• २९ जेठ २०८२, बिहिबार

कालाजार नियन्त्रण अभियान सुरु

blog

कालाजार नियन्त्रणका लागि विषादी छर्न तयारी गर्दै हिलिहाङको स्वास्थ्यकर्मी टोली । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, वैशाख ३० गते । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार सङ्क्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९ जनामा कालाजार सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाखमा सङ्क्रमण पुष्टि भएकोमा वडा नं. ४ का १ साथै वडा नं. ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । यो भुसुना प्रायः गोबरले लिपिएका घर, झुपडीका भित्ताहरू तथा मुसाले खनेको माटोमा बस्न रुचाउने बताइएको छ । एकपटक सङ्क्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख गोकर्ण दाहालले जानकारी दिनुभयो।

केही वर्षअघि सम्म तराईका जिल्लामा सीमित रहेको कालाजार अब पहाडी र हिमाली क्षेत्रसम्म फैलन थालेको छ । गर्मी रुचाउने भुसुनाको बासस्थान विस्तारसँगै रोग पनि विस्तार हुन थालेको उहाँले बताउनुभयो ।

संक्रमणको दर बढ्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयबाट विज्ञ टोली खटिएको छ । प्रभावित क्षेत्रका घर र आसपास करिब १०० मिटर क्षेत्रभित्र भुसुना नाशक विषादी छर्ने अभियान सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो  ।

प्रभावित क्षेत्रमा किटनासक औषधी छर्ने, सङ्क्रमितको निःशुल्क उपचार तथा औषधी वितरण, साथै उपचारका क्रममा लाग्ने यातायात खर्च वापत दुई हजार रुपियाँ र थप परीक्षण आवश्यक परे पाँच हजार रुपियाँसम्म सहयोग प्रदान गरिँदै आएको छ । 

कालाजारको लक्षणमा लामो समयसम्म ज्वरो आउने, शरीर कमजोर हुने, मासु फुस्रो हुने, रगतको कमी हुने लगायतका समस्या देखिने चिकित्सकहरु बताउछन् ।