिरको तापक्रम शरीरको भन्दा बढी भए शरीरको तापक्रम बाहिर निस्कन सक्दैन । मस्तिष्कले शरीरको तापक्रम नियन्त्रण गर्न छाडिसकेपछि शरीरको तापक्रम बढ्दै १०८ डिग्री फरेनहाइटभन्दा बढी भएपछि दहनक्रियामा मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छन्, रगतमा विषाक्त जम्मा भई सबै अङ्ग रुग्ण हुन थाल्छन् । मानसिक रोगीले यस्तोमा होस गुमाउन सक्छन् । शल्यक्रियामा बेहोस गर्न प्रयोग गरिने औषधिले कडा तापक्रम गराउन सक्छ । वैज्ञानिकको अध्ययनमा हिट स्ट्रोक हुँदा २१.६३ प्रतिशतको मृत्यु भएको पाइएको छ ।

व्यवस्थापन

उच्च तापक्रमले बेहोस भएकालाई सघन उपचार कक्षमा राखी ग्लुकोज सलाइन सुरु गरेर बढेको तापक्रम कम गर्न शरीरलाई मनतातोपानीले छ्यापेर पङ्खा लगाइदिनुपर्छ । काँछ र काखीमुनि बरफको थैली राख्दा ठूला धमनीमा भएका रगत चिसो हुन्छ । मांशपेसीमा बरफ लगाएर मालिस गर्दा शरीरको तापक्रम कम हुन्छ । कम्पन नियन्त्रण गर्न औषधि, चिसो पारेको अक्सिजन, सङ्क्रमणयुक्त ज्वरो कम गर्न एस्प्रिन वा प्यारासिटामोल दिन सकिन्छ । हिट स्ट्रोक प्राणघातक पनि हुनसक्छ, जसमा शरीरको तापमान १०४ डिग्रीभन्दा माथि हुन्छ । उच्च तापक्रमका कारण शरीरको भित्री भागमा नकारात्मक प्रभाव पर्छ । पसिना नआउनु, श्वासप्रश्वास एवं मुटुको धड्कन तेज हुनु, बेहोस हुनु आदि हिट स्ट्रोकका लक्षण हुन् । सबैभन्दा पहिलो र जरुरी उपचार भनेको बिरामीको निधारमा चिसोपानीको पट्टी लगाइराख्नुपर्छ । चर्काे घाममा बाहिर ननिस्कने, प्रशस्त मात्रामा पानी पिउने, खाली पेट तथा चिया, कफी र रक्सीबाट टाढै रहने तथा शारीरिक क्रियाकलाप कम गर्ने र समय–समयमा ताजा फलफूल र कागती, नरिवलको जुस पानी पिउनुपर्छ ।

रोगका कारण बिरामी पर्दा आर्थिक क्षति जति ठूलो हुन्छ, त्यति बिरामी र तिनका आफन्तले पाउने दुःख त झनै धेरै छ । दैनिक जीवनमा हुने खानपान र जीवनशैलीमा होशियार पु-याउन सके भने यस्ता रोगबाट बच्न सकिन्छ । ठूला डाक्टर वा ठूलाठूला अस्पतालमा गएर महँगा महँगा परीक्षण गरे जस्तासुकै ठूलो रोग पनि निको हुन्छ भन्ने आम मानिसमा जनविश्वास छ । वास्तविकता के छ भने केही यस्ता थुप्रै रोग छन्, जसको जस्तोसुकै उपचार गरे पनि पहिलेकै रोग नलागेकै अवस्थामा पु-याउन कठिन हुन्छ । निरोगी हुनु भनेको जिन्दगी राम्रोसँग बिताउनु हो, आयस्रोत बढाउनु हो, उत्पादनशील बन्नु हो, आफ्नो परिवारलाई सुख दिनु हो र समुदाय तथा देशकै लागि केही गर्न सक्ने हुनु हो ।

अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । भोजनमा सतर्कता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको कीटाणुरहित पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ र जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुने गरी खाना खानु हुँदैन । वरिपरिको वातावरण पनि सफा राख्नुपर्छ । सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ तथा सुरक्षा छाता, चस्मा, सनक्रिम, पाउडर आदि अपनाउँदा गर्मी मौसममा पनि अन्य मौसमसरह स्वस्थ, सफा रहन सकिन्छ । 


Author

डा. प्रकाश बुढाथोकी