यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया) चैत १४ गते । बर्दियाबाट हराएकी एक १७ वर्षीय किशोरीको भारतको मुम्बईबाट उद्धार गरिएको छ । बढैयाताल गाउँपालिका वडा नं ४ घर भएकी किशोरी गत माघ २८ गते हराउनु भएको थियो ।
बालिका हराएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत खोजी तथा उद्धारको लागि पहल सुरु गरेको थियो । भारतको ‘किन इन्डिया’ को सहयोगमा किशारीको उद्धार गरी आज नै अभिभावकको जिम्मा लगाइएको छ । बढैयाताल गाउँपालिकाको रोहबरमा किशोरीका अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घरबाट नेपालगञ्ज काम गर्न जाने क्रममा सामाजिक सञ्जालमार्फत केटासँग सम्पर्क भएको पारिवारिक स्रोतले जनाएको छ । विवाह गर्छु भनेर भारतको मुम्बईमा लगेको र त्यहीँ छोडेर अलपत्र पारेको किशोरीले बताएकी छन् । छोरी फेला परेपछि बुवा र आमा हर्षित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले किशोरीलाई घरपरिवारको जिम्मा लगाइएको बताउनुभयो । उहाँका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।